सम्पादकीयबुधवार, श्रावण २३, २०७५

नयाँ सैनिक नेतृत्वको कार्यभार

किरण नेपाल

नयाँ सेनापतिले कार्यभार सम्हालेसँगै टुँडिखेलमा सेनाले गरिरहेको अतिक्रमण रोक्ने पहल पनि शुरू गर्नैपर्छ । सडक लगायतका ठेक्कापट्टामा भइरहेको सेनाको अविराम यात्रामा विराम लगाउने भूमिका पनि उनीबाट बढी अपेक्षित छ ।

प्रधान सेनापति राजेन्द्र क्षत्रीले आउँदो २४ भदौमा अवकाश पाएसँगै बलाधिकृत रथी पूर्णचन्द्र थापाले नेपाली सेनाको कमाण्ड सम्हाल्दै छन् । १० साउनको मन्त्रिपरिषद् बैठकले २४ साउनदेखि नै लागू हुने गरी थापालाई कायममुकायम प्रधान सेनापति मुकर्रर गरिसकेको छ ।

सामान्यतः अवकाश पाउनुभन्दा एक महीना पहिले सेनाप्रमुख बिदा बस्ने प्रचलन अनुसार प्रधान सेनापति क्षत्री २४ साउनदेखि बिदामा बस्ने भएकाले थापा शुरूमा कायममुकायम र २४ भदौदेखि प्रधान सेनापतिमा नियुक्त हुनेछन् । 

नेपाल एकीकरणसँगै राज्यसँग एकाकार र विकसित हुँदै आएको सबभन्दा पुरानो संगठन हो, नेपाली सेना । नेपाल राज्यमाथिका चुनौती चिर्न र सार्वभौमसत्ता अक्षुण्ण राख्न सफलतम संस्था हो, सेना ।

मुलुकको शासनसत्तामा आधुनिक राजनीतिको प्रवेश हुनुअघि युद्धकार्य लगायतका अभ्यास मार्फत आफ्नो उँचाइ बनाएको यो संस्थाले त्यसयता संसारका विभिन्न स्थानमा शान्ति स्थापनार्थ मूलतः संयुक्त राष्ट्रसंघद्वारा निर्दिष्ट सामरिक अभ्यास मार्फत अन्तर्राष्ट्रिय सम्मान पनि पाउँदै आएको छ ।

अढाइ सय वर्ष अघिको नेपाल एकीकरण अभियानसँगै संगठित र विकसित नेपाली सेना लामो समयसम्म एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहकै सन्ततिहरूको प्रत्यक्ष नियन्त्रणमा रह्यो– १०४ वर्षको जहानियाँ राणाकाल बाहेक । शासकको संरक्षकत्वमा हुर्के पनि संस्थाको गरिमा प्रजातन्त्रको लडाईंका सवालमा बाहेक जनस्तरमा पनि उत्तिकै कायम रहनसक्यो, राष्ट्रको अस्मिता जोगाउने फौजका रूपमा ।

२०६२/६३ को जनआन्दोलनको परिणामस्वरुप मुलुकबाट राजतन्त्रको शान्तिपूर्ण विदाइ भएपछि जनताका प्रतिनिधिहरूद्वारा निर्वाचित राष्ट्रपतिको प्रत्यक्ष संरक्षणमा रहेको यो संगठन संविधानसभाबाट २०७२ सालमा प्राप्त संविधान अनुसार क्रियाशील छ ।

आफ्नो संरक्षकत्व परिवर्तनलाई सहज संवरण गरेको देशको सैन्य संगठन पछिल्लो समय भने नेतृत्वका कतिपय स्वार्थ र महत्वाकांक्षाबाट अभिशप्त बन्दै गरेको देखिन्छ । खास गरेर पछिल्लो कालखण्डका नेतृत्वमा देखिएको आर्थिक–व्यापारिक आकांक्षाले जनस्तरमा कायम यस संस्थाको सामरिक गरिमामा तीव्र क्षयीकरण भइरहेको छ ।

पछिल्ला दिनमा सार्वजनिक विमर्शमा सेनाको सामरिकता भन्दा ठेक्कापट्टा, व्यापारिक मल, मेडिकल कलेज, पेट्रोल पम्प लगायतका आर्थिक विषय आउनु त्यो क्षयीकरणका ज्वलन्त उदाहरण हुन् । मानवस्रोत, तालिम, हतियार, संगठन आदिमा विशिष्टीकरण जस्ता सेनालाई सबल बनाउने सवालले सार्वजनिक विमर्शमा मौका–महत्व नपाएको धेरै भइसक्यो ।

