प्रिमियर लिगः म्यान’ सिटीको लक्ष्य उपाधि रक्षा
९ वर्षयता कुनै पनि क्लवले उपाधि रक्षा गर्न नसकेकाे इतिहासवीच उपाधि रक्षाकाे महत्वकांक्षासहित सिटी नयाँ सिजनमा अघि बढ्दा विपक्षी क्लबहरु पनि यसपटक जसरी पनि उसलाई रोक्ने रणनीतिमै रहनेछन्।
-ज्ञानेन्द्र आचार्य
एक दशकअघि प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेडले एकछत्र राज गरेको थियो। सर एलेक्स फर्गुसन प्रशिक्षक हुँदासम्म यो क्लब प्रिमियर लिगमा सबैभन्दा बलियो मानिन्थ्यो।
त्यो बेलाको युनाईटेडले जस्तै प्रिमियर लिगमा आधिपत्य जमाउने लक्ष्यसहित म्यानचेस्टर सिटीले पेप ग्वार्डिओलालाई प्रशिक्षकका रुपमा क्लबमा ल्यायो। ग्वार्डिओलाले त्यसअघि बार्सिलोना र वायर्न म्युनिखको प्रशिक्षकका रुपमा अाफ्नाे याेग्यता प्रमाणित गरिसकेका थिए।
तर ग्वार्डिओलाले पछ्याउने टिकीटाका शैली प्रिमियर लिगमा काम नलाग्ने आकलन गरिएको थियो। किनभने इङल्यान्डका क्लबहरु तीब्र गति र डाईरेक्ट शैलीको फुटबल खेल्छन्।
यस्तोमा ग्वार्डिओलको टिमलाई विपक्षीको काउन्टर अट्याकले निकै दुख दिने अनुमान विश्लेषकहरुले गरेका थिए । उनको पहिलो सिजन विश्लेषकहरुले गरेको अनुमानसँग ठ्याक्कै मिल्यो ।
शुरुका आठ/दश खेलसम्म सिटीले ठिकठाक नतिजा निकाले पनि त्यसपछि ग्वार्डिओलको जादु चल्न छाड्यो र उनको शैलीमाथि नै धेरैले प्रश्न पनि गरे । हेर्दा ग्वार्डिओला जति मिजासिला देखिन्छन्, फुटबल कसरी खेल्नुपर्छ भन्ने कुरामा त्यति नै एकोहोरो र जिद्धी पनि छन् ।
प्रिमियर लिगमा आउँदा त्यहाँको शैली अनुसार आफ्नो फुटबल बुझाइ परिवर्तन गर्ने बताए पनि बल नियन्त्रणमा राखेर खेल्ने शैलीलाई कसरी प्रिमियर लिग अनुकुल बनाउने भन्नेमा उनी केन्द्रित भएको देखिन्छ । चार पटक प्रिमियर लिगको गोल्डेन ग्लोब विजेता जोय हार्टप्रति गरेको व्यवहार हेर्दा पनि यस्तै लाग्छ । हार्ट यस्ता गोलकिपर थिए, जसले म्यानचेस्टर सिटीको उदयमा ठूलै योगदान दिएका थिए ।
तर नयाँ प्रशिक्षकले पास दिन र सही समयमा डिबक्स बाहिर निस्केर भए पनि विपक्षीको आक्रमणलाई रोक्न नहिचकिचाउने गोलकिपर खोजेका थिए । यस्तो क्षमता भएका गोलकिपरलाई आधुनिक फुटबलमा स्वीपर–किपर भनिन्छ।
यही भूमिकाका लागि उनकै पूर्वक्लब बार्सिलोनाबाट क्लाउडियो ब्राभोलाई झिकाए। ब्राभोले पनि गतिलो खेल्न नसक्दा आलोचकहरुलाई झनै खुराक मिल्यो । उता म्यानचेस्टर युनाईटेडमा जोसे माउरिन्हो प्रशिक्षक नियुक्त भएका थिए र युनाईटेडको आँखा प्रिमियर लिग च्याम्पियन बन्नमै सोझिएको थियो । धन्न चेल्सीको अद्भुत प्रदर्शन पछि प्रिमियर लिगको ट्रफी लन्डन गयो।
