साफ च्याम्पियनसिपमा नेपाल लयमा फर्कियो, भुटानमाथि ४–० को जित
बाङलादेशमा जारी साफ च्याम्पियनसिप फूटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले शानदार जित हासिल गरेको छ । नेपालले प्रतिद्धन्द्धी भुटानमाथि ४–० को जित निकालेको हो ।
पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित नेपालमाथि सेमिफाइनल प्रवेशको सम्भावना जीवितै राख्न यो खेल जित्नैपर्ने दबाब थियो । पहिलो हाफको २१ औं मिनेटमा अनन्त तामाङको गोलबाट अग्रता लिएको नेपालले बाँकी तीन गोल दोस्रो हाफमा गरेको थियो ।
निराजन खड्कालाई पेनाल्टी बक्समा फल हानेपछि नेपालले दोस्रो हाफमा पेनाल्टी पायो । विमल घर्तीमगर पेनाल्टीमा चुके पनि रिबाउन्ड बललाई गोलमा परिणत गर्दै सुनील बलले नेपालको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा मैदान प्रवेश गरेका भरत खवासले नेपालका लागि तेस्रो गोल गरे भने खेल सकिन केही मिनेट बाँकी रहँदा निराजन खड्काले हेडरमार्फत् नेपालका लागि चौंथो गोल गरे । नेपालले समूह चरणको अन्तिम खेलमा बाङ्लादेशको सामना गर्नेछ ।