टिप्पणीशनिवार, श्रावण २६, २०७५

गुराँसमय तिनजुरे

हिमालखबर

कमल मादेन

भुईंमा टपक्कै टाँसिनेदेखि बडेबडे रुखसम्मको स्वरुपमा भेटिने गुराँस फूलको सौन्दर्यका कारण संसारभर लोकप्रिय छ ।

पूर्वी नेपालको तेह्रथुमस्थित लालीगुराँस नगरपालिका गुराँस पर्या–पर्यटनको प्रवेशद्वार हो । त्यहाँ तिनजुरे क्षेत्रको वन चैतदेखि जेठसम्म गुराँस (रोडोडेन्ड्रन) ले ढकमक्क हुन्छ । लालीगुराँस रातो, रातो–सेतो छिर्केमिर्के, सेतो अनि हल्का पहेंलो रङमा फुल्छ । तिनजुरे क्षेत्रका स्थानीय तिनजुरे–मिल्के–जलजले वनमा २८ प्रजातिका गुराँस पाइने बताउँछन् । कुन प्रजाति कहाँ पाइन्छ भन्ने उत्तर चाहिं दिन सक्तैनन् ।

तिनजुरे डाँडो लालीगुराँस नगरपालिकाको उत्तरी पाटो हो । यो डाँडोको उत्तर र उत्तरपश्चिम भाग संखुवासभाको धर्मदेवी नगरपालिकासँग जोडिएको छ । तिनजुरे डाँडाबाट उत्तरतर्फ गुफापोखरीसम्मलाई भू–बनावटको हिसाबले तिनजुरे क्षेत्र भन्नु उपयुक्त हुन्छ । धर्मदेवीबाट उत्तर तेह्रथुमकै मेन्छायाम धाप गाउँपालिका र पश्चिममा संखुवासभाको मादी र चैनपुर नगरपालिका लगभग एकै उँचाइ र उस्तै पारिस्थितिक प्रणाली भएका भूभाग हुन् ।

ग्रीक शब्द ‘रोडो’ र ‘डेन्ड्रन’ को संयोजनबाट ‘रोडोडेन्ड्रन’ प्रचलनमा आएको हो । ‘रोडो’ ले गुलाब जस्तो र ‘डेन्ड्रन’ ले बोट (रूख) भन्ने जनाउँछ । शुरुमा वनस्पतिविद्ले गुराँसको ठूलै रूख पाएकाले गुलाबजस्तो फूल फुल्ने ‘रोडोडेन्ड्रन’ भनेर परिभाषित गर्नु ठीकै थियो । तर; झाडी, बुट्यान र कुनै त भुईंमा टपक्कै टाँसिएको पनि हुने भएकाले गुराँसको यो परिभाषा पछि आफैं अस्पष्ट बन्यो । हिजोआज गुराँसलाई ८ उप–जातिमा वर्गीकरण गरिएको छ । यस लेखमा तिनजुरेको कुन क्षेत्रमा कुन गुराँस कहाँ पाइन्छ भन्ने उल्लेख गरिंदैछ ।

रोडोडेन्ड्रन अर्बोरियमः लालीगुराँसको वनस्पतीय नाम ‘रोडोडेन्ड्रन अर्बोरियम’ हो । तिनजुरेको जंगल लगभग यही प्रजातिले ढाकेको छ । यो प्रजाति समुद्री सतहबाट १२०० देखि ३६०० मिटर उँचाइसम्म पाइन्छ । २६००–२७०० मिटर भू–सतहको उँचाइमा यसको रूख ठूलो हुन्छ । ३५००–३६०० मिटर भू–उँचाइमा भने कतै पोथ्रा त कतै बुट्यानको रुपमा भेटिन्छ । लालीगुराँस ३४०० मिटरभन्दा उच्च भू–भागमा असार–साउनमा फुल्छ ।

