प्रतिनिधिसभाका विषयगत समितिका सभापति द्वारा शपथ ग्रहण
प्रतिनिधिसभाको विषयगत समितिमा निर्वाचित सभापतिहरुले शपथ ग्रहण गरेका छन्। सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख कृष्णबहादुर महराले सभापतिहरुलाई शपथ ग्रहण गराएका हुन्।
४ भदौमा प्रतिनिधिसभाका १० विषयगत समितिमा ६ महिलासहित सभापतिहरु निर्विरोध निर्वाचित भएका थिए।
८ वटा समितिको नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गर्दा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमले एक-एक समितिको नेतृत्व गरेका छन्।
नेपाली कांग्रेसका तर्फबाट भरतकुमार शाह लेखा समिति र संघीय समाजवादी फोरमका तर्फबाट विमल श्रीवास्तव उद्योग, वाणिज्य तथा श्रम समितिको सभापतिमा निर्वाचित भएका थिए।
यस्तै नेकपाको तर्फबाट अर्थ समितिमा कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला खरेल, कानुन न्याय तथा मानव अधिकार समितिमा कृष्णभक्त पोखरेल, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णकुमारी सुवेदी, महिला तथा सामाजिक समितिमा निरुदेवी पाल, राज्य व्यवस्था तथा सुशासन समितिमा शशी श्रेष्ठ, विकास तथा प्रविधि समितिमा कल्याणीकुमारी खड्का, शिक्षा तथा स्वास्थ्य समितिमा जयपुरी घर्ती निर्वाचित भएका थिए।