दस्तावेजशनिवार, भाद्र २, २०७५

जंगबहादुरको द्वैधनीति

ज्ञानमणि नेपाल

सुगौली सन्धिबाट परेको चोटमा मलमपट्टी लगाउन र राजा–प्रजालाई प्रशन्न पार्न सकिने देखेर जंगबहादुरले भोटसँग युद्ध–उद्योग गरेका थिए ।

जंगबहादुर राणा ।

१९०३ सालको कोतपर्वमा सम्पूर्ण पुराना गोरखाली भाइ–भारदारलाई समाप्त पारी नेपालको शक्ति हत्याएर सर्वेसर्वा भएका जंगबहादुरले जनप्रिय र सत्तामा स्थिर बन्न तत्काल केही नगरी नहुने ठहर्‍याए ।

पहिले सारा भारदारलाई आफूले जस्तै समाप्त पारेर राज्यसत्ता एकलौटी पारेका जंगको मनमा आफ्ना मावली बा भीमसेन थापा किन राजा–प्रजामा अलोकप्रिय भएर बीभत्स मरण मर्नुपर्‍यो भन्ने कुरा खेल्न थाल्यो ।

उनले गरेका के–के काम अलोकप्रिय भए, तिनलाई केलाएर सच्याउन सकें भने निश्चयै लोकप्रिय बन्नेछु र आर्जेको राज्य सत्ता चिरस्थायी बन्ला, आफू पनि लोकप्रिय हौंला भनेर ती कुरामा ध्यान दिए । 

पहिले भीमसेन थापालाई बासठ्ठीहरणले भरमुलुक अलोकप्रिय बनाएको थियो । सं. १८६२ मा जोगी राजा रणबहादुरसँग मिलेर ढुकुटी भर्न यिनले गुठी, बिर्ता, छाप, खर्क र केही किपट हरण गरे ।

यसले प्रायः सबै जनता रुष्ट भएर सरकारलाई सरापिरहेका थिए । जंगबहादुरले राज्यसत्तामा आएपछि सबभन्दा जनप्रिय हुने कुरा यही हो भन्ने ठानेर ‘बासठ्ठीहरणमा परेका जग्गाजमीनको सट्टा–भर्ना पाउँछौ, हरिए जति जग्गाजमीन पहाड, मधेशका बाँझा, पर्ती, रैकर खोजेर लेऊ, त्यसलाई विराउने खर्च समेत पाउँछौ’ भन्ने लालमोहर श्री ५ बाट गराइदिए ।

यस लालमोहरले बासठ्ठीहरणका पीडितहरूमा आशाको सञ्चार गरायो । समस्याको समुचित समाधान चाहिं भएन । आफूले सयौं वर्षदेखि रस्ती चलाई, बस्ती बसाई, आवादी गरी, खाई, भोगी आएको थातथलो चटक्कै छोडेर टाढाको बाँझाे–पर्ती गुल्जार गरी खान पहाड, तराई, भावर हुँदो जान कोही सकेनन् ।

यसरी यो समस्या नसुल्झिदा थोरै पोता रकम लिएर पुरानै जग्गाको मुखिया, जमिदार, अमाली बनाई पीडितहरूको चित्त बुझाइयो । कतिले जग्गाको मोल बापत केही निग्रह लिएर पनि चित्त बुझाए । यसरी केही वर्षमा यो समस्या सुल्झाइयो, जनताको चित्तसम्म बुझाइयो ।

गोरखाली भारदारहरू आफूलाई उच्च घरानाका ठकुरी, छेत्री मान्दथे । उनीहरू जंगबहादुरलाई अगोरखाली भनी बिहेबारी र भातभान्सामा चलाउँदैनथे । मुख्तियार हुँदै प्राइमिनिष्टर भएपछि आफ्नो वंशलाई पनि उँचो बनाउन जंगले केही गुरु–पुरोहितलाई भारतको भरतपुर पठाएर आफ्नो वंशावली महाराणाप्रतापको वंशमा जोडेर लेखाए ।

त्यसपछि अब उप्रान्त कुवर वा कवर भनेका श्रीमद्राजकुमार कुमारात्मज राणाजी हुन् भन्ने पदवी राजाबाट लेखाएर लिए । अब उनी जंगबहादुर कुवर राणाजी कहलाए । ठकुरी कन्यासँग बिहेबारी चलाएपछि उच्च घरानाका भारदार सरह भए ।

भीमसेन थापाले विदेशनीति, कूटनीति नबुझेर शक्तिशाली इष्ट इण्डिया कम्पनी सरकारसँग जुध्दा हात्तीसँग लाप्पा खेले जस्तो भएको थियो । ७० वर्ष लगाएर जोडेको नेपालको धेरै भूमि गुम्यो । यसबाट सारा नेपालीको मनमा कहिल्यै नमेटिने चोट लाग्यो । युद्धपछि अंग्रेजसँग आश्रित सन्धि गर्नुपर्‍यो । यसबाट सार्वभौम राष्ट्रको मर्यादा र प्रतिष्ठामा आँच पुग्यो ।

