भलिबलमा नेपाल कोरियासँग ३-० ले पराजित
इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत भलिबलतर्फ आज भएको दोस्रो खेलमा नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको छ।
समूह ‘डी’ मा रहेको नेपाल आज सम्पन्न दोस्रो खेलमा दक्षिण कोरियासँग २५–१६, २५–१३ र २५–१४ मा पराजित भएको जकार्ताबाट भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिए। दुवै खेलमा पराजित नेपाल समूह चरणबाटै बाहिरिएको छ। नेपाल यसअघि बुधबार भएको पहिलो खेलमा चाइनिज ताइपेइसँग पराजित भएको थियो।
एशियाली खेलकूदको पुरुष भलिबलतर्फ २० राष्ट्र सहभागी छन्। नेपालले ३२ वर्षपछि एशियाली खेलकूदमा भलिबलमा सहभागिता जनाएको हो। नेपालको भलिबल टोलीले पछिल्लो पटक सन् १९८४ मा दक्षिण कोरियाको सिओलमा आयोजित एशियाली खेलकूदमा भाग लिएको थियो । भलिबल नेपालको राष्ट्रिय खेलसमेत हो। – रासस