कला/साहित्यमंगलवार, श्रावण १५, २०७५

'भारत' छोडेकी प्रियंका चोपडा हलिउड फिल्ममा अनुबन्धित

हिमालखबर

अमेरिकी गायक निक जोन्ससँगको प्रेम सम्बन्धका कारण चर्चामा रहेकी बलिउड अभिनेत्री प्रियंका चोपडा केही दिनयता थप चर्चामा आइन् ।

उनले सुपरस्टार सलमान खानको फिल्म 'भारत' एकाएक छोडेपछि धेरैले आश्चर्य माने, अनेकौं अड्कलबाजी भए ।

भारतीय सञ्चार माध्यममा बताइए अनुसार प्रियंकाले प्रेमी अमेरिकी गायक निक जोन्ससँग इन्गेजमेन्ट गरेकोले फिल्म अचानक छोड्नुपर्‍यो । तर, पछिल्ला वर्षहरुमा हलिउडमा व्यस्त रहँदै आएकी उनले फेरि पनि हलिउड फिल्ममै काम गर्न 'भारत' बाट आफ्नो नाम फिर्ता लिएको खुलेको छ । हलिउडको एक्सन ड्रामा फिल्म 'काउब्वाई निन्जा भाइकिङ' मा उनी अनुबन्धित भएकी हुन् ।

युनिभर्सल पिक्चर्सले निर्माण गर्ने फिल्ममा प्रियंकाले 'गार्जियन्स अफ द ग्यालेक्सी' र 'जुरासिक वर्ल्ड' स्टार क्रिस प्राटसँग स्क्रिन शेयर गर्नेछिन् । फिल्ममा उनको भूमिकाबारे नखुलाइए पनि उनी मुख्य अभिनयमा देखिने इन्टरटेनमेन्ट विक्ली डटकमले जनाएको छ ।

प्रियंकासँग पछिल्लो समय 'इजन्ट इट रोमान्टिक' नामक एकमात्र हलिउड फिल्म थियो । अमेरिकाको टेलिभिजन सिरिज 'क्वान्टिको' मा अभिनय गरेपछि चर्चा बटुलेकी उनी पछिल्लो पटक हलिउडकै 'अ किड लाइक ज्याक' फिल्ममा देखिएकी  थिइन् ।

लामो समय बलिउड फिल्ममा नदेखिएकाले फिल्म 'भारत' लाई प्रियंकाको पुनरागमनको रुपमा हेरिएको थियो । उनले फिल्म छाडेपछि त्यो ठाउँमा सलमानको अपोजिटमा केटरिना कैफ देखिने भएकी छन् ।

पछिल्लो समय निक जोन्ससँगको प्रेम सम्बन्धका कारण प्रियंका सर्वत्र गसिपको केन्द्रमा रहँदै आएकी छन् । गत वर्ष अमेरिकाको न्यूयोर्कमा आयोजित एउटा समारोहमा भेटेका उनीहरुले यसै वर्षको जून महीनामा मुम्बईमा पारिवारिक भेटघाटपछि आफ्नो प्रेम सम्बन्धलाई औपचारिक रुपमा खुलाएका थिए।

प्रतिकृया दिनुहोस