दस्तावेजशनिवार, श्रावण १९, २०७५

भोटमाथि जंगबहादुरको निहुँ

ज्ञानमणि नेपाल

भोटसँग युद्ध गर्ने सुर कसेका जंगबहादुरले पहिलेका २० अर्घेल्याइँमा अरू नौ वटा कारण थपिदिए ।

जंगबहादुर राणा ।

अनुकूल परिस्थिति पर्नासाथ अंग्रेजसँग युद्ध गरेर गुमेका आफ्ना इलाका फिर्ता गर्ने नेपाल सरकारको भित्री अभिप्राय पहिल्यैदेखि रहिरहेको थियो । जंगबहादुरको हातमा सत्ता नपरुन्जेल यो उद्देश्य चीनको मद्दतले अंग्रेजसँग भिडेर आफ्ना पूर्व–पश्चिमका भूभाग लिनेमा दक्षिणतिर एकोहोरिएको थियो । जंगको हातमा अधिकार आएपछि पहिले सानो राज्य सुखीममै प्रभाव फैलाउने युद्ध–उद्योग भयो । त्यो सफल नभएपछि जंगबहादुरले भोटमा आफ्ना पञ्जा फैलाउने प्रयास थाले । 

बेलायत भ्रमणपछि युद्धप्रति उनको विचार झन् एकोहोरिएको थियो । युद्ध छेड्नमा तात्कालिक कारण आवश्यक थिए । ती पनि दुई देशका आपसमा हरेक कुरामा मनमुटाव बढिरहेका बेलामा नपाइने कुरै थिएन । तर युद्धका प्रमुख कारण भनी विदेशमा भएको प्रचार चीन सरकारको अर्घेल्याईंको कुरा कम्पनी सरकारको झुकाव आफूप्रति तान्नका निम्ति मात्र थियो भनेर मैले पहिल्यै लेखिसकेको छु ।

अब यहाँ नेपालले युद्धका कारण भनी भोट–चीनमा लेखिपठाएका पत्र र दुईतर्फका प्रतिनिधि बसी गरेका कचहरीका वार्तालापका आधारमा केही कुरा प्रस्तुत गर्न लागेको छु ।

पहिले सं. १८४६ र सं. १८४९ मा गरी दुईपल्ट नेपाल–भोट युद्ध भयो । दुवै युद्धमा भोटले चीन बादशाहसँग मद्दत माग्यो । पहिलेको युद्धमा भोटलाई मद्दत दिन आएका चिनियाँ सेनापतिले दुईतर्फको कुरा सुनी मिलापत्र गरी गएका थिए । त्यस अनुसार भोट नचलेकाले दोस्रो युद्ध भयो । त्यसमा चीनले भोटकै मद्दत गर्‍यो । अहिले चाहिं जंगले चीनमा ताइपिङ्ग विद्रोह दबाएर बादशाहको मद्दत गर्ने मेरो सैनिक अभियान हो भन्ने रणचातुरी देखाए ।

भोटको अर्घेल्याईं
(१) प्रतापसिंहका पालामा ढालिएका शुद्ध चाँदीका मोहर पनि चलनचल्ती गर्न भोटले मनाही गरेको गर्‍यै छ ।

(२) मधेशे, मुसलमान, सन्यासी महाजनहरू पूर्वपश्चिमका बाटाबाट ल्हासा जान दुवै सरकारले रोक्ने, नेवार महाजनको कुरा नाइकेले पुरानो रीत बमोजिम सुन्ने भन्ने सन्धिपत्रको बन्देज पनि भोटबाट पालना भएन ।

(३) केरुङ्ग जाने बेपारीसँग रीत छोडी जनही दुई माना चामल बढी लिने गरेको ।

(४) जिन्सी मालमा केरुङ्गका गाउँलेले पनि दुई कुरुवा चामल लिएको । (५) चामल च्यूराका भारीमा एक कुरुवा चामल तिर्नुपर्नेमा केरुङ्गका ढेवाले थिति नाघी एक मोहर लिने गरेको ।

