मुहार फेर्दै वटु भद्रकाली मन्दिर
भूकम्पका कारण पूर्णरूपमा क्षतिग्रस्त वटु भद्रकाली मन्दिर पुनर्निर्माणको लागि आज शिलान्यास गरिएको छ ।
काठमाडौं महानगरापलिका वडा नम्बर २२ मा रहेको मन्दिरलाई कामपाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका हुन् ।
मन्दिर शिलान्यासका क्रममा प्रमुख शाक्यले भूकम्पका कारण कामपाभित्र क्षति पुगेका सबै सम्पदाको पुनर्निर्माणमा सबैको सहकार्य आवश्यक रहेको बताएका छन् ।
कामपाका उपप्रमुख हरिप्रभा खड्गीले सम्पदा पुनर्निर्माणमा सबैको चासो रहेको भन्दै समयतालिका बनाएर काम शुरू गर्नुपर्नेमा जोड दिइन् ।
एक वर्षभित्र निर्माणको कार्य सक्ने गरी शिलान्यास गरिएको उक्त मन्दिर निर्माणका लागि रु.१ करोड २० लाख बजेट विनियोजन गरिएको छ ।
प्रताप मल्लको पालामा निर्माण भएको वटु भद्रकाली मन्दिर २०७२ को भूकम्पले क्षतिग्रस्त भएको थियो । रासस