रिपोर्टबुधवार, भाद्र १३, २०७५

स्वास्थ्यमा हेली सेवाः उद्धारसँगै लूट

रामु सापकोटा

गम्भीर बिरामीको उद्धारका लागि अब्बल ठानिएको हेलिकप्टर सेवामा व्यापारिक स्वार्थ हावी हुँदा सेवाग्राही लुटिन थालेका छन् ।

तस्वीरहरुः बिक्रम राई

घटना–१
सोलुखुम्बु, सल्लेरीको नयाँबजारमा बस्दै आएकी मुना तामाङ (१९) लाई २६ असारमा सुत्केरी बेथा लाग्यो । श्रीमान् मिङमार दोर्जे शेर्पाले एक घण्टा पैदल हिंडाएर उनलाई जिल्ला अस्पताल, सोलुखुम्बु पुर्‍याए । २९ असारमा शल्यक्रिया मार्फत बच्चा निकालिए पनि ३१ असारमा अस्पतालको एक बेडबाट अर्को बेडमा सर्दा ‘रिंगटा लाग्यो’ भन्दै मुना ढलिन् । डाक्टरले उनलाई पल्मोनरी इम्बोलिज्म् (फोक्सोको धमनीमा रक्त प्रवाहमा अवरोध भएपछि उत्पन्न हुने समस्या) भएको शंका गरे । 

त्यसपछि मेडिकल सुपरिटेन्डेन्ट डा. मिङमार छिरिङ शेर्पाको सल्लाहमा मुनालाई ३१ असारमै हेलिकप्टर मार्फत काठमाडौं, जोरपाटीस्थित नेपाल मेडिकल कलेज पुर्‍याइयो । मुनालाई पल्मोनरी इम्बोलिज्म् नै भएको पुष्टि भएपछि उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगियो । अहिले निको भएर सोलुखुम्बुस्थित घरमा आराम गरिरहेकी मुनाको ३५ दिनको बच्चा पनि स्वस्थ छ ।

सुपरिटेन्डेन्ट डा. छिरिङ शेर्पा पल्मोनरी इम्बोलिज्म्का बिरामीले तत्काल उपचार नपाए ज्यानै जाने खतरा हुने तर तत्काल हेलिकप्टर सेवा पाएकाले मुनाको ज्यान जोगिएको बताउँछन् ।

मुनालाई सोलुखुम्बुबाट काठमाडौं ल्याउन उनको परिवारले हेलिकप्टर कम्पनी श्री एअरलाइन्सलाई रु.९० हजार भाडा तिरेको थियो । उनीसँगै त्यही हेलिकप्टरमा काठमाडौं आएका अर्का बिरामीले पनि रु.९० हजार बुझाएका थिए । मुनाका श्रीमान् मिङमार सुविधासम्पन्न अस्पताल नभएका र सडकको पहुँच नपुगेका दुर्गम क्षेत्रका बिरामीका लागि हेलिकप्टर सेवाले ठूलो योगदान पुर्‍याएको बताउँछन् ।

घटना–२
दाङको घोराही मिलनचोककी रुद्रा पुन गएको १३ साउन बिहान हृदयघातका कारण आफ्नै घरमा ढलिन् । आफन्तले उपचारका लागि उनलाई तत्काल घोराहीकै गोरखा अस्पतालमा पुर्‍याए । अस्पतालले काठमाडौं रेफर गर्‍यो । आफन्तले रुद्रालाई हेलिकप्टर मार्फत ग्राण्डी अस्पतालमा लैजाने निधो अनुसार ग्राण्डीमा फोन गरेर हेलिकप्टर मगाए । तर, ग्राण्डीले हेलिकप्टर नउड्दै रु.४ लाख ५० हजार जम्मा गरिदिन भन्यो ।

रुद्राका आफन्तले दिउँसो नबिल ब्यांक मार्फत ग्राण्डीको खातामा एअर डाइनेष्टी कम्पनीको हेलिकप्टरको भाडा रकम जम्मा गरिदिए । रकम जम्मा गरेको करीब ४५ मिनेटपछि ग्राण्डीबाट फोन आयो, “मौसमको खराबीका कारण मेडिकल टीमसहित दाङका लागि उडेको हेलिकप्टर पोखरामा ल्याण्ड गर्नुपर्‍यो । तपाईंहरू भोलिसम्म कुर्नुस् ।” रुद्राका भतिज विकास पुन आपत्कालीन सेवाका लागि हेलिकप्टर बोलाउँदा अस्पतालले भोलिपल्टसम्म कुर्न भन्नु लापरबाही भएको बताउँछन् ।

