तीन वर्षभित्र १२०० मेगावाट विद्युत् थपिने, २३५६ मेगावाटका आयोजना निर्माणाधीन
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुईदेखि तीन वर्षभित्र १२०० मेगावाट थप विद्युत् उत्पादन हुने दाबी गरेका छन्। प्राधिकरणको ३३औं वार्षिकोत्सव समारोहमा बोल्दै घिसिङले माथिल्लो तामाकोशी सहितका निजी क्षेत्रका परियोजनाहरू सम्पन्न हुने क्रममा रहेकाले यो आर्थिक वर्षभित्रै ६०० मेगावाट विद्युत् प्रणालीमा थपिने बताएका छन् ।
तामाकाेशी जल विद्युत् अायाेजना ।
कार्यकारी निर्देशक घिसिङले लोडसेडिङ अन्त्यमा सफलता मिलेको भन्दै प्रणाली सञ्चालनको सुधार तथा स्तरोन्नति र चुहावट नियन्त्रणमा आफ्नो ध्यान केन्द्रित गर्ने बताए । अहिले विद्युत् प्रणालीको २०.४५ प्रतिशत चुहावट छ । यो अघिल्लो वर्ष २२.९ प्रतिशत थियो ।
कार्यकारी निर्देशक घिसिङले एकाध वर्षभित्र विद्युत् आपूर्ति ह्वात्तै बढ्ने बताए । अहिले निजी क्षेत्रको २३५६ मेगावाटका १०७ वटा आयोजना निर्माणाधीन छन् । यी आयोजनाहरूले पाँच वर्षभित्रै निर्माण सम्पन्न हुने अनुमान छ ।
त्यस्तै, निजी क्षेत्रका १६५९ मेगावाटका ७४ आयोजना निर्माणका विभिन्न चरणमा छन् । विद्युत् प्राधिकरणले ४५२८ मेगावाट विद्युत् उत्पादन गर्ने २५६ परियोजनासँग विद्युत् खरीद बिक्री सम्झौता गरिसकेको छ । प्राधिकरणका सहायक कम्पनीहरूले निर्माण गरिरहेका परियोजनाहरू पनि सकिने क्रममा छन् ।
नेपाल विद्युत् प्राधिकरणको ग्राहक संख्या हाल ३५ लाख ५० हजार पुगेको छ । देशभरिका ७० प्रतिशत जनता राष्ट्रिय प्रसारण लाइनको पहुँचमा जोडिएको घिसिङले जानकारी दिए ।