पर्यटकको सुरक्षाका निम्ति कोरियाली दूतावासले गर्यो एमओयू
नेपालस्थित दक्षिण कोरियाली दूतावासले आफ्नो देशबाट नेपाल घुम्न आउने पर्यटकको सुरक्षालाई ध्यानमा राखेर पर्यटन व्यवसायीहरुलाई विश्वासमा लिने पहल शुरु गरेको छ । त्यसका लागि कोरियाली दूतावास र पर्यटन व्यवसायीहरुबीच सात बुँदे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
नेपालस्थित दक्षिण कोरियाली राजदूत पार्क योङ–सिक र कोरियन टूृर्स एन्ड ट्रेकिङ अपरेटर्स एसोसियसन अफ नेपालका अध्यक्ष अमरबहादुर शाहीले २४ साउनमा समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल भ्रमणमा आउने कोरियाली नागरिकको सुरक्षाका लागि मुख्य पर्यटक रुटहरुमा आपतकालीन उद्धार केन्द्र सञ्चालन गर्ने र हिमाली तथा उच्च पहाडी क्षेत्रमा कुनै दुर्घटना हुँदा उद्धारकार्यमा सहयोग गर्ने समझदारीपत्रमा उल्लेख छ ।
समझदारीपत्रमा हस्ताक्षर गर्दै राजदूत योङ–सिकले कोरियाली नागरिक आफ्नो सुरक्षामा ढुक्क भएर नेपाल भ्रमण गर्न सकून् भन्ने उद्देश्यले एमओयू गरिएको बताए ।
“सन् २०१७ मा ३४ हजार कोरियाली पर्यटक नेपाल भ्रमणमा आए, अब त्यो संख्या अझैं बढ्ने विश्वास हामीले लिएका छौं”, उनले भने, “गत बर्ष उच्च हिमाली क्षेत्रमा हाइ अल्टिच्युडका कारण ८ जना कोरियाली पर्यटकको मृत्यु भएको छ । अबका दिनमा पर्यटकका लागि नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नु अत्यावश्यक छ ।”
धेरै नेपाली बैदेशिक रोजगारका क्रममा कोरिया पुगेको उल्लेख गर्दै उनले अब त्यहाँ कार्यरत नेपालीका परिवारलाई पनि कोरिया भ्रमणको अवसर प्रदान गरिने र त्यसका लागि दुतावासले सहजीकरण गर्ने बताए ।
एसोसियसनका अध्यक्ष शाहीले पर्यटकको सुरक्षाका निम्ति गरिएको यो पहलबाट नेपाल र कोरियाबीच आर्थिक तथा सांस्कृतिक सहयोग आदानप्रदानमा पनि सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यो समझदारीपत्रबाट नेपालमा कोरियाली पर्यटक संख्या बृद्धि हुने आशा व्यक्त गरेका थिए ।