एशिया कप छनोट खेल्न नेपाली टोली मलेसियातर्फ
एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्न नेपाली राष्ट्रिय टोली आज मलेसियातर्फ प्रस्थान गरेको छ ।
आजदेखि एशिया कप छनोट खेल मलेसियामा शुरु हुँदैछ । यसअघि एशियाकपको तयारीका लागि नेपाली टोलीले श्रीलङ्कामा एक साताको विशेष प्रशिक्षण र तीन अभ्यास खेल खेलेको थियो ।
अभ्यासका क्रममा नेपालले श्रीलंका आर्मी, कोल्ट्स र ब्लुमफिल्ड क्लबलाई पराजित गरेको थियो ।
एशिया कपको छनोट खेल नेपालसहित आयोजक मलेसिया, युनाइटेड अरब इमिरेटस् (युएई), हङकङ, सिंगापुर र ओमानले खेल्ने छन् ।
नेपालले छनोट खेल ओमानसँग १३ भदौमा, युएइसँग १४, मलेसियासँग १६ सिंगापुरसँग १७ भदौ र हङकङसँग १९ भदौमा खेल्नेछ ।
उक्त प्रतियोगिताको विजेता टोलीले एशिया कपमा सहभागिता जनाउने छ । एशिया कप २८ भदौदेखि १२ असोजसम्म युएईमा हुनेछ ।
एशिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ ।
नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिलकुमार साह, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल छन् ।
वैकल्पिक खेलाडीमा प्रदीप ऐरी, किशोर महतो, सुनील धमला र सुसन भारी छन् । रासस