(६) ढेवाले केरुङ्ग जाने महाजनका भरियासँग भारी पिच्छे दुई माना लिने गरेको ।

(७) ढेवाले महाजनका भरियासँग जनही दुई फुरु चामल पनि लिने गरेको । (८) केरुङ्गका ढेवाले केरुङ्गबाट झुंगा जाने महाजनसँग बेथितिसँग जनही कालामोहर ८ लिने गरेको ।

(९) ढाक्रेसँगको हाम्रो एकलौटी बेपार हुनुपर्छ भन्दै जबर्जस्ती गरी बजारको भाउमा १ रु.को नून ३ ।४ माना घटाई लिएको ।

(१०) ढाक्रेसँग अरू जिन्सी माल अन्न चामल च्यूरा लिंदा पनि बजारको भाउमा १ रु.मा ३ ।४ माना बढाई लिएको ।

(११) नेपाली महाजनका गुमस्ता मारुङ्गका छोरालाई मारेको । (१२) केरुङ्गका ढेवाले नेपाली बेपारी महाजन केरुङ्गबाट नेपाल आउँदा राहदानीबापत जनही कालामोहर १ लिने गरेको ।

(१३) झुंगाका ढेवाले त्यहाँबाट केरुङ्ग आउने नेपाली महाजनसँग जनही कालामोहर १० लिने गरेको ।

(१४) झुंगाका ढेवाले ल्हासाबाट अधिकार पाएको छु भनी बेपार गर्न जाने ढाक्रेसँग जनही १ मोहरको नुन लिन लाउने र बजार भाउभन्दा १ माना घटाई लिएको ।

(१५) कुतीका ढेवाले नेपाली महाजन नेपाल आउँदा जनही कालामोहर १ लिई राहदानी दिने गरेको ।

(१६) नेपालबाट ल्हासा, दिगर्चा जाने महाजनका भारी पिच्छे कालामोहर १ ल्हासामा लिनुपर्नेमा कुतीमै ढेवाले सेतामोहर ३ लिने गरेको ।

(१७) कुतीका ढेवाले नेपालबाट कुती जाने ढाक्रेसँग जनही १ फुरु चामल लिनुपर्नेमा कालामोहर १ लिएको ।

(१८) कुतीका ढेवाले ल्हासाबाट नेपाल आउने नेपाली महाजनबाट बेरीतले जनही लालमोहर १० लिएको ।

(१९) कुतीका ढेवाले नेपालबाट ल्हासा, दिगर्चा जाने महाजनसँग त्यस्तै बेथितिले कालामोहर २ लिएको ।

(२०) खासातर्फको सिमानाका कुरामा अघि सं. १८४९ मा लाएको सीमारेखा मिची भोटले नेपालको जग्गा दावी गरेको ।

भोटका यी २० अर्घेल्याईंका विषयमा जंगबहादुरको शासन अघि पनि चर्चा परिचर्चा हुने गरेका थिए । सं. १९०४ मा दस्तुर, भन्सार, जगातका तोक लागेको थियो । १९११ वैशाखसम्ममा कुतीतर्फका बेपारका विषय र खासासँग अपराधी सुपुर्दगी गर्ने सम्बन्धमा छुट्टाछुट्टै सम्झाैता पनि भइसकेका थिए ।

अहिले यी सबै अर्घेल्याईं अघि सार्नुपर्ने कारण थिएन तापनि अघिदेखि नै ज्यादती गर्ने भोटले हाम्रो सीमा मिच्ने, बेपारमा नोक्सान पार्ने, नेपालीसँग बढी दस्तुर लिने गरेको देखाउन यी कुरा उधिनिएका थिए ।

त्यस्तै, टक पनि सं. १८४९ देखि नै नेपालमा ढाल्न मनाही गरिएकोमा नेपालले बारम्बार ढाल्दै महाजनको माध्यमबाट भोट पठाउँदै आएको थियो । अहिले युद्ध गर्नुपर्ने अरू तपसिलका कारण थपिंदै आउँदा यी अर्घेल्याईंहरू पनि देखाइए–

