इन्डोनेसियामा भूकम्प : मृतकको संख्या ९१ पुग्यो
इन्डोनेसियाको लम्बोक द्वीपमा आइतबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९१ पुगेको छ।
द्वीपको उत्तरी भेगमा बढी असर गरेको भूकम्पका कारण सयौं मानिस घाइते भएको अधिकारीहरुले जनाएका छन्। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
७ म्याग्निच्यूडको शक्तिशाली भूकम्पका कारण हजारभन्दा बढी घर तथा भवनहरु क्षतिग्रस्त भएका छन्। आइतबार बिहानको भूकम्पपछि अहिलेसम्म १३० परकम्प गइसकेको छ ।
आइतबार भूकम्प जाँदा छिमेकी द्वीप बालीमा पनि कम्पन महसुस गरिएको थियो। बालीमा छुट्टी मनाउन आएकी अमेरिकी मोडल तथा लेखक क्रिसी तेगेनले भूकम्पको झट्का १५ सेकेण्डसम्म महसुस गरेको यसपछि धेरै पटक परकम्प गएको बताइन् ।
भूकम्पपछि सुनामीको चेतावनी जारी गरिए पनि केही घण्टापछि हटाइएको थियो।
समुद्री किनार र हाइकिङ ट्रेलका कारण पर्यटकको बढी चहलपहल हुने लोम्बोक द्वीपमा गत साता पनि भूकम्प गएको थियो । त्यसबेला १६ जनाको मृत्यु भएको थियो।
लम्बोक द्वीप बालीभन्दा केही ठूलो छ । दुवै द्वीपमा ३० देखि ४० लाख मानिस बस्छन् । जहाँ हरेक वर्ष विभिन्न देशबाट लाखौं पर्यटक पुग्छन् ।