रोडोडेन्ड्रन बार्बाटम्ः लालीगुराँस भन्दा गाढा रातो रङमा फुल्ने यो प्रजातिलाई पूर्वी नेपालमा चिमाल भनिन्छ । पातको काण्डमा रौं जस्ता आकृति भएकाले यो प्रजातिको नामकरण ल्याटिनमा ‘रोडोडेन्ड्रन बार्बाटम्’ भएको छ । यसको काण्ड चिल्लो, बोक्रा खुइलिएको भागमा रातो देखिन्छ । यो तिनजुरेको पाँचपोखरी र त्यसको आसपासको क्षेत्रमा समुद्री सतहबाट २७०० देखि ३७०० मिटरसम्मको भू–उँचाइमा पाइन्छ । यो प्रजाति चैतको अन्त्यदेखि वैशाखसम्म फुल्छ ।

रोडोडेन्ड्रन सिनाबारिनम्ः यो प्रजातिको गुराँस ४–५ मिटर अग्लो हुन्छ । जेठमा फुल्ने फूल रातो, पहेंलो र गुलाबी हुन्छ । यो समुद्री सतहबाट २८०० देखि ३८०० मिटर भू–उँचाइसम्म पाइन्छ । तिनजुरे पाँचपोखरी, तिनजुरे, तिनजुरे फेदी, सिद्धदेउराली, सेइबेकको जंगल लामपोखरी आदि ठाउँमा पाइने यसलाई कतैकतै चिमाल भन्ने गरेको पाइन्छ । यसको फूल विषालु हुन्छ ।

रोडोडेन्ड्रन डाहाल्हाउसीः यो प्रजातिको गुराँस खोल्मे लगायत केही प्रजातिका रूखमा उम्रिएको भेटिन्छ । यसको बोट ३–४ मिटरसम्म लामो हुन्छ । फूल हल्का पहेंलो, घिउ रङको झण्डै धोक्रे फूल जत्रै हुन्छ । यो गुराँस अक्सर २०००–२७०० मिटर उँचाइमा पाइन्छ । यो प्रजाति वसन्तपुर भन्दा दक्षिणतर्फ चित्रेको जंगल, टुटेदेउराली, रोडोडेन्ड्रन एण्ड रक गार्डेन, लसुने उत्तरतर्फको जंगल, चौकी पश्चिमको जंगलमा छ । यो गुराँसमा केवारा फूलको जस्तो सुगन्ध हुन्छ । वैशाख अन्तिम सातादेखि जेठसम्म फुल्ने यो प्रजातिलाई कतै धोक्रे गुराँस त कतै ठूलो लहरे चिमाल भनिन्छ ।

रोडोडेन्ड्रन ग्रान्डेः यो गुराँस प्रजातिको बोट १२–१५ मिटरसम्म अग्लो हुन्छ । यसलाई चिमाल वा पात्ले कोर्लिङ पनि भनिन्छ । यो प्रजाति समुद्री सतहबाट २५०० देखि ३२०० मिटर उँचाइसम्म पाइन्छ । चैत–वैशाखमा फुल्ने यो गुराँस निकै आकर्षक हुन्छ । सेतो र केही भाग हल्का प्याजीका अतिरिक्त हल्का गुलाबी रङमा फुल्ने यो प्रजातिको स्त्रीकेसर पुङ्केसरभन्दा निकै लामो हुन्छ । पुङ्केसर पलाएको नजिकैबाट गाढा प्याजी रङको मोटो धर्साहरू केही सेन्टिमिटरसम्म करीब ८ वटा जति हुन्छन् । यो प्रजाति गुफापोखरी खोरुगाशिरमा एकाध सहित सिद्ध देउरालीको पूर्व र उत्तरतर्फ पनि पाइन्छ ।

