ममा केटाकेटीपन बाँकी नै छः नेयमार
ब्राजिलियन राष्ट्रिय फूटबल टोलीका क्याप्टेन नेयमार दा सिल्भा सान्तोस जुनियरले विश्वकपका बेला आफूमाथि लागेको कृत्रिम अभिनयको आलोचनाबारे प्रतिक्रिया दिंदै भनेका छन्, 'यो मेरो बाल्यकालदेखिको स्वभाव हो ।'
रसियामा हालै सम्पन्न फिफा विश्वकप खेल्ने क्रममा अस्वाभाविक अभिनय गरेको भन्ने आलोचनाबारे प्रतिक्रिया व्यक्त गर्दै उनले एक टेलिभिजन कार्यक्रममा भनेका छन्, “नलीखुट्टामा जुत्ताले चोट लाग्दा, मेरुदण्ड ठोक्किंदा, विपक्षी खेलाडीले खुट्टामा कुल्चिँदा म जमीनमा ढल्नु स्वाभाविक हो र ढलिसकेपछि मेरो हाउभाउ दर्शकहरुलाई अस्वाभाविक या अभिनय लागेको हुनसक्छ । तर, यो मेरो बाल्यकालदेखिकै बानी हो ।”
पेरिस सेन्ट जर्मनका फरवार्ड खेलाडी नेयमारले त्यस क्रममा पोर्चुगाली भाषामा भने, “तपाईंहरू खेलका समय म अनावश्यक लडेको जस्तो लाग्यो होला । तर म वास्तवमै लडेको हो, त्यो अभिनय होइन । खेल समयमा मैले शरीरलाई सन्तुलनमा राख्न सक्नुपर्थ्यो, त्यो सकिनँ ।”
उनले थपे, “म लडेको, एउटा अभिमानी बालक लडे जस्तो होइन, तर मभित्र अझै पनि केटाकेटीपन रहेको छ र कहिलेकाहीं यसले दर्शकलाई दिग्भ्रमित पारिदिन्छ ।”
"तपाईंहरूको आलोचनाले मलाई कमजोरी सच्चाउने मौका मिल्छ भने ब्राजिलको फूटबल क्षेत्रलाई पनि सुध्रने अवसर प्राप्त हुनेछ," उनले भने ।
एएफपीलाई दिएको अन्तर्वार्तामा निराशा व्यक्त गर्दै नेयमारले भने, “ब्राजिलको विश्वकपमा अनपेक्षित हारले आफूलाई कहिलेकाहीं बल नै नहेरौं, फूटबल नै नखेलौंजस्तो लाग्ने गरेको छ ।”
रासस/एएफपी