संसदीय समितिका सभापति सर्वसम्मत, १० मध्ये ६ समितिको नेतृत्वमा महिला
प्रतिनिधिसभाका १० वटै विषयगत समितिका सभापति सर्वसम्मत रुपमा चयन भएका छन् । १० मध्ये ६ वटा समितिको नेतृत्व अब महिला सांसदले गर्नेछन् ।
‘मिनि संसद’ भनिने संसदको तल्लो सदनका अधिकांश समितिको सभापतिमा महिला पुगेको मुलुकको संसदीय अभ्यासमै यो उदाहरणीय उपलब्धि हो ।
प्रतिनिधिसभाले तय गरेको निर्वाचन कार्यक्रम अनुसार विषयगत समितिहरुका सभापति चयनका लागि प्रस्ताव दर्ता गर्ने समयावधि ४ असोजसम्म थियो । निर्धारित समयावधिभित्र १० वटै समितिमा एक एकजनाको मात्र प्रस्ताव दर्ता भएको प्रतिनिधिसभाका सचिब गोपालनाथ योगीले जानकारी दिए ।
उनीहरु सभापतिमा निर्वाचित भएको औपचारिक घोषणा भने ५ असोजमा बस्ने प्रतिनिधि सभा बैठकले गर्नेछ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अधिकांश समितिको नेतृत्वमा महिलालाई अगाडि बढाएको हो ।
नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले यो महत्वपूर्ण उपलब्धि भएको बताए ।
सर्वसम्मत हुनेहरुमा राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा शशी श्रेष्ठ, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला खरेल, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा पूर्णकुमारी सुवेदी, शिक्षा तथा स्वास्थ्य समितिको सभापतिमा जयपुरी घर्ती, विकास तथा प्रविधि समितिको सभापतिमा कल्याणी खड्का र महिला तथा सामाजिक समितिको सभापतिमा निरुदेवी पाल रहेका छन् । उनीहरु सबै नेकपाका सांसद हुन् ।
त्यसैगरी नेकपाका सांसदहरु कृष्णप्रसाद दाहाल अर्थ समितिको सभापति र कृष्णभक्त पोखरेल कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा सर्वसम्मत भएका छन् । दाहाल र पोखरेल पनि नेकपाका सांसद हुन् ।
सत्तारुढ संघीय समाजवादी फोरमका सांसद विमल प्रसाद श्रीवास्तव उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति हुनेछन् ।
सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका भरतकुमार शाहको मात्र प्रस्ताव दर्ता भएको छ ।