कला/साहित्यबुधवार, भाद्र २०, २०७५

माधुरी दीक्षित र सञ्जय दत्त २१ वर्षपछि फिल्ममा देखिंदै

हिमालखबर

निर्देशक करण जौहरको लगानीमा बन्ने मल्टिस्टार फिल्म 'कलंक' दर्शकका लागि बहुप्रतीक्षित बनेको छ। फिल्ममा २१ वर्षपछि माधुरी दीक्षित र सञ्जय दत्त एकसाथ देखिने भएपछि यो जोडीलाई पर्दामा हेर्ने व्यग्रता बढेको छ।

फिल्मको प्रस्ताव राख्दा शुरुमा माधुरी र सञ्जयले एकसाथ काम गर्न अस्वीकार गरे पनि पछि भने सहमति जनाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। यो जोडीले विगतमा कैयौं फिल्ममा स्क्रिन शेयर गरेका छन्। 'खतरों के खिलाडी' (१९८८), 'इलाका' (१९८९), 'साजन' (१९९१), 'खलनायक' (१९९३), 'शाहीबान' (१९९३) हुँदै पछिल्लो पटक १९९७ मा 'महानता' मा काम गरेका थिए।

 शुटिङ शुरू

माधुरी र सञ्जयले 'कलंक' को शुटिङ शुरू गरिसकेको खबर आएको छ। तीन दिनयता सुटिङ धमाधम भइरहेको छ। दुवैले एकसाथ नाटकीय दृश्यको छायांकन गराएका छन्। यसका साथै चाँडै माधुरीको मुजरा नृत्यको छायांकन हुने र त्यसका लागि उनको मन पर्ने कोरियोग्राफर सरोज खान र रेमो डिसूजाले कोरियोग्राफ गर्ने बताइएको छ।

रिपोर्ट अनुसार, माधुरी र सञ्जयका साथै फिल्ममा वरुण धवन र आलिया भट्ट पनि छायांकनको हिस्सा बन्नेछन्। पछिल्लो समय 'सुई धागा' फिल्मको प्रचारप्रचारमा व्यस्त रहेका वरुणले त्यसबाट दुई दिनको समय निकालेर आफ्नो सुटिङ गर्नेछन्। आलिया पनि 'ब्रह्मास्त्र' फिल्ममा व्यस्त छिन्।

'कलंक' मा माधुरी, सञ्जय, वरुण र आलियाका साथै आदित्य रोय कपूर, सोनाक्षी सिन्हा, कुणाल खेमु र कियारा आडवाणी मुख्य भूमिकामा देखिनेछन्। अभिषेक वर्माले निर्देशन गर्ने यो पिरियड ड्रामा फिल्म सन् २०१९ को अप्रिल १९ मा प्रदर्शनमा आउने तय गरिएको छ। - एजेन्सी

प्रतिकृया दिनुहोस