कला/साहित्यआइतवार, कार्तिक १४, २०७३

जिउँदै यमलोकको यात्रा

बच्चु विक

शारदा शर्मा

स्वर्ग र नर्कको धार्मिक अवधारणामा विश्वास गर्नुहुन्छ? गर्नुहुन्छ र आस्तिक हो भने जिउँदै स्वर्गलोकको यात्रा! गर्नु हुन्न र नास्तिक हो भने एउटा नयाँ मायावी संसारको परिकल्पनामा विचरण। शारदा शर्माको दोस्रो उपन्यास कम्प त्यही यमलोकको मायावी संसारको यात्रा वर्णन हो। 

माओवादी सशस्त्र द्वन्द्वको घटनाबाट आफ्नो पहिलो उपन्यास ताप को कथा टिपेकी शर्माले कम्प लाई १२ वैशाख, २०७२ को भूकम्प र २९ वैशाखको पर'कम्प' बाट डोर्‍याएकी छन्। उपन्यासको लेखकीयमै शर्माले 'गरुडपुराणको प्रेतकल्प खण्ड नयाँ किसिमले लेख्न खोजेकै कारण उपन्यासको जन्म भएको' बताएर पाठकलाई सजिलो बनाइदिएकी छन्।

२९ वैशाखको परकम्पमा परी पार्लरमा फेसियल गरिरहेकी चित्रांगदाको मृत्यु हुन्छ। आमाको मृत्युपछि सानी छोरी निरञ्जनाको हेरचाहको जिम्मा फुपू हीरालक्ष्मीको काँधमा आइपर्छ। आमा नदेखेर रोइरहने निरञ्जनालाई फकाउँदा फकाउँदै एकदिन हीरालक्ष्मी निदाउँछिन्। सपनामा उनले चित्रांगदाले यमलोकको यात्रा गरिरहेको देख्छिन्। उपन्यासको मूलकथा यही हो। निरञ्जनालाई फकाउँदा हैरान भएकी हीरालक्ष्मी मृत्यु भएकी चित्रांगदाको फेसबूक भित्तोमा लेख्छिन्, “नानी चित्रांगदा, तँ कता छेस्? छोरी तँलाई सम्झेर रोइरहन्छे।”

चित्रांगदाको यमलोकको यात्रा भयावह छ। यमदूतहरूको नर्कको बयान सातो लिने खालको छ। पापको मात्रा अनुसार खपिनसक्नुको तातो र चिसोमा अनेकौं कष्ट सहेर हजारौं वर्षको यात्रा गर्नुपर्ने सुन्दा नै पाठकको मन चिमोटिन्छ। यमदूतहरूका व्यवहार सहनै नसकिने खालका छन्।

यमलोकमा दूतहरू र चित्रांगदा बीचका संवाद भने रमाइला लाग्छन्। नेपालबाट आएको थाहा पाएका यमदूतमध्ये एउटाले उनलाई व्यंग्य गर्दै सोध्छ, “तेति जाबो एउटा संविधान बनाउन नसकेर रडाको भैरेच नि तिमेरूकहाँ, होइन?”

मधुरो प्रकाश, आकर्षक स्टेज। स्टेजमा अर्धनग्न युवतीहरूको नृत्य। स्टेजकै छेउमा घोडीसँग पुरुष नर्तकको क्रीडा। खुला यौनकर्म हुने याम्यपुरको प्याटपङ शहर। यमलोक जहाँ पुरुष भन्दा महिला शक्तिशाली हुन्छन्। वधूग्रामको घुमाइपछि बाटोमा दलालहरूले चित्रांगदालाई सोध्छन्, 'लाइभ सो हेर्ने हो? एक घण्टाको एक सय मुद्रा मात्रै?' कम्प ले कोक पिउँदै यी सबै दृश्यको रसस्वाद गराउँछन्।

कालो दाह्री र जिङरिङ्ग कपाल पालेका अग्ला, गोरा वृद्ध टुक्रुक्क बसिरहेका हुन्छन्। फोटोग्राफरहरू धमाधम फोटो खिच्छन्। उनी नन्दप्रसाद अधिकारी। नेपालमा छोराका हत्यारालाई कारबाही माग गर्दै अनसनकै बेला मृत्युवरण गरेका अधिकारी यमलोकको सौरीपुरस्थित धर्मप्रासाद प्राङ्गणको कुनामा अझै अनसन नै बसिरहेका रहेछन्। उनी त्यहाँको न्यायालयबाट पनि निराश रहेछन्। त्यहाँ पनि १२ वैशाखको भूकम्पमा मरेका वकील, न्यायाधीश र मानवअधिकार हनन्कर्र्ताहरूको समूह बनिसकेछ।

एउटा लोकबाट अर्को लोक जाँदा सीमाका सरकारी कार्यालयहरूले दिने दुःख यहाँको भन्दा फरक पाइन्न। घूस त्यहाँ पनि चल्दोरहेछ। गान्धर्व राज्यले छिमेकी राज्यमा गरेको थिचोमिचो, नागरिकता समस्या, वैतरणी नदीको पानी तथा त्यसबाट उत्पादन हुने विद्युत्को विषयमा हुने विवाद रोचक लाग्छन्। न्यायाधीश तथा अन्य नियुक्तिका विवाद, राज्य सञ्चालनका चालबाजी, आर्थिक लेनदेनलगायतका कुरा यमलोकमा पनि रहेछन्।

उपन्यासकार शर्माको प्रस्तुति हेर्दा लाग्छ, यमलोक नेपाल हो र नेपाल नै यमलोक। अझ दुःखदपुरको यात्रा त नेपालकै दुर्गम गाउँसँग ठ्याक्कै मिल्छ। ती दुःखले नेपालकै पूर्वी तराई तथा कर्णाली क्षेत्रको पीडा बोक्छन्।

चित्रांगदाले जिउँदो छँदा भोगेका, देखेका र सुनेका कुरालाई नै समेटिएको भए पनि कथाले पाठक बाँधिराख्छ। यसक्रममा प्रेम, विवाह, सम्बन्धविच्छेदले सम्बन्धित व्यक्ति र समाजमा पार्ने प्रभावलाई मसिनो तरीकाले केलाइएको छ।

रुढीवादी धार्मिक आस्थामा विश्वास गर्नेहरूको मनोगत संसार स्वर्ग र नर्कबारे रमाइलो कथा बुनिएको कम्प मा कमजोरीहरू पनि छन्। बेलाबेला उपन्यासमा लेखक स्वयं बोलिरहेको छ या पात्र, पाठक अलमलमा पर्छन्। कतिपय प्रसंगमा 'न्यारेटर' का भाषा बिझाउने खालका छन्।

अपत्यारिलो संसारको परिकल्पनामा अवयव भरेर पाठकलाई अल्झाइराख्नु नै कम्प को सबैभन्दा ठूलो सफलता मान्न सकिन्छ। यस अर्थमा कम्प की उपन्यासकार शर्मा सफल छिन्। भविष्यमा आफ्ना १० कृतिमध्ये कम्प बाटै उनलाई चिनाउनुपर्ने समय आए आश्चर्य मान्नुपर्दैन।

पुस्तक: कम्प 

लेखक: शारदा शर्मा

प्रकाशक: साङ्ग्रिला पुस्तक प्रा.लि.

पृष्ठ: ३६२+४

मूल्य रु.४४८

प्रतिकृया दिनुहोस