कला/साहित्यशुक्रवार, श्रावण १८, २०७५

चित्रमा मनमाेहक पोखरा

युवराज श्रेष्ठ

Pokhara2

पहाडको फेँदमा समथर भू–भाग छ, बीचमा पोखरी र वरिपरि मानव बस्ती । केही घरहरूबाट धुँवा उडिरहेका छन् भने बादल लागेको आकाशमा चराहरू उडिरहेका छन्।

वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायनले आफ्नो क्यानभासमा उतारेको दृश्य हो यो । अहिले पहाडबाट बेँसी अर्थात् यस्तै समथर भू–भागमा मानिसको आवादी बढिरहेको छ र नयाँ–नयाँ शहर जन्मिरहेका छन्।

त्यही परिवेश समेटिएको उनको यो चित्र पोखरामा आजदेखि सुरु भएको तीनदिने चित्रकला प्रदर्शनीमा देख्न सकिन्छ । पोखरेली युवा सांस्कृतिक परिवारले ‘समता चित्रकला प्रदर्शनी– २०७५’ मार्फत वरिष्ठ कलाकार वात्स्यायान लगायत ३६ कलाकारको चित्रकला प्रदर्शन गरेको छ।

Pokhara3_1

प्रदर्शनीमा राखिएका अधिकांश चित्र पानी रङको माध्यमबाट कोरिएका छन् । चित्रकार झविन्द्र गुरुङको चित्रमा माछापुच्छ«े हिमालमुनि ढुङ्गाले छाएका घर छन् । घरभन्दा तल बारीमा एक महिला डोको बोकेर एक सुरमा काम गरिरहेकी छन्।

प्रदर्शनीमा राखिएका चित्रहरूमा पोखरा र आसपासका दृश्य धेरै देखिन्छ। कच्ची मोटरबाटोसहितको पहाडी गाउँ, शहरको धुँवाधुलो, गाउँको स्वच्छता, नदी, मन्दिर, फेवातालजस्ता दृश्य क्यानभासमा उतारिएका छन्।

प्रदर्शनीको उद्घाटन गर्दै वरिष्ठ कलाकार वात्स्यायनले कलाकारलाई कलाको व्याकरण कण्ठ हुनुपर्ने बताए । “कलाकारले नयाँ–नयाँ तरिकाहरू सिक्नुपर्छ” उनले भने। केही उत्कृष्ट कलाकार भए पनि समग्रमा पोखरेली चित्रकला अझै सन्तोषजनक नभएको उनको भनाइ थियो।

कलाको स्तरीयता बढाउनुपर्नेमा जोड दिँदै उनले भने, “हाम्रो स्तर कहाँ छ भन्ने मनन गर्नुपर्छ। हामी बाहिर–बाहिर अलमलिएका छौँ, तर कलाको वास्तविक यात्राभित्र छिर्न सकेका छैनौँ।”

सांस्कृतिक परिवारका अध्यक्ष दीपक समीपले पोखरा आफैंमा प्रकृतिले सिर्जना गरेको सुन्दर चित्र भएको बताए। परिवारका कला संयोजक हेमकान्ति यो प्रदर्शनी चित्रकला सिक्न चाहने कलाकारका लागि पाठशाला भएको बताइन्।

प्रतिकृया दिनुहोस