व्यक्तित्वआइतवार, श्रावण २७, २०७५

बन्द भयो एउटा खुला पाठशाला

हिमालखबर

राजन काफ्ले

स्वर्गीय मनुजबाबु मिश्रलाई नेपाली समाजले मूर्धन्य कलाकार, साहित्यकार र असल गुरुको रुपमा सम्झिरहनेछ ।

ललितकला जगतको एउटा वेगवान आँधी अचानक थामिएको छ । ८० वर्षमा पनि २५ वर्षे जोशका साथ निरन्तर कलासाधनामा तल्लीन मूर्धन्य कलाकार मनुजबाबु मिश्रले अप्रत्याशित रुपमा संसार छाडेका छन् ।

नेपाली चित्रकला जगतका यी बादशाहलाई अब हामीले यो भौतिक संसारमा पाउने छैनौं । बोली–व्यवहारमा होस् या कला वा लेखनमा, अरुले के भन्ला भन्नेसँग मतलब नराखी आफूलाई लागेको सत्य निर्धक्क अभिव्यक्त गर्थे, मिश्र ।

तीन दशकदेखिको उनको एकान्तवास फगत लहड नभएर एउटा विद्रोह थियो । त्यो एक सत्याग्रह थियो अथवा कतिपय सामाजिक विडम्बनाहरू विरुद्धको विमति थियो । घर–आँगन बाहिर ननिस्कने मिश्रको त्यो स्वेच्छिक नजरबन्दले कला सिर्जनामा झनै योगदान गरेको हामी सबैले देखेका छौं ।

कलाका तपस्वीलाई त्यो एकान्तवास महत्वपूर्ण अवसर भयो र नेपाली कला–साहित्य क्षेत्रले अनेकन् उत्कृष्ट सिर्जनाहरू पायो । कलाकार मिश्रले सिर्जनाद्वारा आफूलाई अभिव्यक्त गर्दै अरुलाई पनि प्रोत्साहन दिइरहे । चित्रकला होस् या साहित्य लेखन, उनको अभिव्यक्तिमा समाज अध्ययनको गहिराइ महसूस हुन्छ ।

मिश्रलाई प्रजातन्त्र विरोधीका रुपमा पनि बुझ्ने/बुझाउने गरिन्छ । यसमा उनका आफ्नै तर्क–अनुभवहरू थिए । उनी बेथिति र त्यसलाई मलजल गर्नेहरुलाई बिल्कुलै मन पराउँदैनथे र त्यो प्रवृत्तिलाई छाडातन्त्र भन्थे । खासमा उनी विधिसम्मत तर अलि कडा चिन्तनसहितको शासन/नेतृत्वको पक्षपाती थिए ।

त्यस्तो सम्भावना उनी राजतन्त्रमा देख्थे । गफगाफ वा छलफलमा आउने यस्ता राजनीतिक कुराहरुको आभास उनका सिर्जनाहरुमा पाइँदैन । त्यो उनको व्यक्तिगत स्वतन्त्रताको कुरा थियो, जसमा विमति राख्ने अधिकार जो कसैलाई छँदैछ ।

मनुजबाबु मिश्रको अभिव्यक्तिको मूल माध्यम चित्रकला र निबन्ध थियो । उनी सिर्जनाका सबै विधा र वादलाई उत्तिकै सम्मान र तदनुरुपको व्यवहार गर्थे । हाम्रो ललितकलामा विभिन्न वाद, विचार र माध्यम मुखरित गराउने मध्येमा पनि उनी एक थिए ।

आज अरु विधामा भन्दा ललितकलामा देखिने विविधता त्यसैको परिणाम हो । समाजको वास्तामा नपरेका पात्र र घटनाहरूलाई समेट्ने, साधारण पात्रलाई असाधारणसँग समायोजन गरेर सशक्त रुपमा कला सिर्जना गर्ने उनको तरिका थियो । त्यसैले उनलाई नेपाली कला जगतमा मौलिकता र उत्कृष्टताको पर्याय बनायो ।

मिश्रको कलामा शिल्प–सौन्दर्यलाई चेतनाले जितेको सहजै महसूस गर्न सकिन्छ । उनी ‘मान्छेहरु मेरा चित्र भित्तामा झुण्ड्याउन पनि डराउँछन्’ भन्थे । त्यो कला नबुझ्नेहरुको कुरा हो । उनका तिनै रचनाहरू सशक्त रुपमा हाम्रो समय बोल्न सक्षम छन् । तिनलाई नियाल्दा तत्कालीन समय पढ्न सकिन्छ ।

हाम्रो समाजमा अरुलाई दोषी देखाएर आफू उम्किन खोज्ने प्रवृत्ति छ । मिश्र यसमा फरक थिए । उनले कहिल्यै ‘पानीमाथिको ओभानो’ हुन खोजेनन् । आफूलाई महान् भन्ने/भनाउने लालसा उनले देखाएनन् । उनी आफूलाई कला सिर्जनामा नकारात्मक पात्रका रुपमा चित्रित गर्थे । उनी मानिसले आफूलाई चिन्नुपर्ने बताउँथे– हरेक मानिस, जसभित्र सकारात्मक र नकारात्मक दुवै पाटो हुन्छ ।

मिश्रले करीब तीनदशक त एकै थलोमा बसेर कला साधना गरे । एकान्तवास भने पनि निरन्तर अध्ययन र सिर्जनासँगै विभिन्न विधाका स्रष्टा, प्राज्ञिक व्यक्तित्व तथा शिष्यहरूसँग छलफल–बहसमा रहन्थे । आफैं जिज्ञासु स्वभावका हुँदा उनका रचनाहरु पनि परिमार्जित भएको भान हुन्छ ।

एकरङे रेखाका साना आकारका चित्र हुन् वा उज्यालो र गाढा रङ संयोजनका ठूला क्यानभास, त्यस्तो भान हुन्छ । विचारको आँधी र विमति तथा विद्रोहको चेत ती सबैका साझा विशेषता हुन् । तिनमा समसामयिक धार छ, सबैखाले मन–मस्तिष्कलाई हल्लाइदिने आवेग छ ।

उनले कतिलाई प्रत्यक्ष पढाए, कतिले उनलाई अप्रत्यक्ष÷अनौपचारिक रुपमा पढे । उनको सरल व्यक्तित्व र गहिरो विचारले सबैलाई प्रभावित पाथ्र्यो । उनी व्यक्तिबाट संस्थामा रुपान्तरित भएका थिए– एउटा खुला पाठशाला । कलाको त्यो पाठशाला अब बन्द भएको छ, जसको तत्काल क्षतिपूर्ति सम्भव देखिंदैन । आदरणीय गुरुप्रति कोटि कोटि नमन !

प्रतिकृया दिनुहोस