तत्काल हेलिकप्टर नआएपछि रुद्रालाई आफन्तले एम्बुलेन्स मार्फत काठमाडौं पुर्‍याएर १४ साउन बिहान नर्भिक अस्पतालमा भर्ना गरे । उपचार सफल भएर अहिले रुद्रा घरमै आराम गरिरहेकी छन् । हेलिकप्टर प्रयोग नगरेपछि रुद्राका आफन्तले ब्यांकमा अग्रिम जम्मा गरेको रु.४ लाख ५० हजार रकम फिर्ता मागे । रुद्राका भतिज विकास पुन ग्राण्डीले रु.१ लाख ८० हजार कटाएर रु.२ लाख ७० हजार मात्र फिर्ता गरेको बताउँछन् । रुद्राका आफन्तको एउटै आक्रोश छ, “अस्पतालले सेवा नै नदिई किन रकम असुल्यो ?” 

समयमै सेवा पनि नदिएको ग्राण्डीले हेलिकप्टर प्रयोग नगर्दा पनि रु.१ लाख ८० हजार लिएको भन्दै बिरामीका आफन्तले रकम फिर्ताका लागि महानगरीय प्रहरी परिसर टेकूमा निवेदन दिएका छन् ।

ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे अस्पतालले रकम नबुझेको तर हेलिकप्टर कम्पनीले काठमाडौंबाट पोखरासम्म उडान खर्च लिएको बताउँछन् । एअर डाइनेष्टीका अपरेसन म्यानेजर बालकृष्ण पण्डित अस्पतालले काठमाडौंबाट दाङ उडाउने भनेपछि हेलिकप्टर पठाएको तर मौसम खराबीका कारण जान नसकेको बताउँछन् ।

काठमाडौंदेखि पोखरा र पोखरादेखि काठमाडौंसम्मको दुई घण्टाको उडान शुल्क मात्र लिएको पण्डितको भनाइ छ । उनी भन्छन्, “हामीले बिरामीभन्दा पनि अस्पतालसँग डिल गरेका हौं । ग्राण्डीले कन्फर्म गरेपछि मात्र हेलिकप्टर उडाएका हौं ।”

हेलिकप्टर सेवाबाट सोलुखुम्बुकी मुनाले समयमै उपचार पाइन् भने दाङकी रुद्रा समयमा सेवा नपाउँदा पनि अनावश्यक खर्च बेहोर्न बाध्य भइन् । गतिलो स्वास्थ्य सेवा नभएको स्थानका आपत्कालीन अवस्थाका बिरामीलाई हेलिकप्टर सेवा ठूलो विकल्प भएको छ नै, सँगसँगै यसमा केही विकृति पनि भित्रिएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) महानिर्देशक सञ्जीव गौतम उद्धारका लागि उडेको हेलिकप्टरले सेवा दिन नसकेपछि उडान खर्चबापत बिरामीबाट रकम असुल्न नमिल्ने बताउँछन् । गौतम प्रश्न गर्छन्, “सेवा नै नदिएपछि कसरी बिरामीबाट पैसा असुल्न मिल्छ ?” त्यसो त प्राधिकरणले उद्धार कार्यमा लाग्ने हेलिकप्टरको भाडा रकम अहिलेसम्म निर्धारण गर्न सकेको छैन । उद्धारमा खट्ने हेलिकप्टरमाथि नियमन आवश्यक भएको र अबदेखि अनुगमनलाई प्रभावकारी बनाउने गौतमको भनाइ छ ।

सेवासँगै विकृति
सुविधासम्पन्न अस्पताल र सडक पहुँच नभएका दुर्गम क्षेत्रका गर्भवतीलाई हेलिकप्टर मार्फत उद्धार गरेर प्रसूति सेवाका लागि अस्पतालसम्म पुर्‍याउन सरकारले पनि प्रोत्साहन खर्च दिने गरेको छ । स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाले आर्थिक वर्ष २०७१/७२ देखि क्षेत्रीय स्वास्थ्य निर्देशनालय मार्फत एकपटक हेलिकप्टर चार्टर गरेर सुत्केरीलाई अस्पताल पुर्‍याउँदा रु.८ लाखसम्म खर्च व्यहोरेको छ ।

