टिप्पणीशनिवार, श्रावण १२, २०७५

भाले सुनपातेको विविधता

हिमालखबर

कमल मादेन

गुराँसका हजारभन्दा बढी प्रजातिमध्ये थोरै मात्र रूखको आकारमा पाइन्छन् ।

मिल्के डाँडामा फुलेको रोडोडेन्ड्रन लेपिडोटम् । तस्वीरः कमल मादेन

गएको जेठ पहिलो साता तेह्रथुमको लालीगुराँस नगरपालिका–७ तिनजुरे नजिक पाँचपोखरीमा बास बस्न पुगियो । साथमा थिए– वाइल्ड लाइफ फोटोग्राफर यात्रा राई । साँझ ७ बजेतिर वसन्तपुर टुटेदेउरालीका राजनीतिकर्मी छिरिङ लामा भोटेले फोन गरेर तिनजुरेमा गुराँस पार्क बनाउन लागेको बताउँदै त्यहाँका गुराँसका प्रजातिहरू चिनाइदिन भने ।

पोहोर यसैछेक संखुवासभाको मादी नगरपालिकाका मेयर विदुर सुब्बाले तिनजुरे उत्तरको वनमा गुराँस ट्रेकिङ रुट र रेस्टुरेन्ट बनाउन सल्लाह मागेका थिए । त्यसउप्रान्त मेयरसँग सम्पर्क नभएको सम्झँदै छिरिङलाई भोलिपल्ट बिहान आउन भनें । ‘ढिलो गर्नुभयो भने भेट नहोला’ भन्न पनि छुटाइनँ ।

होटल संचालक उमेश बुढाथोकीबाट लालीगुराँस नगरपालिकाले तिनजुरे डाँडाको पाँचपोखरीमा गुराँस पार्क बनाउन केही रकम छुट्याएको थाहा भयो । उनले नगरपालिकाले त्यो काम अगाडि बढाए स्थानीय बासिन्दाको पर्यटन उद्यम गजबले चल्ने बताउँदै गर्दा वडा नम्बर ७ का वडाध्यक्ष देवेन्द्र पौडेल र छिरिङ नौ बजेतिर ट्याक्टर चढेर होटलमै आइपुगे । पानी परिरहेको थियो । बाइक कुदाउन सक्ने अवस्था नभएकोले ट्याक्टरमा आएको उनीहरूले बताए ।

बिहान गाउँले पनि भेला भएपछि गुराँस रोप्नका लागि समिति नै गठन भयो, उमेश बुढाथोकीकै अध्यक्षतामा । समितिका पदाधिकारीहरू हामीसँग जंगल जाने भए, गुराँस चिन्न । मैले त्यही होटलको आँगनबाटै गुराँस प्रजातिहरू चिनाउन थालें । उनीहरूले आँगनको डिलमा रहेको बुट्यान गुराँस हो भनेर पत्याउन गाह्रो माने । हुन पनि, गुराँस भन्ने वित्तिकै सबैको मनमा डालैभरि फुलेको रुख नाच्न थाल्छ, पोथ्रो पनि भन्न नसुहाउने भुईंमै टाँसिएको वनस्पतिलाई कसरी गुराँस मान्नु !

बोट सानो हुनेमध्येको एक प्रजाति ‘रोडोडेन्ड्रन लेपिडोटम्’ लाई गुराँस हो भनेर बुझाउन गाउँलेलाई धेरै कुरा बताउनुपर्ने हुन्छ, जुन बताउँदै तिनजुरे, चौकी, वसन्तपुर र चित्रेको जंगल घुमेर फर्कियौं । असार दोस्रो साता उमेश बुढाथोकीले पाँचपोखरीबाट फोन गरेर भने, “मेरो आँगनको ‘रोडोडेन्ड्रन लेपिडोटम्’ ढकमक्क फुल्यो नि सर !”

