तेजाब आक्रमणमा परेकी किशोरीको अवस्था गम्भीर
दुई दिनअघि तेजाब आक्रमणमा परी घाइते भएका रौतहटको चन्द्रपुर नगरपालिका– ६ का दिदी–बहिनीमध्ये सम्झना दास (१८) को अवस्था गम्भीर छ ।
टाउको र अनुहारको धेरै भाग तेजाबले जलेकी उनको काठमाडौंको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालको सघन उपचार कक्षामा उपचार भइरहेको छ । तेजाबले देब्रे हात जलेकी बहिनी सुस्मिता (१५) लाई भने वार्डमा राखी उपचार भइरहेकोे छ ।
किशोरीहरुका बुवा जादो दासले २६ भदौ मध्यरातमा सुतिरहेका छोरीहरुमाथि तेजाब आक्रमण भएको जानकारी दिए । श्रीमती र छोरीहरु बेग्लाबेग्लै कोठामा सुतिरहेको अवस्थामा सो आक्रमण भएको थियो । जादोलाल भने केही सय मिटर टाढा आफूले चलाएको पुल हाउसमा सुत्ने गर्दथे । उनले भने, “मध्यरातमा श्रीमती र छोरीहरुको चिच्याहट सुनेपछि घर पुग्दा छोरीहरु छटपटाइरहेका थिए ।”
त्यसपछि जादोलाल घाइते छोरीहरुलाई लिएर अस्पताल पुगे । रौतहटमा उपचार सम्भव नभएपछि उनी दुबै छोरी लिएर भोलिपल्ट २७ भदौमा काठमाडौं आएका हुन ।
सहयोग जुट्दै
यसैबीच रौतहटस्थित गैरसरकारी संस्था ग्रामिण विकास केन्द्र (आरडीसी) ले उक्त घट्नाको निन्दा गर्दैे निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारवाही गर्न सरकारसँग माग गरेको छ । केन्द्रका अध्यक्ष पारस हुसैनले घट्नाका दोषी उम्किन नदिन प्रहरी सकृयता तीब्र बनाउन जरुरी रहेको बताए ।
केन्द्रका अध्यक्ष हुसैनले २८ भदौ विहान किर्तिपुरस्थित सो अस्पताल पुगी घाइते किशोरीहरुका पिता जादोलाल दासलाई उपचारको लागि सहयोग स्वरुप रु २५ हजार प्रदान गरेका छन् ।
यसैगरी रौतहट चन्द्रपुर– ६ का विष्णु शाहले रु ५० हजार र काठमाडौं जोरपाटीस्थित शक्ति समूहले रु २० हजार सहयोग गरेको समूहका कानून तथा तालिम संयोजक दीलिप कोइरालाले जानकारी दिए ।
-गोपाल गडतौला