संविधानबारे अन्तर्राष्ट्रिय सम्मेलन शुरु हुँदै
नेपालको संविधान बनेको तीन वर्ष पुगेको अवसरमा काठमाडौंमा संविधानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । आज, २६ साउनदेखि शुरु हुने तीनदिने सम्मेलनमा संविधानलाई सुशासन, समावेशीता र कल्याणकारी राज्य सञ्चालनमा प्रतिविम्बित गराउने प्रक्रिया र संशोधनका चुनौतिबारे छलफल हुनेछ ।
काठमाडौं विश्वविद्यालय स्कुल अफ ल र साउथ एशिया ट्रस्टको संयुक्त आयोजनामा हुन गइरहेको सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन् गर्दैछिन् ।
सम्मेलनमा संविधानका सबल र कमजोर पक्षबारे समिक्षा हुनुका साथै संघीयतालाई संस्थागत गर्ने बारे पनि विमर्श हुनेछ ।
“संविधानको पालना र यसबारेका विरोधाभास र अस्पष्टतालाई हटाउँदै अघि बढने मार्ग प्रशस्त गर्न यो सम्मेलन महत्वपूर्ण हुनेछ,” आयोजक समितिका सदस्य कनकमणि दीक्षित भन्छन ।
संविधानका जानकारहरु नयाँ संविधानको सफलताले मुलुकमा स्थिरता कायम गर्र्ने बताउँछन । यसको विफलताले संघीयता र धर्मनिरपेक्षता जस्ता मुद्दासँग सम्बन्धित अतितका घाउहरु फेरि बल्झाउने र मुलुक अराजकता तर्फ धकेलिने उनीहरुको धारणा छ ।
सम्मेलनमा नेपाल, दक्षिण एशिया र अन्य देशहरुका संविधानविद्, न्यायविद्, राजनीतिज्ञ, विश्लेषक, अर्थशास्त्री, अभियन्ता, विधिशास्त्र र संविधानवादका ज्ञाता सहभागी हुँदैछन् ।