कला/साहित्यसोमवार, श्रावण १४, २०७५

'थ्रि इडियट्स' का 'फुङचुक'लाई म्यागासेसे पुरस्कार

हिमालखबर

चर्चित बलिउड फिल्म 'थ्रि इडियट्स' निर्माणका लागि प्रेरक पात्र बनेका सोनाम वाङचुकले एशियाको नोबेल पुरस्कार मानिने रोमन म्यागासेसे अवार्ड पाउने भएका छन् ।

१० साउनमा अवार्ड विजेता ६ जनाको नाम घोषणा गरिएकोमा ५१ वर्षीय वाङचुकसहित दुई भारतीयको नाम परेको छ । भारतको उत्तरी दुर्गम भेग लद्दाखमा वैज्ञानिक शिक्षा फैलाए वापत वाङचुकलाई यो अवार्ड दिन लागिएको हो ।

सन् २००९ मा वाङचुकको जीवनकथामा आधारित भएर बनेको फिल्म 'थ्रि इडियट्स' अत्यधिक रुचाइएको थियो, जुन चरित्रमा फुङचुक वाङ्डु बनेर आमिर खानले अभिनय गरेका थिए ।

उत्तर भारतको दूरदराजमा शिक्षाको विशिष्ट व्यवस्थित, सहयोगी र समुदायबाट सञ्चालित सुधार प्रणालीका लागि उनलाई यो अवार्डका लागि छनोट गरिएको म्यागासेसे अवार्ड फाउन्डेसनले जनाएको छ ।

वाङचुक लद्दाखमा विद्यार्थीहरुले सन् १९८८ मा स्थापना गरेको शैक्षिक र सांस्कृतिक अभियानका संस्थापक निर्देशक समेत हुन् । उनी एसइसिएमओएल क्याम्पसको डिजाइनका लागि पनि प्रख्यात छन्, जुन पूर्णरुपमा सौर्य ऊर्जाबाट चल्छ। यस्तै, उनले हिम स्तुपा प्रविधि पनि आविष्कार गरेका छन्, जसले हिउँदमा पानी भण्डारन गर्न कृत्रिम हिम पर्वत बनाउन सघाउँछ ।

अवार्ड पाउनेमा उनीसँगै अर्का भारतीय भरत वटवाणी पनि रहेका छन्। वटवाणीलाई मानसिक रूपमा पीडित असहायहरुलाई सहयोग र उपचार गराउन उनले गरेको साहस र समाजबाट उपेक्षित व्यक्तिहरुको गरिमा कायम राख्ने कार्यमा उनको समर्पणका लागि अवार्ड दिइएको जनाइएको छ । 

उनीहरुसँगै यो वर्षको म्यागासेसे विजेतामा युक चाङ (कम्बोडिया), मारिया डी लोर्ड्स मार्टिन्स क्रूज (पूर्वी टिमोर), होवर्ड डी (फिलिपिन्स) र विटी होआङ येन रोम (भियतनाम) रहेका छन् ।

अवार्ड फाउन्डेसनले अध्यक्ष कारमेनसिता एबेलाले यी विजेताहरु एसियाको आशाका नायकहरु भएको र जसले आफ्नो प्रयासबाट समाजलाई अग्रदिशामा बढाएको बताएका छन् ।

एशियाको सर्वाधिक ठूलो पुरस्कार भएकाले म्यागासेसे अवार्डलाई 'एसियाको नोबेल' पनि भनिन्छ । फिलिपिन्सका तेस्रो राष्ट्रपति रोमन म्यागासेसेको सम्झनामा अवार्ड सन् १९५७ मा स्थापना गरिएको हो । यस वर्षको अवार्ड ३१ अगस्टमा फिलिपिन्सको सांस्कृतिक केन्द्रमा आयोजना हुने समारोहमा दिइनेछ ।

एजेन्सी

प्रतिकृया दिनुहोस