प्रिमियर लिगमा आर्सनलको लगातार दोस्रो हार, चेल्सी शीर्षस्थानमा
इङलिस प्रिमियर लिगमा २६ वर्षयताकै खराब प्रदर्शन दोहोर्याउने क्रममा आर्सनल लगातार शुरुवाती दुई खेलमा पराजित भएको छ।
२ भदौ रातिको खेलमा आर्सनल लन्डन प्रतिद्धन्द्धी चेल्सीसँग ३–२ गोलले पराजित भएको हो। यसअघि सिजनको पहिलो खेलमा आर्सनल साविक विजेता म्यानचेस्टर सिटीसँग २–० गोल अन्तरले पराजित भएको थियो। प्रिमियर लिगमा शुरुवाती दुवै खेलमा आर्सनलले पराजय भोगेको २६ वर्षपछि यो पहिलो पटक हो।
चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा पेड्रोको गोलबाट चेल्सीले शुरुवातमै अग्रता लिएको थियो। २१ औं मिनेटमा अल्भारो मोराटाले काउन्टर अट्याकमा गोल गर्दै घरेलु टोलीलाई २–० को अग्रता दिलाए। तर, पहिलो हाफमै मखितारियन र इओबीले गोल गर्दै आर्सनललाई २–२ को बराबरीमा ल्याए।
दोस्रो आफमा चेल्सीले आर्सनलको पोस्टमा तीनवटा खतरनाक आक्रमण गरे पनि चेल्सीबाटै आर्सनल पुगेका गोलरक्षक पिटर चेकले त्यसलाई विफल पारे। विलियनको स्थानमा एडिन हजार्ड मैदान प्रवेश गरेपछि चेल्सी थप आक्रामक बन्यो। हजार्डकै पासमा मार्कोस अलोन्सोले ८१ औं मिनेटमा निर्णायक गोल गर्दै चेल्सीलाई ३–२ को जित दिलाए।
चेल्सीका लागि अलोन्सोकै क्रसमा पेड्रोले पहिलो गोल गरेका थिए। चेल्सीले पहिलो खेलमा हडर्सफिल्ड टाउनलाई ३–० ले पराजित गरेको थियो। यो जितसँगै चेल्सी २ खेलबाट ६ अंक जोड्दै प्रिमियर लिग टेबलको शीर्षस्थानमा उक्लिएको छ। समान ६ अंक भएको टोटनहम दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको लिभरपुल पाँचौं स्थानमा छ।