१८ औँ एशियाडः नेपाल तीनै खेलमा पराजित
१८ औँ एशियाली खेलकूदअन्तर्गत ४ भदौमा भएको ब्याडमिन्ट, पौडी र तेक्वान्दो तीनै खेलमा नेपालले पराजय व्यहोर्नु परेको छ।
ब्याडमिन्टन
ब्याडमिन्टन पुरुष समूहमा नेपाल क्वाटर फाइनलमा पराजित भएको छ। चाइनिज ताइपेइसँग ३–० ले नेपाल पराजित भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ।
पहिलो सिङ्गल्समा नेपालका रत्नजित तामाङ २१–१६ र २१–१३, दोस्रोमा नेपालका दिपेश धामी २१–५ र २१–११ तथा तेस्रोमा नेपालका नविन श्रेष्ठ २१–११ र २१–१० को सोझो सेटमा पराजित भएका थिए । ब्याडमिन्टनअन्तर्गत व्यक्तिगत स्पर्धाका खेलहरु आगामी शुक्रबारदेखि शुरु हुनेछ।
पौडी
पौडीतर्फ ४ भदौमा भएको खेलमा दुई नेपाली महिला खेलाडीहरु गौरिका सिंह र टीसा शाक्य दुवैले १०० मिटर फ्रि स्टायलमा भाग लिएका थिए ।
२७ खेलाडी सहभागी उक्त स्पर्धामा गौरिका १८ औँ र टीसा २२ औँ स्थान प्राप्त गरें । गौरिकाले निर्धा्रित दूरी तय गर्न १ मिनेट शुन्य दशमलव ८२ सेकेन्ड समय खर्चिएकी थिइन् भने टिसाले १ मिनेट शुन्य तीन दशमलव सेकेन्डमा सो दूरी तय गरिन् ।
५ भदौमा नेपालका शिरीष गुरुङले पुरुष ५० मिटर फ्रि स्टायलमा सहभागिता जनाउने छन् ।
तेक्वान्दो
तेक्वान्दोको गेरोगीतर्फ पुरुष ५८ केजीमुनि नेपालका सागर गुभाजु क्वाटरफाइनलमा पराजित भएका छन् । सागर भियतनामका खेलाडीसँग २५–५ अङ्कले पराजित भएको थियो ।
त्यसअघि अन्तिम १६ को खेलमा सागरले भुटानका दोर्जी तेन्जिङलाई ५४–४० ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए ।
त्यसैगरी महिला ५३ केजीमुनि नेपालकी निमा गुरुङ लेबनानकी खेलाडीसँग २३–१० तथा ६७ केजीमुनि नेपालकी सङ्गीता नेपाली बस्याल फिलिपिन्सकी खेलाडीसँग २०–१७ ले पराजित भइन् ।
५ भदौमा महिला ६७ केजीमुनि निशा रावल र ५७ केजीमुनि ज्ञानी चुनारा तथा पुरुष ८० केजीममाथि अनोज पुजारीले प्रतिस्पर्धा गर्ने राखेपले जनाएको छ । - रासस