एशिया कप छनोटः लगातार दोस्रो हारसँगै नेपालको सम्भावना कठिन
मलेसियामा जारी एशिया कप छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।
पहिलो खेलमा ओमनसँग सात विकेटले पराजित नेपालले दोस्रो खेलमा एकदिवसीय मान्यताप्राप्त राष्ट्र युनाइटेड अरब इमिरेट्सलाई ७८ रनले नतिजा सुम्पेको हो ।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले जितका लागि २५५ रनको लक्ष्य पाएको थियो । तर, फेरि एकपटक व्याटिङ धर्मराउँदा नेपाल ४८.५ ओभरमा १७८ रनमा अलआउट हुनपुग्यो ।
तर, नेपालको शुरुवात निकै खराब रह्यो । पहिलो ओभरमै उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको नेपालले ३३ रन जोड्दा कप्तान पारस खड्का पनि पबेलियन फर्किए । पारसले ११ र ज्ञानेन्द्रले ४ रन बनाए । पहिलो खेलमा शानदार अद्र्धशतकीय पारी खेलेका सागर पुन पनि ३ रनमा आउट भएपछि नेपाली व्याटिङ पुरै दबाबमा आयो ।
ओपनर सुबास खकुरेलले दीपेन्द्रसिंह ऐरीसँग मिलेर नेपाली इनिङ सम्हाल्ने प्रयास गरे । दीपेन्द्रसँग ५८ रनको साझेदारी गरेका सुवास ५० रन बनाउँदै आउट भए । दीपेन्द्रले ४० रन बनाए ।
पुछार क्रममा व्याटिङ गर्न आएका सोमपाल कामीले २७ र बसन्त रेग्मीले १२ रन जोडे । नेपाली व्याटिङ धराशायी पार्ने क्रममा अहमद रजाले ४, मोहम्मद नविदले ३ र अमिर हायातले २ विकेट लिए । यसअघि नेपालका सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा २४ रन दिएर ४ विकेट लिएका थिए ।
एशिया कप छनोटमा नेपालसहित आयोजक मलेसिया, हङकङ, ओमन, युएइ र सिंगापुर सहभागी छन् । शीर्ष दुइ राष्ट्र फाइनल पुग्नेछन् र फाइनल जित्ने टिम एशिया कपका लागि छनोट हुनेछ । लगातार दुई खेलमा पराजयले नेपालको छनोट सम्भावना निकै कठिन बनेको छ ।