रोडोडेन्ड्रन ग्रिफिथिनियम्ः यो गुराँस प्रजाति १०–१२ मिटर अग्लो हुन्छ । वैशाख–जेठमा सेतो रङमा फुल्ने यो २५००–२६०० मिटर भू–उँचाइमा अक्सर चिस्यान र कतैकतै भिरालो ठाउँमा पनि पाइन्छ । यसलाई कम उँचाइको भू–सतहमा पाइने सेतो चिमाल भनिन्छ । यो प्रजाति तिनजुरे डाँडाको पूर्वउत्तर मोहडाको ठाडो भीर र चौकी दक्षिण पूर्व सेइबेकको भीरमा फाट्टफुट्ट देखिन्छ ।

रोडोडेन्ड्रन लेपिडोटम्ः यो पोथ्रे गुराँस हो । यसलाई भाले सुनपाते भनेर चिनिन्छ । यसको बोट एकमिटरसम्म अग्लो हुन्छ । तिनजुरे डाँडाको विशेषतः खुला तर प्रशस्त चट्टान भएको ठाउँमा असार साउनमा रातो र घिउ रङमा फुलेको देखिन्छ । २६०० देखि ४००० मिटर भन्दा उच्च भू–भागमा पनि पाइने यो प्रजातिको गुराँस साउनसम्म पनि भेटिन्छ ।

रोडोडेन्ड्रन लिन्डेयीः यो रूखमा पलाउने गुराँस प्रजाति हो । यसको बोट तीन–चार मिटरसम्म लामो हुन्छ । यसलाई सानो लहरे चिमाल पनि भन्ने गरेको पाइन्छ । फूल अक्सर दुई–तीन वटा झुण्डमा सेतो रङमा फुल्छ । वैशाख महीनामा फुल्ने यो गुराँसको फूल अत्यन्त सुगन्धित हुन्छ । विरलै मात्रामा तिनजुरे फेदी, चौकी लगायत २००० देखि ३००० मिटरसम्म भू–उँचाइमा पाइन्छ ।

रोडोडेन्ड्रन थोम्सोनीः यो प्रजाति तीन–चार मिटर अग्लो हुन्छ । यसको फूल रातो रङमा र आकार झण्डै घन्टी जस्तो हुन्छ । पातको लम्बाइ ४ देखि १० सेन्टिमिटर र चौडाइ ३ देखि ६ सेन्टिमिटरसम्म हुन्छ । वैशाख–जेठमा फुल्ने यो गुराँस समुद्री सतहबाट २५०० देखि ३८०० मिटर भू–उँचाइसम्म हुन्छ । खोरुगाशिरतिर यसको बोट फाट्टफुट्ट देखिन्छ ।

रोडोडेन्ड्रन ट्राइफ्लोरम्ः यो गुराँस प्रजाति तीन मिटरसम्म अग्लो हुन्छ । फूल हल्का पहेंलो फुल्ने भएकाले यसलाई पहेंलो चिमाल पनि भनेको पाइन्छ । जेठमा फुल्ने यो गुराँस पाँचपोखरी, तिनजुरे टुप्पो, तिनजुरे फेदी, सिद्ध देउराली, चौकी दक्षिण पूर्वको सेइबेक आदि क्षेत्रमा प्रशस्त पाइन्छ । पाँचपोखरीमा बाटो पश्चिम संखुवासभातर्फको चिस्यान भागमा पाइन्छ, तर बाटो पूर्व तेह्रथुमतिर पाइन्न ।

रोडोडेन्ड्रन भिर्गाटम्ः भिरालो जमीन र चट्टानमा उम्रने यो गुराँस प्रजातिको बोट एक मिटरसम्मको हुन्छ । यसको गाढा सेतो पुष्पपत्रमा स–साना रौंहरू हुन्छन् । पातको मुनि खरानी रङ पोतिएको हुन्छ, जसबाट धुपको सुगन्ध निस्कन्छ । यसैले यसलाई धुपी गुराँस पनि भनिन्छ । यो गुराँस प्रजाति तिनजुरे टुप्पो, सिद्धदेउराली, गुफापोखरीमा पाइन्छ । यो प्रजाति २४०० देखि ३००० मिटर भू–उँचाइसम्म वैशाख–जेठमा फुल्छ ।

प्रतिकृया दिनुहोस