एशिया कप छनोटः नेपालले ओमनलाई दियो २२२ रनको लक्ष्य
एशिया कप छनोटको पहिलो खेलमा नेपालले ओमनसामु २२२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२१ रनको योगफल तयार पारेको हो ।
नेपालका लागि सागर पुनले सर्वाधिक ८३ रनको योगदान दिए । अन्तिम ओभरमा रनआउट हुनु अघि उनले ८५ बलको सामना गरेका थिए ।
नेपालले ३१ रन बनाउँदा ओपनर सुवास खकुरेललाई गुमाएको थियो । १५ बलमा ४ रन जोडेका सुवास रनआउट हुन पुगे । त्यसपछि कप्तान पारस खड्का ८ र दीपेन्द्रसिंह ऐरी ९ रनमा आउट हुन पुगे । लगत्तै ४५ रन बनाएका अर्का ओपनर ज्ञानेन्द्र मल्ल पनि विलाल खानको बलमा जतिन्दर सिंहद्धारा क्याच आउट हुँदा नेपाल २३ औं ओभरमा ४ विकेट गुमाउँदै ८० रनको स्थितिमा पुगेको थियो ।
त्यसपछि सागर पुन र आरिफ शेखले पाँचौं विकेटमा ९२ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए । आरिफले ७४ बलमा ३६ रन बनाए । सातौं नम्बरमा व्याटिङ गर्न आएका रोहित पौडेल शून्यमा र आठौं क्रममा आएका सोमपाल कामी ५ रनमा आउट भए । नवौं नम्बरमा व्याटिङ गर्न आएका करन केसीले १० बलमा २६ रन बनाए ।