कला/साहित्यसोमवार, श्रावण २१, २०७५

पुस्तकमा दुर्गम गाउँदेखि राष्ट्रसंघको उपल्लो ओहदासम्मको यात्रा

हिमालखबर

नेपालको दुर्गम पहाडी गाउँमा जन्मेहुर्केको एउटा ठिटोले कालान्तरमा राष्ट्रसंघको उच्च ओहोदासम्म आफूलाई पुर्‍यायो । विश्वका समकालीन महत्त्वपूर्ण घटनाक्रम नियाल्नुका साथै कतिपयमा सरिक हुने मौकासमेत पायो ।

गुल्मीको एउटा गाउँबाट उठेका ती मानिसले कसरी त्यहाँसम्मको यात्रा तय गरे ? त्यस क्रममा के कस्ता चुनौती सामना गरे ? अहिले नेपाली समाजले उनीबाट के कस्ता लाभहरु लिइरहेका छन् ? यी जिज्ञासाको जवाफ दिनेगरी कुलचन्द्र गौतमको आत्मकथा ‘ग्लोबल सिटिजन फ्रम गुल्मी – माइ जर्नी फ्रम दी हिल्स अफ नेपाल टु दी हल्स अफ दी युनाइटेड नेशन्स’ प्रकाशनमा आउँदै छ ।  

पब्लिकेशन्स नेपालयले गैरआख्यान विधालाई निरन्तरता दिँदै प्रकाशन गर्न लागेको गौतमको संस्मरणात्मक पुस्तकमा संयुक्त राष्ट्रसंघको उपमहासचिव र राष्ट्रसंघीय बालकोष (युनिसेफ) को कार्यकारी उपनिर्देशकसम्मको जिम्मेवारी निर्वाह गरेका उनका भोगाइ समेटिएका छन् ।

पुस्तकको प्रस्तावनामा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शान्ति प्रक्रियामा गौतमको संलग्नताले राजनीतिमा हिंसाको पुनरावृत्तिलाई नियन्त्रण गर्न सघाउ पुर्‍याएको उल्लेख गरेकी छन् । "अवकाशका दिनमा पनि अन्तर्राष्ट्रिय प्रशासनको अनुभव सहित नागरिक समाजको अगुवाका रुपमा योगदान दिइरहने गौतमको जीवनपथ अरुका निम्ति पनि अनुकरणीय हुनसक्छ", राष्ट्रपतिले लेखेकी छन् ।

आफ्ना सहकर्मीको आत्मकथाको भूमिका लेख्दै प्रसिद्ध विकास अर्थशास्त्री सर रिचार्ड जोलीले विश्वका धनी मुलुकमा मध्यमवर्गीय सुविधासहित जन्मेकाहरुको निम्ति यो पुस्तक शिक्षाप्रद हुने अपेक्षा गरेका छन् ।

स्कुल, बिजुली र सडक कुनै सुविधा नभएको ग्रामीण भेगमा गौतमले बिताएको बाल्यकालबाट पुस्तक सुरु हुँदै समयक्रममा युनिसेफको उच्च ओहदासम्म उनको फड्को र त्यसपछिको तीन दशकसम्मका आरोह-अवरोहको रोचक वर्णन गरिएको छ ।

सोही यात्रामा नेल्सन मण्डेला, आङ सान सू की, बिल गेट्स, एडवार्ड शेभर्नात्जेदेखि थाइल्याण्डका राजा भूमिबोल अदुल्यादेज, युनिसेफका सद्भावनादूतहरु लगायतसँगका भेटघाटहरुको प्रसंग पनि उल्लेख भएका छन् । आफ्ना यिनै अनुभवका आधारमा गौतमले नेपाल, संयुक्त राष्ट्रसंघदेखि समग्र विश्व समाजकै भविष्यबारे आफ्ना धारणा समेत प्रस्तुत गरेका छन् ।

कुनै समय नेपालका प्रधानमन्त्रीका विशेष सल्लाहकार रहेर विश्व मामिला तथा शान्ति प्रक्रियाबारे अवगत गराउने दायित्व वहन गरेका गौतमले एक विशिष्ट कूटनीतिज्ञ र विकासे अभियन्ताको हैसियतले अहिले पनि थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थामा सक्रिय सहभागिता जनाइरहेका छन् । साथै, नागरिक समाजको एक अनुभवी सदस्यका रुपमा उनले मानवअधिकार, सामाजिक-आर्थिक विकास, लोकतन्त्र र सुशासनका क्षेत्रमा पनि योगदान पुर्‍याउँदै आएका छन् ।

‘एउटा गाउँले केटो कसरी राष्ट्रसंघीय संयन्त्रकै उपल्लो ओहदासम्म पुग्न सक्यो भन्ने प्रेरणादायी जानकारी गौतमको यस जीवनीबाट मिल्छ’, वरिष्ठ पत्रकार कुन्द दीक्षितले पुस्तकको अन्तिम पातोमा लेखेका छन्, ‘झट्ट हेर्दा नरम बोलीमा प्रकट भएता पनि चट्टानी मान्यताहरु र सामाजिक न्यायका निम्ति कदापी पछि नहट्ने अडानहरु नै गौतमको पहिचान हो ।’

पुस्तक यही साउन २२ गते मंगलबार सार्वजनिक हुने र सोही दिनदेखि अमेजोनको पी ओ डी (प्रिन्ट अन डिमाण्ड) र किण्डल मार्फत संसारभर उपलब्ध हुने पब्लिकेसन्स नेपालयले जनाएको छ ।

पुस्तकको मूल्य पातलो गाताको ८९५ रुपैयाँ र मोटो गाताको १३९५ रुपैयाँ राखिएको छ ।

 

प्रतिकृया दिनुहोस