लगत्तै अर्को सिजनमा सिटीलाई नयाँ स्वीपर किपरका रुपमा एडरसनलाई किन्न ग्वार्डिओलाले मजबुर बनाए। एडरसनलाई किन्न चार करोड युरो खर्च गर्दा चकित हुनेहरु धेरै थिए।
गोलकिपरका लागि यति धेरै पैसा खर्चिनु त्यसबेला अस्वभाविक थियो । तर एडरसनले गत सिजनमा देखाएको खेलले उनको त्यो मूल्य अझ कम भएको हो कि भन्ने पनि बहस चल्न थालेको छ।
यसै सिजनमा लिभरपुलले गोलकिपरका लागि रु. ७ करोड ५० लाख र चेल्सीले रु. ८ करोड खर्चेका छन्।
ग्वार्डिओलाको टिकीटाका शैली आधुनिक टोटल फुटबलको सिद्धान्तसँग केही हदसम्म मिल्दोजुल्दो छ। यी दुबैमा फूलब्याक पोजिसनका खेलाडी अगाडि बढेर विंगर भएर खेल्छन् । र, बल विपक्षीको नियन्त्रणमा हुँदा जति सक्दो छिटो तल झरेर सेन्टर व्याकहरुलाई सघाउन आईपुग्नुपर्छ । यसकारण यस पोजिसनका खेलाडीमा पेस हुनु जरुरी छ।
ग्वार्डिओलाको पहिलो सिजन सिटीको खराब प्रर्दशनमा फुलब्याक पोजिसनकै कमजोरी पनि देखिन्छ । त्यतिबेला सिटीका फुलब्याकहरु सान्या र जाबलेटाको उमेरले छोइसकेको थियो। यीनको ठाउँमा सिटीले गत सिजन कायल वाकर र बेन्जामीन मेन्डीलाई ल्यायो। र, मेन्डी घाईते भएर पुरा सिजन खेल्न नसक्ने भएपछि रियल म्याड्रिबाट ड्यानिलो पनि आए ।
विपक्षीको अनुमान भन्दा जति फरक संरचना र रणनितीमा खप्पिस हुन सक्यो, खेल जित्ने सम्भावना उत्तिकै बलियो हुन्छ । एक सय अङ्क र अन्य थुप्रै किर्तिमान सहित गत सिजन लिग जित्दा म्यानचेस्टर सिटीको रणनीतिले अन्य उपाधिका प्रत्याशीलाई माथ दियो ।
ग्वार्डिओलाले कहिले विपक्षी अनुसार तीन सेन्टर ब्याक लिएर खेले त कहिले दुई अनि संरचना पनि विपक्षी र पल पलमा बदलिने खालको । तर जुन संरचनामा खेले पनि उही ग्वार्डिओलालाई मन पर्ने र उनले जानेको बल आफ्नो पकडमै राख्ने सिद्धान्त कायम थियो । यसमा पनि एउटा नयाँ प्रयोग भएको थियो, फुलब्याकहरुलाई फल्स डिफेन्सिभ मिडफिल्डरका रुपमा खेलाउने ।
आक्रमणका बेला फुलब्याकहरु विंगरको भुमिकामा नगएर सेन्टरब्याकहरुको ठीक अघि बसेर डिफेन्सिभ मिडफिल्ड सम्हाल्थे । डिफेन्स लाईन निकै अगाडि राखेर खेल्ने ग्वार्डिओलाको टिमलाई यो नयाँ प्रयोगले झनै कम्प्याक्ट बनायो ।
विपक्षीको आक्रमणको बेला डिफेन्सिभ मिडबाट आफ्नो असली पोजिसनमा पुग्न पनि फुलब्याकहरुलाई त्यति धेरै दुरी पार गर्नु नपर्ने । अर्कोतिर आक्रमणका लागि निकै छरिता र कुशल खेलाडी हुँदाहुँदै डिफेन्स लाइन नै धरापमा पर्ने गरि फुलब्याक पनि विंगमा पुगेर भिड जम्मा पार्न आवश्यक पनि थिएन ।
