अन्तर्वार्ता/विचारबुधवार, भाद्र १३, २०७५

'योगमाया' जनताको इतिहास हो : निलम कार्की निहारिका

हिमालखबर

मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कार नीलम कार्की निहारिकाको उपन्यास योगमायालाई दिने निर्णय गरेको छ । अमेरिकामा बसेर नेपाली साहित्यमा योगदान पुर्‍याएकी कार्कीसँग पुरस्कार र कृतिबारे गरिएको वार्ताः

तपाईंको कृति योगमायाले मदन पुरस्कार–२०७४ प्राप्त गरेको छ, कस्तो लागेको छ ?
प्राप्तिमा सुखद अनुभव हुनु स्वभाविक हो । मेरो खुशीमा खुशी हुने कति धेरै सहृदयी मनहरु रहेछन्, यो थाहा पाएर झनै खुशी छु ।

पुरस्कार पाउने अपेक्षा थियो ?
लेख्दा थिएन । जब योगमायालाई गुठीले श्रेष्ठ आठ पुस्तकको सूचीमा छनोट गर्‍यो, त्यसपछि भने आशावादी भएँ ।

पुरस्कारप्रति यहाँको धारणा ?
लेखकका निम्ति पुरस्कार हौसला हो र थप जिम्मेवारी पनि । पाठकका निम्ति लेखकप्रतिको थप भरोसा हो पुरस्कार ।

योगमाया उपन्यासलाई कसरी व्याख्या गर्नुहुन्छ ?
‘योगमाया’ जनताको इतिहास हो । शासकद्वारा गराइएकोे स्तुत्यगान नभई जनताले नै लिपिबद्ध गरेको जनताको इतिहास हो ।

योगमाया न्यौपानेबारे आख्यान लेख्ने सोच कसरी आयो ?
मेरो नितान्त व्यक्तिगत सोच भन्दा पनि गुरु दाहाल यज्ञनिधिले ‘योगमायामाथि न्याय हुनुपर्‍यो, तिमीले योगमायाबारे अध्ययन, अनुसन्धान गर र लेख’ भन्नुभएको थियो । त्यसपछि मैले लेख्न कम्मर कसेँ ।

यो उपन्यास लेख्न कुनै चुनौती ?
चुनौतीका पहाड अवश्य छिचोल्नुपर्‍यो । १९२४ सालदेखिका तथ्य संकलन गर्न यसै पनि सहज थिएन । योगमायालाई बाल्यकालमा देखेका दुई–चार व्यक्तिमात्रै जीवित छन् । म पश्चिममा जन्मे–हुर्केकी त्यसैले पूर्वको भाषागत कठिनाइ त छँदै थियो त्यसमाथि अमेरिकाको बसाई र अध्ययन गर्नुपर्ने भोजपुरको । अर्को समस्या समयको पनि थियो ।

अबको लेखन योजना ?
अहिले म विद्यावारिधिको सोचमा छु । त्यसैले समय निकालेर साहित्य, इतिहासका पुस्तक अध्ययन गर्दै छु । तुरुन्तै नयाँ लेख्ने सोच बनाइसकेकी छैन ।

यसक्रममा कसैलाई सम्झनु हुन्छ ?
मलाई योगमाया लेख्न प्रेरित गर्ने मेरा गुरु दाहाल यज्ञनिधि यो नतिजा आउनुभन्दा १७ दिनअघि दिवंगत हुनुभयो । उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्छु ।

-प्रस्तुति: ध्रुवसत्य परियार

 

प्रतिकृया दिनुहोस