मलेशियामा विषाक्त मदिराका कारण मृत्यु हुने ६ नेपालीको पहिचान खुल्यो
मलेशियामा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या ६ पुगेको छ। बुधबार मलेशियास्थित नेपाली राजदुतावासले विज्ञप्ति जारी गर्दै विषाक्त मदिरा सेवनका कारण ६ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको हो।
दुतावासले मृत्यु हुने नेपालीहरुको पहिचान खुलाएको छ । मृत्यु हुनेहरुमा बसेरी–३, धादिङका मिमबहादुर घले, मसिना–६ रुपन्देहीका रामकुमार यादव, अमरगढी–५ डढेलदुराका विशाल बुढाथोकी, पश्चिम कुशाहा–९ इलामका बलबहादुर कुलुंग रहेका दुतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । मृत्यु भएका थप एक आइतसिंह गोलेको भने ठाउँ पहिचान हुन सकेको छैन।
यस्तै, १६ नेपाली कामदार उपचारका लागि अस्पताल भर्ना भएका छन् । यी मध्ये चार जना अस्पतालबाट डिसचार्ज भएका छन्, भने बाँकीको उपचार भइरहेको दुतावासले जनाएको छ।
दुतावासले विज्ञप्तीमार्फत भनेको छ, “असुरक्षित मदिरा सेवनका कारण मृत्यु हुने र मादक पदार्थ सेवनका कारण अन्य दुखद घटना यसअघि भए तापनि यति ठूलो संख्यामा हताहत भएको यो पहिलो घटना हो ।”
मंगलबार मलेशियाको सेलांगोर राज्यमा भएको उक्त घटनामा चार नेपालीको मृत्यु भएको थियो । बुधबारसम्ममा थप २ को मृत्यु भएको हो ।