म्यानचेस्टर सिटीको अद्भुत प्रदर्शन पछाडि छुटाउनै नमिल्ने अर्को नाम हो केभिन डि ब्रुयने । गत सिजन सिटीका लागि उनी शोम्यान थिए, जसले हरेक जितको आधार तयार पारे । ग्वार्डिओलाले उनलाई खुलेर खेल्न दिए । त्यसैले उनी कहिले निकै तल झरेर खेल्थे त कहिले अगाडि पुग्थे ।
तर सहि समयमा मौका सिर्जना गर्न खप्पिस डि ब्रुयनेले सिटीलाई थुप्रै अप्ठ्यारा खेलमा जित दिलाएका थिए । ग्वार्डिओलाकै रोहबरमा डेभिड सिल्भा, रहिम स्टर्लिङ, लिरोय साने, सर्जियो अग्वेरो र निकोलस ओटामेन्डी पनि करियरकै उच्च फर्ममा देखिएका थिए ।
खेललाई सुक्ष्म ढगंबाट विश्लेषण गरी त्यसै अनुरुपको तयारी गर्ने ग्वार्डिओला युवा खेलाडीमा बढी विश्वास गर्ने कमै प्रशिक्षकमध्ये पर्छन् । यसको सबैभन्दा बढी फाईदा गत सिजनका सेन्टरब्याक जोन स्टोन्सलाई भयो । प्रशिक्षकबाट उनले धेरै कुरा सिक्न पाए । सिटीको एकेडेमीका केही प्रतिभावान युवा खेलाडीहरुले पनि सिनियर टिमबाट खेल्ने मौका पाएका छन् ।
अघिल्लो सिजन जति नै राम्रो भएपनि नयाँ सिजन शुन्यबाट नै सुरु हुन्छ । र, यसपटक फेरि लिग जित्न झनै गाह्रो हुने सबैले बुझेका पनि छन् । घाईते भएर पुरै सिजन गुमाएका मेन्डी निको भएर खेलमा फर्कनु सिटीका लागि राम्रो संकेत हो । तर अघिल्लो सिजनका शोम्यान डी ब्रुयनेको चोट ग्वार्डिओलालाई निकै महँगो पर्न सक्छ ।
त्यसो त सिटीसँग उनको स्थान लिन सक्ने प्रतिभावान खेलाडी नभएका होइनन् । बस्, कुरा यति मात्रै हो कि डी ब्रुयनेले जस्तै आक्रमणको याेजना बुन्न अरुले सक्छ या सक्दैन । विगत ९ वर्षयता कुनै पनि क्लवले उपाधि रक्षा गर्न नसकेकाे इतिहास भएकाे प्रिमियर लिगमा यसपटक उपाधि रक्षाकाे महत्वकांक्षासहित सिटी नयाँ सिजनमा अघि बढ्दा विपक्षी क्लबहरु पनि यसपटक जसरी पनि उसलाई रोक्ने रणनीतिमै रहनेछन् । लिभरपुल पहिले भन्दा झनै सशक्त देखिएको छ ।
चेल्सीमा ग्वार्डिओलाको सिद्धान्तसँग मिल्दोजुल्दो रणनीति बुन्ने प्रशिक्षक माउरिजिअाे सारी आएका छन् र लिगका सुरुका दुई खेलमा चेल्सीमा सुधारको संकेत प्रस्टै देखिन्छ । टोटनहमले कुनै ठूला स्टार खेलाडी नल्याए पनि पछिल्ला केही सिजनको प्रदर्शन हेर्दा उसलाई हराउन सजिलो हुनेछैन । आर्सनलले खराब सुरुवात गरेपनि पछि सम्हालिएला ।
र अन्त्यमा कुरा आउँछ म्यानेस्टर युनाईटेडको, जसले लिग जितेको हेर्न सिटी चाहँदैन । युनाईटेडको सुरुवात पनि राम्रो छैन र उसको खेलमा लिग जित्ने तागत देखिँदैन भन्ने हल्ला सबैको कानमा परेको होला ।
तर एउटा कुरा के बुझ्न जरुरी छ भने माउरीक़न्होको टिमले लिग जित्दैन भन्नेमा सहमत हुन सकिएला तर उनको टिमलाई हराउन कसैलाई पनि सजिलो हुनेछैन । किनभने माउरिन्होको एउटै सिद्धान्त छ, ‘जे गरेर भए पनि खेल जित्ने’ ।