‘लोकमानसिंहलाई बोकेर काँग्रेस समाप्त हुन चाहँदैन’
नेपाली काँग्रेस सांसद सुरेन्द्रकुमार चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीको पक्ष लिए आफ्नो पार्टी समाप्त हुने बताएका छन् । एक जना बदनाम व्यक्तिलाई काँध दिएर मुलुकको सबै भन्दा ठूलो पार्टीले आफैलाई हानी हुने काम नगर्ने उनको विश्वास छ ।
एकाध नेताले फरक अभिव्यक्ति दिँदैमा सिँगो काँग्रेस लोकमानसँग सति जान नसक्ने चौधरी बताउँछन् । हिमालखबरसँग कुराकानी गर्दै उनले भने, “हाम्रो पार्टी महाअभियोगको विपक्षमा जाने संभावना रत्ति भर पनि छैन ।”
निलम्बित कार्की आफ्नै गलत कामले गर्दा पदबाट हट्ने अवस्था आएको सांसद चौधरीको बुझाई छ । अख्तियार दुरुपयोग रोक्ने जिम्मेवारी बोकेका उनी आफैले अख्यितारी दुरुपयोग गर्दै हिंडेका महाअभियोग प्रस्ताव पारित गर्नुको विकल्प नभउको उनको भनाई छ । चौधरी भन्छन्, “माफियातन्त्र र भ्रष्टाचार संस्थागत गर्दै हिंडेका व्यक्तिलाई नहटाउँदा लोकतन्त्रमाथि सँधै थ्रेट हुन्छ ।”