सुपरमादीमा लगानी जुट्यो, तीन वर्ष भित्र उत्पादन सुरु गर्ने
कास्कीमा निर्माणाधिन सुपर मादी जलविद्युत् आयेजनामा आठ ओटा ब्यांकले ५ अर्ब ७५ करोड २५ लाख रुपैयाँ कर्जा लगानी गर्ने सम्झौता गरेका छन् ।
‘फाइनान्सीयल क्लोजर’ भनिने यस्तो सम्झौतापछि ४४ मेगावाट जडित क्षमताको उक्त आयोजना निर्माण हुने पक्का भएको छ ।
आयोजनामा ‘लिड’ ब्यांक सानिमाले रु. १ अर्ब २५ लाख, एनआईसी एसियाले रु. ८५ करोड, एनसीसी र सनराइजले ७५–७५ करोड, राष्ट्रिय बाणिज्य र कृषि विकास ब्यांकले रु. ६०–६० करोड लगानी गर्ने छन् ।प्रभु ब्यांकले रु. ५० करोड लगानी गर्ने भएको छ।
अधिकांश जलविद्युत् आयोजनाले निर्माणको क्रममा कर्जा रकम बढाउने भएकाले निर्माण सम्पन्न हुँदासम्म कुल कर्जा ६ अर्बको हाराहारीमा पुग्नसक्ने ‘लिड ब्यांक’ सानिमाका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए। ‘७५ प्रतिशत आयोजनाले फाइनान्सीयल क्लोजरमा भनिएभन्दा बढी कर्जा उपयोग गर्छन्,’ उनले भने ।
कुल रु. ७ अर्ब ५० करोडको लागत अनुमान गरिएको उक्त आयोजना ‘सुपर मादी हाइड्रोपावर कम्पनी’ले निर्माण गर्न लागेको हो । ३१ साउनमा लगानी जुटाउने सम्झौतामा हस्ताक्षर गरेपछि कम्पनीका अध्यक्ष पुष्पज्योति ढुंगानाले आगामी तीन वर्षभित्र आयोजना निर्माण कार्य सकेर उत्पादन सुरु गर्ने बताए।
पोखरादेखि २३ किलोमिटर उत्तर–पश्चिममा नामार्जुन गाउँमा यो आयोजना बन्ने छ। ३०५ मिटर उचाइबाट पानी पठाउने भएकाले यो ‘हाइ–हेड’ आयोजना पनि हो । ‘हेड’ बढी भएको नदीप्रवाह (रन अफ रिभर)मा आयोजित आयोजना आकर्षक मानिन्छ।