साफ च्याम्पियनसीपः शनिबार नेपाल बाङ्लादेशसँग भिड्दै
साफ च्याम्पियनसिपअन्तर्गत २३ भदौ अपराह्न नेपालले समूह चरणको अन्तिम खेल खेल्दैछ ।
बाङ्लादेशको ढाकास्थित बङगबन्धु रङ्गशालामा हुने उक्त फूटबल प्रतियोगितामा जित हासिल गरे नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह चरणको पहिलो खेल गुमाए पनि दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको नेपालका लागि शनिबारको खेल निर्णायक हुनेछ ।
जारी प्रतियोगितामा बाङ्लादेशले तीन गोल गरेको छ भने एक गोल पनि खाएको छैन । नेपालले भने पाँच गोल गर्दा दुई गोल खाएको छ । आज बिहान ढाकामा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले शनिबार हुने बाङ्लादेश विरुद्धको खेल नेपालले जित्नै पर्ने बताए ।
२१ भदौमा भएको समूह ‘ए’ को दोस्रो चरणको खेलमा नेपालले भुटानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो । समूहकै अर्को खेलमा आयोजक बाङ्लादेशले पाकिस्तानलाई १–० ले पराजित गरेपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना नेपालकै खेलमा निर्भर रहनेछ ।
दोस्रोचरणको खेल सकिँदा अङ्क तालिकामा बाङ्लादेश दुई खेलमा छ अङ्क बटुल्दै शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा दुई खेलमा तीन अङ्क पाएको पाकिस्तान छ । नेपालले दुई खेलमा एकमा हार र एकमा जित निकाल्दै तीन अङ्कसाथ समूहको तेस्रो स्थानमा छ । समूहको पुछारमा रहेको भुटानले दुई खेलमा कुनै अङ्क जोडेको छैन । भुटान समूह चरणबाटै बाहिरिसकेको छ ।
नेपाललाई सेमिफाइनलमा पुग्न पहिलो विकल्प बाङ्लादेश विरुद्ध स्पष्ट जीत हासिल गर्नु पर्नेछ । शनिबार पहिलो खेलमा पाकिस्तान र भुटानबीचको बिजेताले पनि नेपालको अघिल्लो चरणको यात्रा तय गर्नेछ ।
भुटान र पाकिस्तानको खेल बराबरी अथवा भुटानले जितेको अवस्थामा नेपालले बाङ्लादेशविरुद्ध बराबरी खेले मात्र पनि समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ ।
यदि अर्को खेलमा पाकिस्तानले जीते नेपाललले बाङ्लादेशविरुद्ध जीत निकाल्नै पर्ने हुन्छ । यदि शनिबार हुने पहिलो खेलमा पाकिस्तानले भुटानलाई पराजित गर्यो र नेपाल बङ्गादेशसँग हार्यो भने पाकिस्तान र बाङ्लादेश सेमिफाइनल पुग्नेछन् । नेपाल समूह चरणबाटै घर फर्कनुपर्नेछ ।
समग्रमा बाङ्लादेशलाई बराबरी अथवा जीतले अर्को चरणमा पुग्न सहज देखिन्छ । नेपालले भने जित्नै पर्ने अवस्था छ । घरेलु मैदानमा भइरहेको प्रतियोगितामा लगातार दोस्रो जीत निकालिसकेको बाङ्लादेशले समूहको अन्तिम खेलमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।
रासस