नेपाल आज माल्दिभ्ससँग भिड्दै, इतिहास रच्ने अवसर
बाङ्लादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत नेपालले माल्दिभ्ससँग आज दिउँसो नेपाली समय अनुसार ३:४५ बजे पहिलो सेमिफाइनल खेल्दैछ।
समूह 'ए' विजेता रहेको नेपालले समूह 'बी' को उपविजेता माल्दिभ्ससँग खेल्न लागेको हो। साफ च्याम्पियनसीपमा अहिलेसम्म फाइनलमा पुग्न नसकेको नेपालका लागि आजको खेल महत्वपूर्ण छ।
साफ च्याम्पियनसीपमा अहिलेसम्म माल्दिभ्सलाई हराउन नसकेको नेपालले आज ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हराएर ऐतिहसिक सफलता पाउने विश्वासमा छ ।
सेमिफाइनल पुग्ने क्रममा नेपालले दुई खेलमा जीत र एक खेलमा हारको नतिजा सहित ग्रुपमा पहिलो भएको हो भने माल्दिभ्स एक हार र एक बराबरी खेलेर गोलाप्रथाका आधारमा सेमिफाइनलमा पुगेको हो।
दोस्रो सेमिफाइनल खेल पनि भारत र पाकिस्तानबीच आजै बेलुकी ७:१५ बजे हुँदैछ। भारतले सात पटक साफ च्याम्पियनसीपको उपाधि जितिसकेको छ भने एक पटक माल्दभ्सले जितेको छ।
नेपालले आजको खेलमा सफल नतिजा निकाल्न सके दोस्रो सेमिफाइनल खेलिरहेका भारत या पाकिस्तानसँग फाइनल खेल्नेछ।