नेपालमा लगानीको नयाँ बाटो खोज्दै गैरआवासीय नेपाली
अष्ट्रेलिया, न्युजिल्याण्ड लगायतका मुलुकमा बसोबास गर्ने गैरआवासीय नेपालीले नेपालमा लगानी गर्ने नयाँ क्षेत्र र बाटो पहिल्याउने पहल शुरु गरेका छन् ।
गैरआवासीय नेपाली संघ ओसेनिया क्षेत्रले आयोजना गरेको विज्ञ सम्मेलनबाट यस्तो पहल शुरु गरिएको हो ।
अष्ट्रेलियाको सिड्नीमा यही साता सम्पन्न विज्ञ सम्मेलनले नेपालमा कृषि, खाद्य सुरक्षा, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा लगानी गर्ने बाटो पहिल्याउने निर्णय गरेको छ ।
गैरआवासीय नेपाली संघ ओसेनिया क्षेत्रका संयोजक धर्मराज अधिकारीले भने, “जे भने पनि हामीले नेपालमा लगानी गर्न सक्यौं भने मात्र देश बन्नेछ । अब गैर आवासीय नेपाली संघले नै लगानीको नयाँ बाटो पहिल्याउने विश्वास हामीले लिएका छौं ।”
गैर आवासीय नेपाली संघको विश्व विज्ञ सम्मेलन १३ र १४ अक्टोबरमा काठमाडौंमा हुँदैछ । विश्व विज्ञ सम्मेलनमा प्रस्तुत गर्ने धारणा तय गर्न ओसेनिया क्षेत्रले आफ्नै सम्मेलन आयोजना गरेको थियो । विदेशमा बस्ने नेपालीले सिकेको ज्ञान, सीप, अनुभव र कमाएको रकमलाई नेपालसँग जोड्न यस्तो पहल शुरु गरिएको अधिकारीले बताए ।
अष्ट्रेलियास्थित नेपाली राजदूत लक्की शेर्पाले यसखाले कार्यक्रम मुलुकका लागि महत्वपूर्ण रहेको र देश विकासका लागि आर्थिक स्रोत व्यवस्थापनसँग दक्ष जनशक्तिको समेत खाँचो रहेकाले त्यसतर्फ ध्यान दिन आग्रह गरिन् ।