आखिरमा भीमसेनले अंग्रेजसँग मेलमिलाप गरेर आफ्नो सत्ता जोगाउन बेलायत जाने मन गरे । पछि आफू नगएर भतिजा माथवरसिंह थापालाई पठाए । त्यस भ्रमण दलमा जंगबहादुर पनि परेका थिए । परन्तु कलकत्तामा गभर्नर जनरलले राजकीय सम्मान नमिल्ने भो, साधारण यात्रु सरह जानुपर्ने भयो भनेपछि त्यो दल त्यहींबाट फर्केर आयो । यो चोट पनि जंगबहादुरले बिर्सेका थिएनन् ।

अब उनले राजप्रतिनिधि भएर शानमानसँग बेलायत जाने प्रबन्ध मिलाए । ठूलो दलबलका साथ १९०६ साल माघमा नेपालबाट हिंडेको राजप्रतिनिधिमण्डलले पटनाको पहिलो स्वागतमै १९ तोपको सलामी पायो । कलकत्ताबाट पनि त्यस्तै सम्मान सत्कार सलामी लिंदै १९०७ साल जेठमा जंगबहादुर बेलायत पुगे ।

भेट मुलाकात गर्ने काम त छँदै थियो, विशेष चाहिं त्यहाँको शासन व्यवस्था, सैनिक संरचना, शस्त्रागार आदि हेर्नेमा उनको रुचि थियो । विश्व हल्लाउने फ्रान्समा पनि उसको शक्ति परख गर्नेमा उनको रुचि थियो ।

त्यसरी दुई ठूला राष्ट्र भ्रमण, निरीक्षण गरेपछि जंगबहादुरले मनमा निश्चय गरे कि अब ब्रिटिशसँग लड्ने होइन, मेलमिलापबाट काम लिनुपर्छ । अंग्रेजसँग जुध्ने होइन, निहुरिने पनि होइन, मेलमिलापकै नीति लिनुपर्ने रहेछ, मावली भीमसेन थापाले लडेर गल्ती गरे, मैले पनि त्यस्तै गर्दा झन् गल्ती हुन्छ भन्ने सोच उनले बनाए ।

भीमसेनले चीनको सहायता लिई अंग्रेजसँग पुनः लड्छु भन्दा भन्दै संभव भएन, आफै बितेर गए । रणजंग पाण्डे पनि भरसक चीन, त्यो नभए रूसको सहायता र सम्पूर्ण राजा–रजौटालाई साथ लिएर ब्रिटिशलाई खेद्छु भन्दाभन्दै बिते । अब जंगबहादुरले नलड्ने, ननिहुरिने, बीचको बाटो (द्वैधनीति) लिने निश्चय गरे । त्यसबाट फाइदै भयो । भोटसँगको युद्धका लागि आवश्यक केही हातहतियार अंग्रेजबाट लिए ।

ताइपिङ्ग विद्रोहले सताइएको हुँदा चीन पनि पहिले जस्तो भोटलाई सैनिक सहायता दिने स्थितिमा थिएन । जंगबहादुरले उल्टै, ताइपिङ्ग विद्रोह दबाउन १० हजार गोरखाली सैनिक लिएर आफैं आउँछु भन्दा बादशाहले अन्यथा भन्ने वा गर्ने बाटै थिएन ।

भोटका दर्जनौं बिजाइँ–विद्युत् देखाइदिंदा ल्हासास्थित चिनियाँ प्रतिनिधि अवाक् थिए । त्यसरी दुईतिरका ठूला शक्तिलाई सन्तुलनमा ल्याएर, औसर पारेर भोटसँग युद्ध–उद्योग गर्ने जंगबहादुरको द्वैधनीति राजनीतिक चातुर्यले भरिएको थियो । त्यसबेला बादशाहको अनुरोधमा अंग्रेज शक्तिले चीन–भोटलाई सहायता दिन्छ भन्ने थिएन ।

गोरखालीहरू आफ्नो जमीन खाइदिने ब्रिटिशलाई वापवैरी ठान्थे । भोटसँग युद्धमा होमिए गोरखालीको युद्ध–तृष्णा मेटिन्छ, भोट जितेपछि यिनीहरू मात्र होइन, प्राइमिनिष्टर जंगबहादुर पनि हामीप्रति कृतार्थ हुन्छन्, हाम्रा गोरखा रेजिमेन्टका जवानहरू पनि प्रशन्न हुन्छन् भन्ने भावले त्यसबेला ब्रिटिशहरू जंगबहादुरप्रति सहानुभूति नै राख्थे ।

चतुर जंगबहादुरले यो औसर छोपेर भोट जित्न सके सुगौली सन्धिले पारेको चोटमा मलमपट्टी लगाउन र राजा–प्रजालाई प्रशन्न पार्न सकिने देखेका थिए । उनको त्यो नीतिले नेपाललाई लाभै भयो ।

प्रतिकृया दिनुहोस