व्यक्तित्वआइतवार, भाद्र १०, २०७५

‘शव दान दिनू, काजकिरिया नगर्नू’

हिमालखबर

‘जदौ श्रोता, खुल्यो साहित्य संसारको दैलो...’ दाहाल यज्ञनिधिले २०३४ सालदेखि रेडियो मार्फत ‘जदौ’ शब्दको उच्चारण गरेका हुन् ।

यज्ञनिधि दाहाल
८ साउन २०१० — २५ साउन २०७५

‘जदौ बराजु ! जदौ साहेब ! जदौ मालिक ! ...’ पहिले–पहिले नेपाली समाजमा दलित समुदायका मानिसले कथित अभिजातलाई दाहिने हातको हत्केला आफूतिर फर्काएर अभिवादन गर्दा उच्चारण गरिने शब्द हुन्, यी । समाजमा कथित सानो जातका मानिसबाट सुनिंदै आएका यी शब्द जब रेडियो नेपालबाट गुञ्जन थाले, सबैलाई रमाइलो लाग्न थाल्यो, यी शब्दको अर्थभाव र गरिमा पनि बढेर गयो ।

‘जदौ श्रोता, खुल्यो साहित्य संसारको दैलो...’ दाहाल यज्ञनिधिले २०३४ सालदेखि रेडियो मार्फत ‘जदौ’ शब्दको उच्चारण गरेका हुन् । खोटाङको खाल्लेमा ८ साउन २०१० मा जन्मेका यज्ञनिधिको २५ साउन २०७५ मा निधन भयो, मस्तिष्कघातबाट । रेडियोकर्मीको पहिचान बनाएका दाहालको ‘जदौका निबन्ध (२०६९)’ साझा प्रकाशनबाट प्रकाशित छ ।

समाजका निम्न वर्गको शब्द र संवेदना टिपेर चर्चा कमाएका यज्ञनिधिको जीवन पनि केही हदसम्म क्रान्तिकारी थियो ।

ब्राह्मण परिवारमा जन्मिएका दाहालको निधनमा परिवारले ‘१३ दिने काजकिरिया’ गरेन, शरीर जलाएर दाहसंस्कार गरेन, कोरा बारेन । उनको शवलाई त्रिवि शिक्षण अस्पतालमा बुझाइयो । दाहालपत्नी सुधा भन्छिन्, “शोकमा बसें, तर उहाँको इच्छा अनुसार नै किरियामा बसिनँ ।”

निधनको दशौं दिन अर्थात् ३ भदौमा काठमाडौंको मण्डिखाटारस्थित घरमा दाहालपत्नी सुधा र जेठो छोरा संवेदना व्यक्त गर्न आएकासँग कुरा गरिरहेका थिए । कान्छा छोरा चार दिनसम्म शोकमा बसेर शनिबार कामविशेषले कोरिया फर्किए । सुधा भन्छिन्, “सानो छोरो पनि बुबा जस्तै छ, चार दिन शोकमा बस्यो । जानैपर्ने काम भएकाले कोरिया गयो ।”

मृत्युपछिको इच्छा
२०५७ मा मिर्गौला प्रत्यारोपण गरेदेखि त दाहालले भावी जीवनको र मृत्युपछिका पनि केही योजना बनाएका थिए । २०६९ सालमा साहित्यकार रमेश शुभेच्छुद्वारा लिखित ‘जदौः दाहाल यज्ञनिधिको जीवन चर्या र कृति चर्चा’ पुस्तकमा उनका मरणपछिका योजना समेत प्रकाशित भइसकेका थिए ।

सुधा भन्छिन्, “मृत्युपछि पार्थिव शरीर त्रिवि शिक्षण अस्पताललाई दान दिने उहाँको इच्छा थियो । मृत शरीर पनि उपयोग होस्, लासमा फूल, अबिर नपरोस्, धुपबत्ती नबलोस्, काजकिरिया नहोस्– उहाँका इच्छा यस्तै थिए ।”