मुलुक र समाज यतिखेर लामो राजनीतिक संक्रमणबाट तङ्ग्रिंदै शान्ति र स्थिरताको तीव्र चाहना सहित समृद्धिको बाटो पहिल्याउन अग्रसर छ । हिंसाको अवस्थाबाट मुलुकलाई पार लगाउने शान्तिपूर्ण जनआन्दोलनको परिणामस्वरुप भएको ‘रिजिम’ परिवर्तनलाई सहजै आत्मसात् गरेर फौजलाई जनचाहनासँग एकाकार गराउने नेपाली सेनाको तात्कालीन नेतृत्वले संगठनको प्रतिष्ठा बढाएको पनि हो ।

तर, संक्रमणकालको उत्कर्षमा चर्किएको राजनीतिक शक्ति–संघर्षको आडमा सैनिक नेतृत्वमा पन्पिएको व्यापारिक स्वार्थका कारण यो संगठन यतिखेर सार्वजनिक आलोचनाको केन्द्रमा छ । सेनाद्वारा टुँडिखेल मिचियो, अस्पताल मासेर व्यापारिक मल, सेनाद्वारा मेडिकल कलेज संचालन, सेनालाई ठेक्का जस्ता समाचारहरूले सार्वजनिक बहस बढाएको छ ।

‘क’ वर्गको ठेकेदार भन्दा ठूलो रकमको ठेक्कापट्टा यतिखेर सेनाको हातमा छ । सैनिक जनसम्पर्क निर्देशनालयबाट जारी हुने प्रेस विज्ञप्तिहरूले पनि नेपाली सेना सैनिक भन्दा ‘सिभिलियन जब’ मा निर्लिप्त भएको देखाउँछ । देश, नागरिक र स्वयम् सेनाका लागि यो विडम्बना हो । यस्तो बेला पूर्णचन्द्र थापा सेनाको नेतृत्वमा आउँदैछन् ।

खोसिएको प्रजातन्त्र पुनःप्राप्तिको लडाईंले सफलता २०४६ सालमा पाएको भए पनि परिवर्तनप्रतिको जनचाहनाको उत्कर्ष त्यसको एक दशक अघि २०३६ सालमै देखिइसकेको थियो । त्यतिबेला निजी जस्तै अवस्थामा रहेको सेना र सरकार सहितका राजा शासन व्यवस्थामाथिको सवालमा जनमतसंग्रह गर्न बाध्य भएका थिए ।

अनेक तिगडम र ‘सुधार’ को सहारामा लम्ब्याइएको त्यो व्यवस्था अर्को एक दशकभन्दा बढी टिक्न सकेन । र, देशमा प्रजातन्त्रको पुनर्बहाली भयो । निरन्तर चेतना र सक्रियताबाट विकसित हुने क्रममा रहेको जनचाहनाको यो उभारलाई सैनिक संगठनभित्र ‘जेन्टल जर्साब’ भनेर चिनिने २०३६ सालका ‘अफिसर क्याडेट’ थापाले अवश्य बुझेको हुनुपर्छ ।

३८ वर्षे सैनिक सेवाका क्रममा बटुलेको अपरेशनदेखि नीतिनिर्माणसम्मको अनुभव र राष्ट्रिय–अन्तर्राष्ट्रिय जिम्मेवारीमा पाएको एक्स्पोजरको समष्टिका रूपमा थापाको मुख्य कार्यभार सेनाको गरिमा फर्काउनुमा रहेको छ ।

यसका लागि उनले अघिल्लो नेतृत्वले त्रि–चन्द्र मिलिटरी अस्पताल भत्काएर बनाइएको आधुनिक भवनलाई अस्पतालका रूपमा सुचारु गर्नुपर्नेछ । बलाधिकृत रथी थापाकै पहलमा जंगीअड्डासँगै रहेको आर्मी अफिसर्स क्लब अबउप्रान्त सैनिक तथा तिनका परिवारबाहेक अरूलाई पार्टी भेन्यूका रूपमा प्रयोग गर्न नदिने निर्णयले केही आशा जगाएको पनि छ ।

नयाँ सेनापतिले कार्यभार सम्हालेसँगै टुँडिखेलमा सेनाले गरिरहेको अतिक्रमण रोक्ने पहल पनि शुरू गर्नैपर्छ । सडक लगायतका ठेक्कापट्टामा भइरहेको सेनाको अविराम यात्रामा विराम लगाउने भूमिका पनि उनीबाट बढी अपेक्षित छ ।

प्रतिकृया दिनुहोस