१४औं वाईवाई नेशनल एजुकेशन अवार्ड सम्पन्न
शिक्षालय मासिकले हरेक वर्ष प्रदान गर्दै आएको ‘वाईवाई नेशनल एजुकेशन अवार्ड’ को १४औं संस्करण सम्पन्न भएको छ ।
यो वर्षको नेशनल एजुकेशन अवार्ड अन्तर्गत १३ विधामा १६ वटा पुरस्कार प्रदान गरिएको छ ।
जसअन्तर्गत ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार’ शिक्षा पत्रकारद्वय रोशन क्षेत्री र विनोद घिमिरेलाई प्रदान गरिएको छ ।
‘स्कूल अफ दि इयर’ पुरस्कार सामुदायिक विद्यालयतर्फ विश्व निकेतन मावि, त्रिपुरेश्वर र संस्थागत विद्यालयतर्फ मदरल्याण्ड स्कूल पोखरालाई प्रदान गरिएको छ ।
‘उत्कृष्ट शिक्षक’को अवार्ड सुरेन्द्र घिमिरेले पाएका छन् । ‘कलेज एक्सिलेन्स अवार्ड’ गोल्डेनगेट कलेज पुरानोबानेश्वर र शिक्षामा योगदान गरेबापत प्रदान गरिने ‘कन्ट्रिब्युसन अवार्ड’ ब्रिटिस काउन्सिल नेपाललाई प्रदान गरिएको छ ।
‘डेडिकेसन अवार्ड’बाट शैक्षिक गुणस्तर मापन केन्द्रका डा. लेखनाथ पौडेल सम्मानित भएका छन् । त्यस्तै ‘गुडविल एचिभमेन्ट अवार्ड’ सेन्ट जेभियर्स स्कूल, गोदावरीले पाएको छ भने ‘क्रियटिभ अवार्ड’ नामी कलेज जोरपाटीले पाएको छ ।
‘एजुकेशन भिजन अवार्ड’ डा. भोला दाहाल र ‘प्रिन्सिपल अफ दि इयर’ अवार्ड लिटिल एन्जेल्स स्कूलका प्रिन्सिपल मुकुन्द शर्माले पाएका छन् ।
एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएबापत् प्रदान गरिने ‘वाईवाई ज्ञान उदय छात्रवृत्ति’ पुरस्कार सितलादेवी सामुदायिक विद्यालय कास्कीका अर्चना सापकोटा र पोखरिया मावि विराटनगरकी समीक्षा नेपालले पाएका छन् । दुवैले एसईईमा ४ जीपीए ल्याएका छन् ।
यसैगरी, ‘नेशनल एजुकेशन लाइभटाइम एचिभमेन्ट अवार्ड’ बुटवलका लोकनाथ उपाध्यायलाई प्रदान गरिएको छ ।