निधनको १३औं दिन बटुकहरूबाट वेद मन्त्रोच्चारण गराइयो । “यो पनि दाइकै इच्छा थियो” यज्ञनिधिका भाइ पुष्करनिधि भन्छन्, “हामी दुवै दाजुभाइले वेद पढेको २०२६ सालमा, धरानमा । वेदप्रति दाइको पनि विश्वास थियो । वेदमा कर्मकाण्डी कुराभन्दा शान्तिको कामना छ । बटुकहरूले बिहान ९ बजेदेखि १ बजेसम्म वेद मन्त्रोच्चारण गरेपछि उहाँको आत्माले पनि शान्ति पायो भन्ने हाम्रो विश्वास हो ।”

धार्मिक सुधालाई नयाँ सिकाइ
दाहालपत्नी सुधा धार्मिक विश्वास भएको परिवारमा हुर्केकी हुन्, सानैदेखि भजन गाउँथिन् । रेडियो नेपालमा भजन रेकर्ड गर्न आउँदा उनले धेरैपटक यज्ञनिधिलाई देखेकी थिइन्, तर बोलचाल भएको थिएन ।

सुधा सम्झिन्छिन्, “बिहेको कुरा आयो । कोसँग होला भन्ने खुल्दुली थियो, रेडियो नेपालमै काम गर्ने हुनुहुँदोरहेछ ।”

बिहेपछिको पहिलो तीजमा परम्परा अनुसार उनी श्रीमान्का लागि व्रत बस्ने योजनामा थिइन् । उनलाई नन्दले भनिन् “दाइलाई त व्रत बसेको र पूजा गरेको मन पर्दैन । हामी दुवैले बत्ती बालेर, पूजा गरेर चोखो खाऔं ।” त्यो वर्ष सुधाले नन्दले भनेबमोजिम गरिन् । त्यसपछि उनी तीजको व्रत बसेकी छैनन् । “उहाँले पूजा र कर्मकाण्डलाई धर्मको नाममा भएको विसंगति मान्नुहुन्थ्यो” सुधा भन्छिन्, “महिलाका लागि पनि पुरुषले व्रत बस्ने कुनै विशेष दिन हुनुप¥यो, नत्र महिला मात्रै व्रत बस्नु ठीक होइन– उहाँ भन्नुहुन्थ्यो ।”

माइतीमा महीनावारी भएका बेला चुलोचौको लगायत बार्ने सुधाले विवाहपछि बार्ने या चोख्याउने गरिनन् । ‘महीनावारी हुँदा मान्छे चोखो हुन्छ, जुठो भए पो चोखिनु ?’ यज्ञनिधि पत्नीलाई यस्तै कुरा सिकाउँथे ।

यज्ञनिधिसँग सुधाको बिहे २०३७ सालमा भएको हो । बिहेपछिका ३८ वर्ष सुधाले पतिका विचार ग्रहण गरिन्, कर र दबाबमा होइन, विवेक र स्वेच्छाले । सुधा भन्छिन्, “मलाई उहाँको विचार ठीक लाग्यो र ग्रहण गरें ।” सुधा बाँकी जीवन सामाजिक काम र सरसहयोगमा बिताउने योजनामा छिन् ।

‘फूल नचुँड्ने, चामल खेर नफाल्ने’
दाहालले दशैंको टीकामा चामलको प्रयोग गर्दैनथे भने तिहारमा फूलको माला लगाउँदैनथे । उनले परिवारलाई पनि दशैंमा अबिर र जमराको मात्रै प्रयोग गर्न भनेका थिए । “अक्षता बनाएर खाने चामललाई खेर फाल्नुहुँदैन भन्ने उहाँको धारणा मलाई पनि ठीक लाग्यो । घरमा टीका थाप्न आउने जो–कोहीलाई अबिरको टीका र जमरा मात्र लगाउने चलन थियो ।”

दाहालले जमरालाई किसानको खेती गर्ने तरिका र चेतनासँग जोडेर हेर्थे भने पूजामा फूल चढाउनु वा फूलको माला लगाउनुलाई उचित मान्दैनथे । सुधा भन्छिन्, “भाइटीकाको दिन बहिनीकै घर जाने, खाने, दक्षिणा दिने तर फूल टिपेर नाश पार्नुहुँदैन भनेर माला नलगाउने । परिवारभित्र पनि यो चलन सामान्य भइसकेको थियो ।”

लक्ष्मी बस्नेत

प्रतिकृया दिनुहोस