टिप्पणीबुधवार, श्रावण ३०, २०७५

सम्पदा रंगाउने झिल्के सोच

वसन्त महर्जन

ऐतिहासिक–पुरातात्विक सम्पदालाई रंगीचंगी बनाउने झिल्के सोचले इतिहास अध्ययनमा बाधा पारिरहेको छ ।

तस्वीरः रामचन्द्र सेढाईं

दैलेखबाट दुल्लु पुग्नै लाग्दा पाथरनावली आउँछ । बाटो छेवैको नावली (वापी) को नामबाट गाउँको नामकरण गरिएको छ । खस साम्राज्यकालीन नावलीको अभिलेखले त्यसको ऐतिहासिक महत्व झल्काउँछ ।

शिलालेख लगायत ऐतिहासिक सामग्रीलाई के कस्तो व्यवहार गर्नुपर्छ भन्ने व्यावहारिक ज्ञान नहुँदा हामीकहाँ धेरै अनर्थ हुने गरेको छ । पाथरनावलीमा आजभोलि यस्तै अनर्थ देखिन्छ । अभिलेखमा नीलो रंग पोतेर त्यसमा कुँदिएको अक्षरमाथि सेतो बनाएछन् । 

खस सम्राट पृथ्वी मल्लको राज्यकालमा महामात्य देव वर्माद्वारा सर्वसाधारणका लागि निर्मित पाथरनावलीको अभिलेखमा शाके १२७६ पौष वदि २ शुक्रवार (इ.सं. १३५४) उल्लेख छ । त्यति बेलाका अन्य शिलालेखहरूमा जस्तै यसमा पनि रञ्जना लिपिमा बौद्ध षडक्षरी मन्त्र ‘ॐ मणिपद्मे हुँ’ बाट शुरू गरिएको छ ।

नावलीको प्रवेशद्वारको सिरानमा रहेको यो अभिलेखको अन्य व्यहोरा संस्कृत भाषामा छ । ती बेहोराले ‘नावल्लदेवीको छोरा देव वर्माद्वारा यो नाउलो निर्माण गरिएको’ मात्र नभई ‘चैत्यपञ्चक’ पनि बनाएको बुझाउँछन् ।

बौद्ध समाजमा चैत्य निर्माण गरिनु स्वाभाविक हो तर यहाँ ‘चैत्यपञ्चक’ शब्दले ठूलो अर्थ राख्छ । संभवतः नाउलोमाथिको ठूलो ‘स्ल्याब’ मा पाँच वटा चैत्य निर्माण गरिएको थियो । तर अहिले बीचमा एउटा मात्र चैत्य देख्न पाइन्छ । चैत्य बनाउँदा चार दिशामा अक्षोभ्य (पूर्व), रत्नसंभव (दक्षिण), अमिताभ (पश्चिम), अमोघसिद्धि (उत्तर) र बीचमा वैरोचन (पाँच ध्यानी बुद्ध)को मूर्ति राख्ने चलन छ ।

तर यहाँ बाँकी चैत्यमा मूर्तिहरू राखिएको पाइएन । ‘चैत्यपञ्चक’ शब्द अन्यत्र कुनै अभिलेखमा उल्लेख भएको पाइएको छैन । त्यस्तै पाँच बुद्धको नाममा पाँच चैत्य राख्ने चलन पनि पाइँदैन । पाँचै बुद्धका नाममा अलग–अलग चैत्य बनाइएको भए बौद्ध वास्तु इतिहासमा यो विशेष उल्लेखनीय कुरा हुन आउँछ ।

सर्वसाधारणको हितमा निर्मित यस नावलीको पानी आजभोलि पनि उपयोगमा छ । कुनै बेला यो नावली माटोले पुरिएको थियो । यहाँ पहिलो पटक योगी नरहरिनाथले अभिलेख भेट्टाएका थिए । सो अभिलेख पढेपछि उनैले यहाँ बौद्ध चैत्य हुनुपर्छ भनेर माटो पन्छाउन लगाएका थिए । त्यति बेला पाइएको चैत्यलाई नै अहिले संरक्षण गरेर राखिएको छ । कला शैलीको दृष्टिले पनि यहाँको यो चैत्य अन्यत्रको चैत्यसँग तुलनायोग्य छ ।

ढुंगा, काठ, हस्तीहाड आदिका कलावस्तुलाई रंगरोगन गरेर झ्ल्किे बनाउँदा तिनको प्राचीनता त गुम्छ नै रंगको रासायनिक प्रक्रियाबाट क्षतिग्रस्त पनि हुन्छ । काठमाडौंका कतिपय कलावस्तुलाई पनि यस्तै इनामेल रंगले रंगीविरंगी बनाएको देखिन्छ जुन सम्पदा संरक्षणका दृष्टिले नकाम हो । लगाइसकेको रंग हटाएर प्राकृतिक रूपमा फर्काउन धेरै मिहिनेत र खर्च चाहिने हुन्छ ।

सबैको ध्यानाकर्षण गर्ने र सबैलाई पढाउने मनसायले पाथरनावलीको अभिलेखमा रंगले पोतेको बुझ्न्छि । रंगको रसायनले अभिलेखमा अहिले कति असर गरिसक्यो, भन्न सकिन्न । शिलालेखहरूमा कुँदिएको अक्षरले निर्माताको नाम, काम, समय (मिति) को जानकारी दिने मात्र नभई लिपि विकासको अध्ययनमा पनि सघाउ पुर्‍याउँछ ।

ती नाम, काम र मितिलाई अन्यत्र पाइएका अभिलेखका विवरणसँग तुलना गरेर अघिल्लो र पछिल्लो भनी समय निर्धारण गरिन्छ । यसरी अभिलेखहरूले इतिहासको जानकारीसँगै सभ्यताको विकासक्रम बताइरहेका हुन्छन् । पाथरनावलीको अभिलेखमाथि रंग पोतेर इतिहास अध्ययनमा बाधा पारिएको छ ।

बटुवाहरूलाई आकर्षित गर्न नावलीको अभिलेख रंगाउनेहरूले त्यो बाटो हिंड्नेमध्ये कति जनाले संस्कृत भाषा जान्दछन् भन्नेतिर कत्ति पनि ध्यान दिएनन् । संस्कृत भाषामा दक्खल राख्ने नै आए भने पनि ऐतिहासिक कुरामा सबैको चासो हुन्छ भन्ने हुँदैन । पुरातात्विक चिजबस्तुहरूलाई ‘झिल्के’ बनाउँदैमा इतिहासका अध्येताहरूको ध्यानाकर्षण हुने पनि होइन ।

बरु सर्वसाधारणको जानकारीका लागि नेपाली भाषामा अभिलेखको अनुवाद गरी वा त्यसको व्यहोरा भएको बोर्ड राखेको भए कामको अर्थ हुन्थ्यो । पुरातात्विक महत्वका ऐतिहासिक सम्पदाहरूमा क्षति पुर्‍याउने वा अन्यथा गर्नु गैरकानूनी काम हो । नावलीको दायाँतर्फ यो बेहोराको सूचना पनि राखिएको छ, तर सम्पदाको मर्म नबुझी गरिएको रंगरोगनले सारा काम नकाम बन्न पुगेकोे छ ।

प्रतिकृया दिनुहोस