उपचार नपाएर ३० वर्षदेखि पिँढीमै
४४ वर्षको उमेरदेखि थलिएका मुगुको खत्याडका देबीसिंह बुढाले ७४ वर्ष पुग्दासम्म पनि स्वास्थ्य परीक्षण गराउन पाएका छैनन् ।
खत्याड गाउँपालिका–५ चागपाँडे गाउँका बुढाको ४४ वर्षको उमेरदेखि हातखुट्टा चल्न छोडेका हुन् । आर्थिक अभावका कारण उनले पिंढी कुरेरै ३० वर्ष कटाइसकेका छन् ।
“३० वर्ष पहिले दुबै घुँडा सुन्निएर हिंडडुल गर्न गाह्रो भयो, विस्तारै खुट्टा चल्नै छाडे,” बुढा भन्छन्, “त्यसबेला थला परेको अहिलेसम्म अरुकै भरमा छु, उपचार गर्न पैसा छैन ।”
विरामी परेपछि १६ वर्षसम्म उनलाई नुहाउने, दिशापिसाब गराउने सबै काम गरेकी उनकी श्रीमतीको १४ वर्षअघि नै मृत्यु भइसकेको छ ।
श्रीमतीको निधनपछि उनको स्याहार सुसार गर्दै आएकी बुहारीले गत जेठमा अर्कैसँग बिवाह गरेपछि भने बुढा अलपत्र जस्तै छन् ।
अहिले जेठी छोरीको घरमा बस्दै आएका बुढाको सामान्य हेरचाह छोरी तर्फका १५ वर्षीय नाती अज बुढाले गर्दै आएका छन् । “कहिले भेडा गोठालो जान्छु, कहिलेकाहीँ घर आएर हजुरबुवाको स्याहार गर्छु,” अज भन्छन् ।
धेरै दिन आफूलाई उठाउने बसाउने कोही नहुँदा ओछ्यानमै दिशा पिसाव गर्नु परेको त कहिले भोकभोकै पिंढीमा रात विताउन परेको बुढा सुनाउँछन् ।
“जीवनभर उपचार पाउन सकिएन, बाँच्न मन छैन । सरकारलाई काल पठाइदिन भनिदिनु होला,” बुढाले भने ।
मुगु सदरमुकामदेखि एक दिनको पैदल दुरीमा रहेको चागपाँडेका बुढालाई आफूलाई के रोग लागेको भन्ने पनि थाहा छैन । उनी भन्छन, “बाँचेर पनि अरुलाई दुख हुने भयो, कसैले उपचार गराइदिए हुन्थ्यो ।”
अच्यूतराज भण्डारी, मुगुबाट