महाशाखाका अनुसार २०७३/७४ सम्म रु.७० लाख खर्चेर हेलिकप्टर मार्फत उद्धार सेवा दिएका कारण १४ जना सुत्केरीले सहज रूपमा अस्पताल मार्फत प्रसूति सेवा पाए ।

काठमाडौं, महाराजगञ्जको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, बल्खुको वयोधा, टोखाको ग्राण्डी, धुम्बाराहीको ह्याम्स र भैंसीपाटीको मेडिसिटी अस्पतालले हेलिप्याड नै बनाएर बिरामीलाई आपत्कालीन उपचार सेवा दिइरहेका छन् । यसबाहेकका अन्य अस्पतालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर ल्यान्ड गराएर एम्बुलेन्सबाट बिरामीलाई अस्पतालसम्म पुर्‍याइन्छ । 

उद्धारका लागि हेलिकप्टर सेवा दिने संस्था बढिरहेका बेला व्यापारिक स्वार्थका लागि ‘फेक रेस्क्यु’ (नक्कली उद्धार) पनि हुने गरेको तथ्य सार्वजनिक भएको छ ।

काठमाडौंका अस्पतालले विभिन्न हेलिकप्टर सेवा प्रदायकसँगको समन्वयमा सुत्केरी, बिरामी, दुर्घटनामा परेका र पर्यटकलाई समेत हेलिकप्टर सेवा दिंदै आएका छन् । कुनै स्थानबाट पर्यटकलाई उद्धार गरी अस्पतालमा उपचार गर्दा लाग्ने सबै खर्च नेपाली एजेन्ट मार्फत पर्यटकले बीमा गरेको विदेशी इन्स्योरेन्स कम्पनीबाट असुलिन्छ । तर, बिरामी वा घाइते नै नभएका विदेशी पर्यटकबाट समेत रकम असुलिएको गुनासो आउन थालेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २१ असारमा छानबिन कार्यदल गठन गर्‍यो ।

‘फेक रेस्क्यु’ को समस्या समाधान गर्न प्रतिवेदन मार्फत हरेक वर्ष अंग्रेजी महीना सेप्टेम्बरदेखि नोभेम्बरसम्म र मार्चदेखि मेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक उद्धार समन्वय कक्ष स्थापना गरी टोल फ्रि नम्बर मार्फत उद्धारको पहिलो जानकारी नेपाल प्रहरीले पाउने, समन्वय कक्षको अनुमतिमा मात्र उद्धारका लागि उडान हुने, क्यान र मन्त्रालयले सरोकारवालासँग छलफल गरेर उडान समय, दूरी र उँचाइका आधारमा हेलिकप्टर भाडाको अधिकतम सीमा तोक्ने, उद्धार गरेका पर्यटकको उपचारको विवरण सम्बन्धित अस्पतालले पर्यटन विभागलाई दिनुपर्ने लगायत सुझाव दिइएको छ ।

विदेशी मुद्रा अपचलन
राष्ट्र ब्यांकबाट विदेशी मुद्रा कारोबार गर्ने अनुमति नलिई बिरामीको उद्धारबापतको खर्च अमेरिकी डलरमा भुक्तानी दाबी गर्ने कम्पनीमा हिमालयन हेली चार्टर प्रालि, नेपाल रेस्क्यु एण्ड मेडिकल एसिस्टेन्स, माउन्टेन रेस्क्यु सर्भिस प्रालि, माउन्टेन हेली चार्टर सर्भिस र इगल हेली चार्टर सर्भिस कम्पनी छन् ।

कार्यदलका सदस्य सचिव प्रकाश शर्मा ढकालका अनुसार यी ६ कम्पनीलाई राष्ट्र ब्यांक मार्फत विदेशी मुद्रा अपचलन गरेको अभियोगमा कारबाहीको तयारी भइरहेको छ ।

पर्यटन मन्त्रालयले गृह मन्त्रालयलाई हेलिकप्टर कम्पनीले अलग–अलग बिल भर्पाई जारी गरेको, हेलिकप्टर नउडाई उपचार खर्च दाबी गरेको, अस्पताल, ट्राभल तथा ट्रेकिङ कम्पनी र उद्धार कम्पनी एकै व्यक्ति वा समूहको लगानीमा सञ्चालन भएको विषय गम्भीर संगठित अपराध अन्तर्गत भएकाले त्यसबारे अनुसन्धान गर्न भनेको छ ।

