इन्डोनेसियामा ७.० म्याग्निच्यूडको भूकम्प, ८२ को मृत्यु
इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आइतबार ७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ।
भूकम्पमा परी ८२ जनाको मृत्यु भएको छ । सयौंको संख्यामा घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् । भूकम्पबाट छिमेकी शहर बाली समेत हल्लिएको थियो।
स्थानीय अधिकारीहरुका अनुसार, भूकम्पको धक्काबाट बालीको डेनपसारसम्मका भवनहरुका साथै डिपार्टमेन्ट स्टोर र विमानस्थलको टर्मिनलमा क्षति पुगेको छ।
बालीमा मानिसहरु घरबाट चिच्याउँदै बाहिर निस्केका थिए। लोम्बोकमा सेना र अन्य उद्धारकर्ताहरुले घाइतेहरुलाई स्ट्रेचरमा राखेर सुरक्षित स्थलमा पुर्याएका थिए।
राष्ट्रिय विपद एजेन्सीका प्रवक्ता सुटोपो पुर्वोले मृत्यु हुनेको संख्या ८२ पुगेको र अन्य सयौं व्यक्ति घाइते भएको जानकारी दिएका छन्। हजारभन्दा बढी घरमा क्षति पुगेको र अधिकांश मानिसको मृत्यु भत्किएका घरले पुरिएर भएको उनले जाकारी दिए । लोम्बोक जिल्लाको उत्तरमा सबैभन्दा बढी ६५ जनाको मृत्यु भएको छ।
अमेरिकी जियोलोजिकल सर्भेका अनुसार ७.० म्याग्निच्यूडको उक्त भूकम्प आइतबार साँझ गएको र भूकम्पको केन्द्र उत्तरी लोम्बोक रहेको छ। भूकम्प जमिनको सतहबाट करिब १०.५ किलोमिटर मुनि रहेको थियो। - एजेन्सी