पाकिस्तानका नवनियुक्त प्रधानमन्त्रीद्वारा २१ सदस्यीय मन्त्रिमण्डलको घोषणा
पाकिस्तानका नयाँ प्रधानमन्त्री इमरान खानले आइतबार २१ सदस्यीय मन्त्रिमण्डलको घोषणा गरेका छन् ।
प्रधानमन्त्रीको सपथ लिएको भोलिपल्ट खानले मन्त्रिमण्डलको घोषणा गरेका हुन् । घोषणा गरिएका २१ जनामध्ये १६ जना मन्त्री हुन् भने अन्य पाँच जनाले प्रधानमन्त्रीका सल्लाहकारको भूमिकामा काम गर्नेछन् ।
पूर्व क्रिकेटर र पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) पार्टीका प्रमुख ६५ वर्षीय खानले हिजो पाकिस्तानका २२औं प्रधानमन्त्रीका रुपमा पद र गोपनीयताको सपथ लिएका थिए ।
पीटीआईका प्रवक्ता फवाद चौधरीका अनुसार, मन्त्रीहरुले सोमबार राष्ट्रपति भवनमा शपथ लिने सम्भावना छ । चौधरीले ट्विटरमा राखेको सूची अनुसार पार्टीका उपाध्यक्ष साह महमद कुरेसीलाई विदेश मन्त्रीको जिम्मेवारी दिइएको छ भने परवेज खट्टकलाई रक्षामन्त्री र असद उमेरलाई वित्तमन्त्री बनाइएको छ । कुरेसी पाकिस्तान पिपल्स पार्टीको सरकारमा सन् २००८ देखि २०११ मा पनि विदेश मन्त्री थिए ।
मन्त्रिमण्डलमा तीन महिला छन् । मन्त्रीको दर्जामा रहेका पाँच सल्लाहकारमा पूर्व बैंकर, व्यापारीलगायत छन् ।
एजेन्सी