मलाई उनको उच्चारण सुनिरहुँ जस्तो लाग्यो । एक महीना अघिसम्म लालीगुराँसलाई मात्र गुराँस मान्ने व्यक्तिले ‘रोडोडेन्ड्रन लेपिडोटम्’ फुल्यो भनेर सुनाउनु मेरा लागि सुखद अनुभूति थियो । उमेशको टोली हामीसँग दुई दिन जंगल घुम्दा गुराँसका ८–९ प्रजाति र केही उप–प्रजाति फेला परेका थिए । असार चौथो साता फेरि पाँचपोखरी पुग्दा उनीहरूले गुराँसका बोट नै उखेलेर रोपिसकेका थिए ।

उमेश र उनका भाइ रमेशसँग फेरि एक दिन पाँचपोखरी पश्चिम र अर्को दिन तिनजुरे डाँडातर्फ जाँदा ‘रोडोडेन्ड्रन लेपिडोटम्’ प्रशस्त फुलेको भेटियो । पाँचपोखरी पश्चिम ढुसे डाँडोमा अन्यत्र कतै नदेखिएको रङमा ‘रोडोडेन्ड्रन लेपिडोटम्’ फुलेको भेटियो ।

तिनजुरे ढुसे देउरालीमा फुलेको रोडोडेन्ड्रन लेपिडोटम् ।

यसको फूल घ्यू रङमा पछिल्तिरको पुष्प पत्रमा बाक्लो प्याजी रङका बुट्टा छपक्कै थिए । फूलको आकार पनि झण्डै डेढ गुणा ठूलो थियो । बाक्लै प्याजी रङका बुट्टाहरू यसअघि मैले फेला पारेको थिइनँ । ‘रोडोडेन्ड्रन लेपिडोटम्’ अक्सर रातो रंगमा फुलेको भेटिन्छ ।

केही पुस्तकमा ‘रोडोडेन्ड्रन लेपिडोटम्’ को नेपाली नाम ‘भाले सुनपाते’ भन्ने लेखिएको छ । डेनिस वनस्पतिविद् नाथानियल वालिचले भाले सुनपातेलाई सन् १८३६ मा ‘रोडोडेन्ड्रन लेपिडोटम्’ नामकरण गरेका हुन् । सन् १८४८ मा नेपाल आएका जोसेफ डाल्टन हूकरले त्यही प्रजातिलाई भूलवश अर्कै नाम दिएका थिए । सन् १८४९ मा प्रकाशित रोडोडेन्ड्रन्स सिक्किम–हिमालय पुस्तकमा उनले त्यसलाई ‘रोडोडेन्ड्रन सालिग्नम्’ भनेका थिए ।

केन्द्रीय वनस्पति विभागको एन्नोटेटेड चेकलिष्ट अफ द फ्लावरिङ प्लान्टस् अफ नेपाल पुस्तकमा नेपालमा भाले सुनपातेका तीन भेराइटी– ‘रोडोडेन्ड्रन लेपिडोटम् भेराइटी इलाइग्नोइड्स’, ‘रोडोडेन्ड्रन लेपिडोटम् भेराइटी लेपिडोटम्’ र ‘रोडोडेन्ड्रन लेपिडोटम् भेराइटी ओबोवाटम्’ पाइने उल्लेख छ । तर, पूर्ण विवरण नहुँदा यीमध्ये कस्तो फूल फुल्ने कुन भेराइटी हो भन्ने पत्तो पाउन कठिन हुन्छ ।

ढुसे डाँडामा भेटिएको ‘रोडोडेन्ड्रन लेपिडोटम्’ को आकृति आफैंमा अनौठो छ । यो भाले सुनपाते अन्त नदेखिएको नयाँ भेराइटी हुन सक्छ । भाले सुनपाते अक्सर जेठ अन्तिमदेखि साउनसम्म रातो रंगमा फुल्छ । ढुसे डाँडामा सुनपाते भनेर चिनिने अन्य दुई–तीन प्रजाति पनि छन् । तिनको पातको मुनि पहेंलो, हल्का खरानी रंगको रसायन हुन्छ । त्यसलाई धूपको रुपमा प्रयोग गरिन्छ ।

तिनजुरेमा गुराँसका एक दर्जन जति प्रजाति पाइन्छन् । ‘रोडोडेन्ड्रन लेपिडोटम्’ त जता हेर्‍यो उतै घना पाइन्छ । तर सही ढंगले प्रचारप्रसार गर्न सकिएको छैन । गुराँस आफैंमा पर्यटनको एक पूर्वाधार हो । यसतर्फ स्थानीय सरकार र पर्यटन बोर्डले उचित ध्यान दिन सके पर्यटन प्रवद्र्धनमा अवश्य सहयोग पुग्नेछ ।

प्रतिकृया दिनुहोस