कर बढाएर आर्थिक वृद्धि हुँदैनः अर्थमन्त्री
अर्थमन्त्री डा. युवराज खतिवडाले कर मात्रै बढाएर आर्थिक वृद्धि हासिल गर्न नसकिने बताएका छन् ।
आन्तरिक राजश्व विभागले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले प्रदेश र स्थानीय सरकारलाई कर वृद्धि र खर्चमा संयमित हुन आग्रह गरेका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने– “प्रदेश र स्थानीय सरकारको जथाभावी कर सङ्कलनले वित्तीय सङ्घीयतामा नकारात्मक असर पर्छ । कर मात्र बढाएर आर्थिक वृद्धि गर्न सकिँदैन ।”
वित्तीय सङ्घीयता कार्यान्वयनको शुरुआती चरणमा रहेकोले यो समयमा अनावश्यक कर वृद्धि र खर्च गर्न नहुने अर्थमन्त्रीको भनाइ थियो ।
अर्थमन्त्रीले करको दरभन्दा दायरा बढाएर लगानीको वातावरण सिर्जना गर्नेतर्फ ध्यान दिन प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका छन् । उनले भने, “करको दर हैन दायरा बढाएर अगाडि बढ्न जरुरी छ ।”