रिपोर्टआइतवार, भाद्र १०, २०७५

बाघः संख्यासँगै संरक्षणमा चुनौती

कुन्द दीक्षित

वासस्थान खुम्चिंदै जाँदा बाघ संरक्षण आफ्नै सफलताको शिकार हुँदै त छैन भन्ने प्रश्न उब्जिन थालेको छ ।

एक दशक अघिसम्म चोरी शिकारबाट झण्डै लोप हुने अवस्थामा पुगेको बाघको संख्या पछिल्ला वर्षहरूमा उल्लेख्य बढेको छ । तर, केही वर्षमै बाघको संख्या दोब्बर बनाउने नेपालको प्रतिबद्धताले सँगसँगै एउटा प्रश्न समेत उब्जाएको छ ।

त्यो के भने, देशका केही राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको संख्या धेरै भइरहेको अवस्थामा यो प्रतिबद्धता कसरी पूरा होला ? वन्यजन्तुको यस्तो भीडले निकुञ्जहरु साँघुरिएर बाघको प्राकृतिक वृद्धिका लागि प्रतिकूल बनिरहेका छन् ।

सन् २०१० मा रुसमा भएको विश्व बाघ सम्मेलनमा सहभागी देशहरूले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । नेपाली अधिकारीहरू यो लक्ष्य पूरा गर्न नेपालमा बाघको संख्या २४२ पुर्‍याउन सकिनेमा ढुक्क छन् । सन् २०१३ को गणना अनुसार नेपालमा बाघको संख्या १९८ छ, जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै १२० वटा बाघ छन् ।

२०१३ पछिको गणना सार्वजनिक गरिएको छैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मानबहादुर खड्का भन्छन्, “प्रतिबद्धता अनुसारको लक्ष्य पूरा गर्ने नेपाल एक मात्र देश हुनेछ । अब नयाँ गणना अनुसारको बाघको संख्या पनि चाँडै सार्वजनिक हुनेछ ।”

भारतसँग मिलेर गरिएको बाघ गणनाको परिणाम विश्व बाघ दिवस (१३ साउन) का अवसरमा घोषणा गर्ने बताइएको थियो । तर, सो मितिमा घोषणा नहुँदा नेपालमा बाघको संख्या घटेको भन्ने आशंकालाई बल पुगेको छ । विशेषज्ञहरूका अनुसार, केही भाले बाघ आफ्नो क्षेत्रमा अर्काको प्रवेशका कारण लडेर मरेका छन् । तीन वर्षयता चितवनमा मात्रै ११ वटा बाघको मृत्यु भएको छ, जसमध्ये पाँच वटा यसै वर्ष मरेका हुन् ।

“जनावरहरू आहारको कमी हुन नदिन सामाजिक संयन्त्रबाटै आफ्नो सदस्य संख्या सीमित पार्छन् । बाघको निश्चित क्षेत्र हुन्छ, त्यो क्षेत्रमा अर्को बाघ सितिमिति प्रवेश गर्दैन । अहिले बाघको प्राकृतिक वृद्धिका लागि चितवनमा ठाउँ सानो भइसकेको छ”, बाघ सम्बन्धी एक अन्तर्राष्ट्रिय विज्ञ भन्छन् ।

महानिर्देशक खड्का भने बाघको संख्या सन् २०१३ भन्दा घटेका कारण गणनाको परिणाम घोषणा नगरिएको भन्ने तर्क अस्वीकार गर्छन् । उनका अनुसार गणकहरूले क्यामरामा ट्र्याप भएका तस्वीरहरूको विश्लेषण गर्न समय लगाएकाले ढिलो भएको हो । मान्छेको औंठाछाप फरक भए जस्तै, प्रत्येक बाघको पाटा फरक हुन्छ, त्यो चिनेर मात्रै बाघको गणना हुन सक्छ ।

खड्का थप्छन्, “हामीले बाघको संख्या लुकाउनुपर्ने कुनै कारण छैन, संख्या ठ्याक्कै हुनु पर्‍यो भन्ने मात्रै चासो हो । बरु नेपाल र भारतबीच बाघ ओहोरदोहोर गर्ने भएकाले भारतको क्यामरा ट्र्याप तस्वीरसँग पनि हामीले गणना गरेको तस्वीर जुधेको छ/छैन मिलान गर्नुपर्ने हुन्छ ।”

यद्यपि घोषणामा भइरहेको ढिलाइले आगामी चार वर्षमा नेपालमा बाघको संख्या थप ५० पनि बढ्न नसक्ने हो कि भन्ने चिन्ता थपिएको छ । नेपालमा बाघको संख्याबारे आशंका गर्ने ती अन्तर्राष्ट्रिय विज्ञ भन्छन्, “कसैले कतै तथ्यलाई बङ्ग्याउने प्रयास गरिरहेको जस्तो देखिन्छ । यदि त्यसो भयो भने बाघ संरक्षणमा गरेको प्रयासका कारण वैश्विक संरक्षण अभियानमा प्रशंसित नेपालको साख गुम्नेछ ।”

भलै बाघको संख्या बढाउने नेपालको लक्ष्य पूरा होला, तर त्यसबाट संरक्षित क्षेत्रको संख्या बहन क्षमता भने नाघ्नेछ, विशेष गरी चितवनमा । यदि चितवनमा ठाउँ छैन भने, बाघको संख्या बर्दिया राष्ट्रिय निकुञ्जमा बढाउनुपर्छ, जहाँ बाघको संख्या ५० मात्रै छ र त्यहाँको क्षेत्रफलले यसको दोब्बरसम्म धान्न सक्छ । आहार वृद्धि हुने हो भने बाँके र पर्सा राष्ट्रिय निकुञ्जमा पनि बाघको संख्या बढाउन सकिने सम्भावना छ ।

