ड्रोन आक्रमणबाट मुश्किलले जोगिए भेनेजुएलाका राष्ट्रपति मडुरो
भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरो ड्रोन आक्रमणबाट बच्न सफल भएका छन् ।
राष्ट्रपति मडुरोले विस्फोटक ड्रोनबाट गरिएको हत्या प्रयासबाट आफू जोगिन सफल भएको बताएका छन् ।
राजधानी कराकसमा सेनाको ८१औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा राष्ट्रपतिले सम्बोधन गरिरहँदा उनलाई लक्षित गरी दुई वटा विस्फोट भएका थिए ।
राष्ट्रपति मडुरोले सम्बोधन गरेको लाइभ फुटेज हेर्दा विस्फोटको आवाजपछि उनले सम्बोधन रोकेर एक्कासी माथितिर हेरेको, आत्तिएको र सैनिकहरु भागिरहेको देखिन्छ ।
सम्बोधनका क्रममा राष्ट्रपतिकी पत्नी सिलिया फ्लोर्स पनि छेउमै उभिएकी थिइन् । विस्फोटमा परी सात सैनिक घाइते भएका छन् । आक्रमणपछि कैयौं व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।
राष्ट्रपति मडुरोले विस्फोटमा कोलम्बिया र अमेरिकाभित्रको केही तत्वको हात रहेको आरोप लगाएका छन् ।
आफ्नो हत्या गर्ने उद्देश्यले गराइएको आक्रमणको पछाडि कोलम्बियाका राष्ट्रपति जुआन म्यानुअल सान्टोस रहेकोमा कुनै शंका नरहेको उनले बताएका छन् ।
कोलम्बियाले भने सो आरोप निराधार रहेको बताएको छ । आक्रमणको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।
घटनापछि भेनेजुएलाको सुरक्षा बलले नजिकैका भवनहरुमा जाँच गरिरहेको छ ।
– एजेन्सी