निरपेक्ष गरिबी अन्त्य गर्न अभियान चलाउने अर्थमन्त्री खतिवडाकाे घाेषणा
अर्थमन्त्री डा युवराज खतिवडाले तीन/चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका छन्।
लघुवित्त संघ नेपालले आज, १ भदाैमा आयोजना गरेको ‘लघुवित्त कार्यशाला गोष्ठी’को उद्घाटन गर्दै अर्थमन्त्रीले सरकारले गरिबीलाई उत्पादनसँग जोडेर निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताए।
“कर्जाको आकार बढाएर गरिबीलाई उत्पादन र सीपलाई जोड्न गइरहेका छौँ”, उनले भने, “हामी समृद्धिको यात्रामा रहेकाले निरपेक्ष गरीब अन्त्य गरेर अगाडि बढ्दैछौँ ।” उनले स्थानीय तहसँग मिलेर लघुवित्तले गरिबी हटाउन भूमिका खेल्नुपर्ने, लघुवित्त संस्थाले सदस्य सङ्ख्या धेरै बनाएर सर्वसाधारणलाई गरीबमै राख्नुभन्दा थोरैमा धेरै लगानी गरेर उनीहरुको जीवनस्तर माथि उठाउन पहल गर्नुपर्नेमा जोड दिए। उनले साना व्यवसायलाई बैकले लगानी नगर्ने भएकाले लघुवित्तले नै लगानी गरेर सहयोग गरिरहेकोसमेत बताए।
मन्त्री खतिवडाले लघुवित्तले उद्यमशीलतासँगै पूँजीमा लगानी गर्नुपर्नेमा जोड दिए। महिला सशक्तिकरणका लागि लघुवित्तले लगानी बढाए मुलुकले आर्थिक परिवर्तनको पाइला टेक्ने बताउँदै मन्त्री खतिवडाले उद्यमशीलतामा लगानी बढाउँदा लघुवित्तलाई कानूनी र प्राविधिक समस्या परे सरकारले सहयोग गर्न तयार रहेको जानकारी गराए।
अर्थमन्त्री खतिवडाले मुलुकमा ७० प्रतिशतभन्दा बढी गरीब तथा साना परिवार रहेको उल्लेख गर्दै तीनलाई माथि उकास्न लघुवित्तले लगानीलाई प्राथमिकता दिनुपर्ने बताए। आर्थिक उन्नतिलाई माथि उकास्न सरकार लागिपरेको भन्दै उनले भने, “साना तथा मझौला व्यवसायले कूल गार्हस्थ उत्पादनको ९० प्रतिशत सहयोग पुर्याएका छन्। त्यसैले ती व्यवसायमा लघुवित्तले लगानी गर्नुपर्दछ।”
उनले लघुवित्तमाथि लागेको आरोपलाई झूठो सावित गरेर जानुपर्ने भन्दै भूकम्पपछि अर्थतन्त्रमा केही धक्का लागे पनि अहिले पुनःस्थापित हुन थालेकोसमेत जानकारी गराए। कार्यक्रममा लघुवित्त सङ्घका अध्यक्ष पदमना शाक्यले गाउँघरका स्रोतसाधन र सीपलाई परिचालन गर्नेगरी ऋण प्रवाह गर्ने बताए।
– रासस