यस्तै, मन्त्रालयले चार अस्पताल र तीन हेलिकप्टर कम्पनीको राजस्व चुहावट भए/नभएको बारे अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागलाई निर्देशन दिएको छ । हाल नेपालमा १० वटा हेलिकप्टर कम्पनीले उद्धार सम्बन्धी काम गर्दै आएका छन् ।

क्यानको तथ्यांक अनुसार जनवरी २०१५ देखि मे २०१८ सम्म हेलिकप्टर कम्पनीले उद्धारका लागि ७ हजार ५५५ वटा उडान भरेका छन् । तर, पर्यटन मन्त्रालयको अनुसन्धानले ती सबै उद्धार वास्तविक नभएको देखाएको छ । सन् २०१८ को १ जनवरीदेखि ३० मेसम्म एक हजार ५३२ वटा उद्धार भएको देखिए पनि मन्त्रालयले ‘फेक रेस्क्यु’ बारे अध्ययन गर्न कार्यदल गठन गरेदेखि जम्मा तीन वटा मात्र उद्धार भएको छ ।

यो तथ्यांकले पनि उद्धारका नाममा ‘फेक रेस्क्यु’ कुन हदसम्म हुँदोरहेछ भन्ने पुष्टि गर्छ । मन्त्रालयका सहसचिव समेत रहेका ढकालका अनुसार हेलिकप्टर मार्फत सामान्य उपचारले निको हुने बिरामीलाई समेत गम्भीर भनेर रेस्क्यु गरेको पनि भेटिएको छ ।

कार्यदलको अध्ययनबाट उद्धार कम्पनीले एक विदेशी पर्यटक उद्धार गरे बापत अधिकतम ५० हजार युरो (करीब रु.६४ लाख) र नर्भिक अस्पतालले एक पर्यटकको उपचारमा रु.६० लाखसम्म असुलेको भेटिएको छ ।

यसरी पर्यटकलाई उद्धार गरेर चर्को शुल्क असुल्ने काममा ट्राभल तथा टुर कम्पनी, उद्धार कम्पनी र अस्पतालको साँठगाँठ हुने गरेको छ । जस्तोः माउन्टेन रेस्क्यु सर्भिस प्रालिले उद्धार गरेका पर्यटकलाई उपचार गर्न सिविक अस्पताल, ग्राण्डी अस्पताल र एसभीआई क्लिनिकमा पठाउँछ । यस्तै, फिस्टेल, सिम्रिक र एअर डाइनेष्टीलाई उद्धारका लागि पार्टनर बनाएको भेटिएको छ ।

कतिपय अस्पताल त उद्धार गरेर ल्याइएका विदेशी पर्यटकको मात्र उपचार गर्न खुलेका पनि छन् । तीमध्येको एक हो, स्वाकन अस्पताल । यसका केही सञ्चालक हेलिकप्टर कम्पनीका मालिक पनि हुन् । पहिले हेलिकप्टर सेवा मात्र दिने गरेका उनीहरूले पर्यटकको उपचारमा राम्रो मुनाफा हुने देखेपछि आफैं अस्पताल खोलेर लगानी गरेको बताइन्छ ।

नाम उल्लेख गर्न नचाहने शर्तमा एक हेलिकप्टर कम्पनीका सञ्चालकले हिमाल लाई बताए अनुसार विदेशी बीमा कम्पनीका नेपालस्थित केही एजेन्ट र ट्राभल तथा टुर कम्पनीले फर्जी बिल बनाएर बढी रकम असुल्ने गरेका छन् । “हामीलाई ती एजेन्ट मार्फत बिरामीको उद्धार गर्न भनिन्छ” उनी भन्छन्, “तर उद्धार गरेका पर्यटक साँच्चिकै बिरामी हुन वा होइनन्, हामीलाई थाहा हुँदैन ।”

उद्धार गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएका बिरामीलाई एजेन्ट कम्पनीले अस्पताल पुर्‍याएर मिलेमतोमा फर्जी बिल बनाउने गरेको उनको भनाइ छ । उद्धार कार्यमा यो हदसम्मको विकृति निम्तिने अवस्था कसरी बन्यो त ? पर्यटन मन्त्रालयका एक अधिकारी उड्डयन प्राधिकरणले अनुगमन नगरेका कारण फेक रेस्क्यु मौलाउँदै गएको बताउँछन् ।

प्रतिकृया दिनुहोस