वासस्थानको विनाश, वन्यजन्तु मार्गमा मानवीय अतिक्रमण, नयाँ राजमार्ग, विद्युत् प्रसारण लाइन, सिंचाइ नहर र नयाँ रेलमार्गले पारिस्थितिक प्रणालीमा अवरोध पुर्‍याइरहेका छन्, जसले गर्दा बाघको आहार चक्र सबभन्दा बढी प्रभावित भएको छ ।

बाघ संरक्षणको चर्चा भइरहँदा संख्या दोब्बर बनाउन नेपाल प्रतिबद्ध हुनै पर्ने थियो त भन्ने प्रश्न उब्जिन्छ । किनभने नेपालमा संरक्षित क्षेत्र सीमित छन् र बाघको आहारा घट्दो छ । वासस्थान खप्टिंदा बाघहरूबीच भयंकर प्रतिस्पर्धा भइरहेको छ । यस्तो प्रतिस्पर्धा चितुवा र अन्य जनावरहरूबीच पनि छ ।

एउटा बाघलाई आहारका लागि सातामा एउटा हरिण वा त्यत्रै आकारको जनावर चाहिन्छ । जसअनुसार २५० बाघका लागि वर्षमा कम्तीमा १२ हजार जनावर चाहिन्छ । चितवनमा बर्दियामा भन्दा आहारको संख्या कम छ, त्यसैले संरक्षणविद्हरू चितवन राष्ट्रिय निकुञ्जले बाघको ठूलो संख्या थेग्न सक्नेमा आशंका व्यक्त गर्छन् ।

ठूलो घाँसे मैदान, नारायणी र राप्ती नदीका गौखुर ताल भएको चितवन राष्ट्रिय निकुञ्ज बाघको लागि उत्तम वासस्थान हो तर, वनमारा झार (माइकानिया मिकारान्था) को मिचाइ, बढ्दो पर्यटकीय गतिविधिले पुर्‍याइरहेको अवरोध र डढेलोले बाघको वासस्थान साँघुरिंदैछ । बाघका लागि प्रिय चितवनको सिमसार क्षेत्र र स–साना ताल पनि तराईमा जमीन मुनिको पानीको अत्यधिक दोहनका कारण सुक्दैछन् ।

पछिल्ला वर्षमा बाघको संख्या बर्दिया राष्ट्रिय निकुञ्जमा सबभन्दा तीव्र गतिमा बढेको छ । बर्दियामा सन् २००९ मा १८ वटा बाघ रहेकोमा चार वर्षमै बढेर ५० पुगिसकेको छ । तर बर्दियामा पनि बाघको संख्या अझै बढाउन घाँसे मैदान र सिमसार क्षेत्रको संरक्षण गरिनु जरुरी छ, त्यसो गर्दा उसलाई आवश्यक शिकारको संख्या पनि बढ्नेछ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक खड्का ७ असोज, राष्ट्रिय संरक्षण दिवसका अवसरमा सरकारले बाघको आधिकारिक संख्या घोषणा गर्ने बताउँछन् । भन्छन्, “हामी संख्या घटबढ पार्न होइन, सम्भव भएसम्म सटिक हुन प्रयासरत छौं ।”

टाइगरम्यान डी क्याप्रियो
हलिउड अभिनेता लियोनार्दो डि क्याप्रियोले बाघको संख्या दोब्बर बनाउने विश्व वन्यजन्तु कोषको अभियानलाई आफ्नो परोपकारी संस्था मार्फत एक दशकदेखि सहयोग गरिरहेका छन् ।

बाघको संख्या सन् २०२२ सम्ममा ६ हजार पुर्‍याउन बाघ पाइने १३ देशमा उनको संस्थाले सहयोग गरिरहेको छ । हाल विश्वका जंगलहरूमा बाघको संख्या ३ हजार ९०० छ, जुन संख्या ८ वर्षअघि ३ हजार थियो ।

यो वृद्धि मुख्य गरी रुस, भारत, भूटान र नेपालमा भएको छ । नेपालमा बाघको संख्या बढाउन क्याप्रियोले विश्व वन्यजन्तु कोष मार्फत करीब रु.७० करोड सहयोग गरेका छन् । उक्त रकम मध्यवर्ती क्षेत्रमा चोरी शिकार विरुद्ध करीब ४०० समूह गठन, वन्यजन्तु मार्ग निर्माण र मानव–बाघ द्वन्द्व कम गर्न लगानी भएको छ ।

चोरी शिकार विरुद्ध भइरहेका काम र क्यामरा ट्र्याप स्थापनाको अनुगमनका लागि क्याप्रियो केही वर्ष पहिले बर्दिया राष्ट्रिय निकुञ्ज आएका थिए । बर्दिया पुगेपछि उनले भनेका थिए, “यहाँ भइरहेको काम देखेर मलाई गर्व महसूस भएको छ । बाघ पृथ्वीको सर्वाधिक महत्वपूर्ण र रुचाइएमध्येको जनावर हो । सरकार, समुदाय, संरक्षणवादी र निजी संस्थाहरूले वैश्विक चुनौतीको सामना गर्न हातेमालो गर्ने हो भने लक्ष्यमा पुग्न सकिन्छ भन्नेमा म आशावादी छु ।”

विश्व वन्यजन्तु कोष सिमसार क्षेत्रको विस्तार र स्तरोन्नति, डढेलो विरुद्ध अग्निरेखा स्थापना र सौर्य ऊर्जा मार्फत विद्युतीय तारबार गरेर बाघको वासस्थानलाई उन्नत बनाउने काममा समेत सक्रिय छ ।

प्रतिकृया दिनुहोस