बसाइँ सरी आउनेलाई पाँच लाखसम्म अनुदान
तेह्रथुमको छथर गाउँपालिकाले आफ्नो जनसंख्या बढाउन बसाइँ सरी आउनेलाई अनुदान दिने नीति लिएको छ ।
गाउँपालिकाले बसाइँ सरी आएर व्यवसाय गर्नेलाई व्यावसायिक योजनाका आधारमा रु पाँच लाखसम्म अनुदान उपलब्ध गराउने भएको हो ।
ग्रामीण क्षेत्रमा सेवा सुविधाको अभाव भन्दै सर्वसाधारणको छथरबाट बसाइँ सरेर जाने क्रमलाई रोक्न पनि गाउँपालिकाले विभिन्न कार्यक्रम बनाएको छ ।
पूर्वाधार निर्माण, आवश्यक स्रोत साधन परिचालन, खानेपानी व्यवस्थापनलगायत योजनाले बसाइँसराइ रोक्ने गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले विश्वास लिएका छन् ।
बसाइँसराइ कम गर्न गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट तत्कालका लागि रु १० लाख छुट्याएको छ ।
कार्यक्रमको प्रभावकारिता हेरेर गाउँपालिकाले बजेट थपघट गर्ने जनाएको छ ।
तत्कालीन आङ्दिम, हमरजुङ, पञ्चकन्या, फाक्चामारा, ओख्रे र सुदाप गाउँ विकास समिति मिलेर बनेको छथर गाउँपालिकाको जनसंख्या हाल १६ हजार ७५० मात्रै छ । रासस