जन्म दर्ता, विवाह दर्ता जस्ता धेरै सिफारिस निशुल्कः हेटौंडा नगरपालिका
स्थानीय सरकारबाट गरिने विभिन्न सिफारिसमा चर्को कर असुली भइरहेको गुनासो आइरहेका बेला हेटौंडा उपमहानगरपालिकाले भने त्यस्ता धेरै सिफारिसहरु निशुल्क गरिरहेको जनाएको छ ।
उपमहानगरपालिकाका सबै वडाबाट हुँदै आएको जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, बसाइसराइ, स्वास्थ्य सम्बन्धी, शिक्षा सम्बन्धी, भूकम्प सम्बन्धी, दैवी प्रकोपको, सम्वन्ध विच्छेद, नागरिकता सिफारिस, मृतकसँग नाता प्रमाणित, जेष्ठ नागरिक, दलित, जनजाति, पिछडिएका वर्ग, आदिवासी, अपाङग, मधेशी, एकल महिला पहिचान जस्ता सिफासिहरु निशुल्क रुपमा गरिदै आएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिए ।
यी सबै सिफारिसहरु तोकिएको समय सिमाभित्र निशुल्क गरिने र त्यसपछि न्यूनतम जरिवाना लिइने महतले जानकारी दिए ।
सबैका लागि आवश्यक र सानातिना सिफारिसबाट कर पनि धेरै नउठ्ने र सेवाग्राहीलाई भने त्यो छुटले ठूलो आड दिने भएकाले निशुल्क गरिएको उनको भनाई छ ।
यस्ता सिफारिसहरुमा केही वडाले फाराम वापत रु १० लिंदै आएको भए पनि अब त्यो पनि नलिने महतले बताए ।
यसैगरी भुकम्प पीडीतहरुको घर निर्माणको नक्सापासमा ५० प्रतिशत छुट गरिएको छ ।
यी सबैखालका सेवाहरु वडास्तरबाटनै निशुल्क रुपमा दिइएको हेटौंडा १ का वडाअध्यक्ष सबिन न्यौपानेले बताए ।
-हरि हुमागाईँ