(क) सोलुखुम्बुका हाम्रा लिङ्ते भन्ने दोकानेलाई सं. १९०८ मा सीमामा खटिएका ढेवा नेपा दोर्जेले कुटेर मारेको । नेपाली रैती जिउ धने भोटे यतातिर विद्युत् गरी भागेर भोटका मुलुक पसेर बीचबीचमा नेपाल पसी गाईबस्तु लुट्ने गर्दा सम्झैता अनुसार भोटले नेपाललाई नसुम्पेको ।

(ख) सोलुखुम्बुका भोेटेहरूले भोटतर्फ बेपार गर्न जाँदा सिकार्जुङ्गका ढेवालाई दस्तुर वापत माङ्गताल घ्यु माराङ्ग १०८, मृगका छाला १०८, सुमाति सुरा भन्ने चौंरी १ दिने गर्दथे । ढेवा खुम्बुमा आउँदा चौंरीका साँढे (याक) २ दिनुपथ्र्यो । गोरुका भारी ३७ पनि विना मजुरी बोकिदिनुपथ्र्यो । पछि ३ ।४ सय गोरुका भारी जबर्जस्ती बोकाउन लागे ।

(ग) खुम्बुमा ढेवा आउँदा १०० रु.को माल बेचिदिनपथ्र्यो । पछि १ ।२ हजारको जिन्सी माल बेचाई रु. असुल गरी लिएर जान लागे ।

(घ) खुम्बुबाट ढेवा फर्केर सिकार्जुङ्ग जाँदा ३७ गोरुका भारी विनामजुरी ३ वास माथिसम्म बोकेर पुर्‍याउनुपथ्र्यो । अघिको सो रीत छाडी ३ ।४ सय गोरुका भारी विना मजुरी बोकाउन लागे ।

(ङ) खुम्बुमा ढेवा आउँदा दुनियाँदारका चामल, च्यूरा, घ्यू आदि जिन्सी एकहट्टी गरी बेपारमा आफूखुशी किनबेच गरेको ।

(च) अघि ल्हासामा नेवार र खम्पाको व्यापार चल्दथ्यो । खम्पाहरू बिकेर बाँकी रहेको माल नेवार महाजनका कोठीमा छाडेर पनि जान्थे । यस्तै व्यापारका लेनदेनकै कुरामा रुपैयाँ तिरेन भनी खम्पाले नेवार महाजनलाई बाँधी कोर्राले साफी कुटे । यो अन्याय भयो भनी नेपाली नाइकेले भोटको अदालतमा उजुर गरे । अदालतका हाकिमले निसाफ गर्नुसट्टा नेवार पनि हाम्रा रैती होइनन् खम्पा पनि होइनन् जे गर्नुपर्छ गर भनी बेरीतको जवाफ दिए ।

(छ) नेपाली नाइकेले उजुर गर्न पठाएका महाजनलाई खम्पाहरूले हूल उठी मारे ।

(ज) महाजन मारेको इबीमा नेवारहरू पनि जाइलाग्दा नेवार र खम्पाहरूको मारामार परी दुवैतर्फका ६ जना मानिस मर्न जाँदा खम्पाका १ घरको माल पनि लुटिंदा नाइकेको अर्घेलो हो भनी निकाल्न लाए ।

(झ्) खम्पाको १ घरको माल लुटिएकोमा सो फिर्ता गरिसकिएपछि अरू दुई घरको माल पनि लुटिएको छ, सो पनि दिनुपर्छ भनी अत्तो थाप्ता मामला नमिली झगडा बढ्दा यो झ्गडा अब यहाँ मिल्दैन दोसाँधमा दुई थरी बसी छिनौंला भनी भन्दा सेठाकाजीको अनुमतिले नाइके हिंडेपछि गुम्बाका मुख्य मुख्य बाँडा १०।१२ जना नाइके बसेका ठाउँमा आई ‘मिलिसकेको कुरामा किन यसो गर्छौ हामीले भनेको मानेनौ, हाम्रा मुठीभित्रका माखा हौ कहाँ जाइजाउला’ भनी नाइकेलाई नेवार महाजनहरूलाई कसैले चिया, चम्पा (सातु) सामल, आगोपानी धरी नदिनू भनी हप्काई ठाउँ ठाउँ चौकी राखिदिए ।

प्रतिकृया दिनुहोस