तामाकोशीको आईपीओमा आवेदन दिने म्याद एक हप्ता थपियो
नेपाल धितोपत्र बोर्डले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा स्थानीयबासीका लागि छुट्याएको शेयरका लागि आवेदन दिने अवधि सात दिनका लागि थपेको छ ।
जिल्ला समन्वय समिति दोलखाको आग्रहमा नेपाल धितोपत्र बोर्डले १४ भदौमा अवधि थप गर्ने अनुमति दिएको हो ।
आवेदन दिने म्याद एक दिनमात्र बाँकी रहँदासम्म आधाजति स्थानीयबासीले मात्र आवेदन फारम बुझाएका छन् । अन्तिम समयमा आवेदनकर्ताको लाम बढ्न थालेको र धेरै मानिसले आवेदन दिन नसकेका कारण अवधि थप्ने पहल गर्न जिल्ला समन्वय समितिले प्रबद्र्धक कम्पनी ‘अपर तामाकोशी हाइड्रोपावर लिमिटेड’लाई अनुरोध गरेको थियो ।
सोही बमोजिम धितोपत्र बोर्डलाई आग्रह गरिएको कम्पनीका प्रवक्ता डा. गणेश न्यौपानेले बताएका छन् । अब जिल्लावासीले भदौ २१ गतेसम्म शेयर आवेदन दिन पाउने छन् ।
१२ भदौसम्म एक लाख ६७ हजारले लागि आवेदन दिइसकेका छन् । तामाकोशी शेयरको लागि योग्य संख्या करीब तीन लाख पुग्ने अनुमान गरिएको छ ।
विशेष अधिकारको रुपमा पाइएको शेयरको स्वामित्व लिने अवसरबाट कोही पनि नछुटुन् भन्ने उद्देश्यले म्याद थपको लागि अनुरोध गरिएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले जानकारी दिए ।
दोलखाको लामाबगरमा निर्माणाधिन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा दोलखाबासीका लागि एक अर्ब ५ करोड ९० लाख बराबरको एक करोड ५ लाख ९० हजार कित्ता (१० प्रतिशत) शेयर छुट्याइएको छ ।
सर्मिला बुढाथोकी